भारतद्वारा अत्यावश्यक सामान आयातमा समेत रोक


झापा । भारतको केन्द्र सरकार र प्रदेश सरकार बीचको असहमतिको मारमा सीमावर्ती नेपाली बजार परेको छ । भारतको केन्द्र सरकारको नीतिविपरित पश्चिम बङ्गाल सरकारले भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने सबै सवारी साधनलाई गत चैत २६ गतेदेखि बन्द गरिदिएको हो । त्यसको औपचारिक जानकारी भारतको केन्द्र सरकारलाई दिइएको छैन ।
पश्चिम बङ्गाल सरकारले नेपाल मात्रै होइन बंगलादेश र भुटानका नाकाहरु पनि सिल गरेको छ । नेपालको सुतियापोखरी र पानीट्याङ्की भन्सार कार्यालयका साथै बंगलादेशतर्फको फूलबारी नाका र भुटानतर्फ जाने सबै नाका बन्द गरेको छ ।
मेची भन्सार कार्यालयमा प्रमुख ध्रुवराज विश्वकर्माले एक सातादेखि सो भन्सारबाट गाडी आउन नसकेको जानकारी दिए । ‘२६ गतेदेखि यो नाका भएर गाडी प्रवेश गर्न दिइएको छैन । त्योभन्दा अघि ग्यास बुलेट र तरकारीहरु दैनिक रुपमा आइरहेका थिए, अहिले ठप्प छ,’ विश्वकर्माले भने, ‘यो जानकारी हामीले भन्सार विभाग, भारतस्थित नेपाली दूतावास र भारत सरकारलाई समेत गराइसकेका छौँ ।’
भारतको केन्द्र सरकारले भने आहिलेसम्म यसबारे आफूलाई केही जानकारी नभएको भनेको छ । तर पश्चिम बंगाल सरकारले भन्सार सबै भन्सार कार्यालयलाई पत्र पठाएर कोरोना भाइरस महामारीको अन्त्य नभएसम्म भन्सार सिल गर्न निर्देशन दिएको आफूहरुलाई जानकारीमा आएको समेत भन्सार प्रमुख विश्वकर्माले बताए ।
भन्सारमा आएका गाडीलाई रि–रुट गर्न दबाब
२६ गते भारतीय भन्सार कार्यालयले गाडी छोडेको थियो । त्योबेला नियमित रुपमा आउने गाडीहरु आएका थिए । भन्सार सिल भएपछि अहिले ती गाडीहरु आउन छाडेका छन् । तेस्रो मुलुकबाट कोलकत्ता हुँदै आएका गाडीहरु अहिले भन्सारमा रोकिएका छन् ।
भारतीय भन्सार अधिकारीहरुले ती गाडीहरुलाई रि–रुट गरेर जान दबाब दिइरहेको छ । ‘हाम्रो नाका कोरोना नसकिएसम्म खुल्दैन, यहाँ कुरेर नबस्नुस्, रिरुट गरेर जानुस् भनेर उहाँहरुलाई भनिएको रहेछ’, विश्वकर्माले भने, ‘हामी केन्द्र सरकारको पहलको प्रतिक्षामा छौं ।’

तपाईको प्रतिक्रिया