‘लकडाउन’ले झापा सुनसान

झापा । नेपालमा फेला परिसकेको कोभिड–१९ ९कोरोना भाइरस०को सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले घरबाहिर ननिस्कन दिएको आदेशलाई झापाका नागरिकले अभूतपूर्व रुपमा पालना गरेका छन् । १५ स्थानीय तह, ९ लाख जनसङ्ख्या र सयौं बजार रहेको झापा ‘लकडाउन’ले चकमन्न भएको छ ।

‘यहाँ सबैले सरकारको आदेश पालना गरिरहेका छन्’, सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लिला चिमरिया भन्छन्–‘लकडाउन हाम्रै लागि हो, यहाँ कोही पक्ष र विपक्ष छैन ।’

फ्रान्सबाट कतार हुँदै नेपाल फर्केकी काठमाडौंकी १९ वर्षीय युवतीमा कोरोना सङ्क्रमण भएको सोमवार सार्वजनिक भए लगत्तै मङ्गलबारदेखि एक साताका लागि सरकारले देशैभर ‘लकडाउन’ घोषणा गरेको छ । सरकारी आदेशमा नागरिकलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन भनिएको छ ।

कोरोना भाइरसको त्रासका कारण इतिहासमै पहिलोपल्ट आफैले आफैलाई नजरबन्दमा राख्नुपर्ने बाध्यता आइपरेको जनाउँदै नेपाली नागरिकले सचेत बनेर सरकारी आदेशको पालना गरेर राष्ट्रिय एकता प्रस्तुत गरेको चिमरिया बताउँछन् ।

उनका अनुसार कहिल्यै बन्द नहुने ९बन्दमुक्त० बजारको रुपमा चिनिएको कनकाईको सुरुङ्गा लकडाउनको पहिलो दिन विहानैदेखि चकमन्न रहेको छ । बजारको कुनातिरका एकाध औषधि पसल र किराना पसलबाहेक पुरै बजार बन्द रहेको र सडकमा सर्वसाधारणको चहलपहल शुन्य रहको उनले जानकारी दिए ।

‘जुनसुकै राजनीतिक दलको बन्द हड्ताल अवज्ञा गर्दै बन्दमुक्त घोषणा गर्न सक्षम सुरुङ्गा आज चकमन्न हुनु भनेको कोरोनालाई परास्त गर्न नागरिकले सरकारलाई सघाइरहेका छन् भन्ने नै हो’, बन्दमुक्त सुरुङ्गाका अभियन्ता चिमरिया भन्छन्–‘आज मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको छ, जनता आफैलाई नजरबन्दमा राख्न तयार भएका छन् ।’

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले सरकारले घरबाहिर हिँडडुल नगरी सात दिनसम्म सुरक्षित बस्न दिएको आदेशलाई झापाली सचेत नागरिकले स्वागत गरेको बताए ।

‘मुख्य व्यापारिक केन्द्र विर्तामोडमा कुनै पनि नागरिक घरबाहिर निस्कनु भएको छैन, बजार पुरै बन्द छ,’ सङ्घका अध्यक्ष भट्टराई लकडाउनको पालना हुनुले कोरोना भाइरसविरुद्ध लड्न नागरिक र सरकारबीचको हातेमालो सफल भएको बताउँदै भन्छन्–‘समस्या विश्वव्यापी भइसकेको र त्यसले हाम्रै मुलुकलाई समेत अप्ठेरोमा पार्न लागेको विषम परिस्थितिलाई सबैले बुझेको देखियो ।’

विगतमा नेपालीले राजनीतिक दलहरुले आह्वान गरेको बन्द हड्तालका साथै सरकारले लगाएको सङ्कटकाल र कफ्र्यु भोगिसकेको स्मरण गराउँदै अध्यक्ष भट्टराईले विगतकोे सङ्कटभन्दा फरक र आफ्नै स्वास्थ्य सुरक्षाका लागि भएको भन्ने बुझेर आम नागरिकले यसपटकको लकडाउनलाई सफल बनाएको अनुभव सुनाए ।

भारतसँग सीमा जोडिएको नेपालकै सबैभन्दा ठूलो स्थलनाकामध्येको काँकरभिट्टामा सडक र बजारमा सर्वसाधारण हिँडडुल गरेका छैनन् । दमक, भद्रपुर, बुधवारे, गौरादह लगायतका झापाका सबै बजार क्षेत्र सुनसान भएका छन् । कोही पनि सडकमा निस्किएका छैनन् ।

नाका क्षेत्रमा भारतबाट आउजाउ गर्नेहरुको कारण विगत केही दिनदेखि तनावपूर्ण अवस्थाबाट गुज्रिदै आएको काँकरभिट्टामा लकडाउनपश्चात सन्नाटा छाएको मेची उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बिजय डालमिया बताउँछन् ।

‘काँकरभिट्टाका नागरिक राजनीतिक रुपमा समेत सचेत छन् र देशलाई अप्ठेरो परेका बेला राज्यलाई जस्तोसुकै सहयोग पुर्याउन तयार छन् भन्ने कुरा कोरोना भाइरसको त्रासका बेला फेरि एकपल्ट प्रमाणित भएको छ,’ मेची अभियानका संयोजक समेत रहेका डालमिया भन्छन्–‘यहाँका सबै मानिस आआफ्नो घरभित्रै बसेर लकडाउनलाई पूर्ण सफल बनाउन लागिपरेका छन् ।’

काँकरभिट्टा बसपार्क, सीमानाका र बजार क्षेत्र पुरै सुनसान रहेको छ । मोटरसाइकल र साइकलसमेत सडकमा नगुडेको र बजारमा किराना पसलसमेत बन्द रहेको छ ।

‘खाद्यान्नको जोहो गर्न नभ्याउनेहरुका लागि किराना पसल चाहिँ खुल्नुपर्छ, नत्र समस्या जटिल हुन्छ,’ सामाजिक अभियन्ताको रुपमा विगत महाभूकम्पका बेला राहत तथा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डालमिया भन्छन्–‘लकडाउन लामै अवधिका लागि भएको र त्यसपछि पनि लम्बिने अवस्था बन्न सक्ला । प्रशासनले अनुमति दिने हो भने लकडाउनका बेला आफ्नै गाडीमा मेडिकल टिम लिएर अप्ठेरो अवस्थामा रहेका नागरिकलाई घरमै पुगेर आपतकालीन उपचार सेवा पुर्याउन हामी तयार छौं ।’

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले लकडाउनको पहिलो अभ्यास भए तापनि सर्वसाधारणले पालना गरेको पाइएको बताउँछन् । उनले झापामा लकडाउनको उल्लङ्घन नभएको, बजार बन्द रहेको, हिँडडुल ठप्प रहेको र आवश्यक सङ्ख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको जानकारी दिए ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले लकडाउनको प्रहरीले अनुगमन गरिरहेको र झापामा सबैतिर सर्वसाधारण घरभित्रै बसेको जानकारी आएको बताए । उनले किराना पसल, पेट्रोल पम्प, दुध डेरीलगायतका अत्यावश्यक पसललाई खुल्न दिइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया