‘यसलाई खेल महोत्सवको रुपमा पनि बुझ्न सक्नु हुन्छ’

राजु कार्की राजनीतिक, समाजिक र व्यवसायिक क्षेत्रका सकृय युवाको रुपमा परिचित छन् । तत्कालिन एमालेको युवा संघका केन्द्रीय सचिव समेत रहेका उनी अहिले पूर्वकै चर्चित सामाजिक संस्था नाइट चेस क्लबका अध्यक्षको जिम्मेवारीमा छन् । फागुन २० गते आजदेखि २५ गतेसम्म काँकरभिट्टामा सम्पन्न हुन गइरहेको अन्तर्राष्ट्रिय चेस टुर्नामेण्टकै सेरोफेरोमा रहेर जन–संसद्सँग गरिएको कुराकानीः

नाइट चेस क्लबले आयोजना गर्न गैरहेको यो टुर्नामेण्टका बारेमा संक्षिप्तमा जानकारी गराईदिनुहोस न ?
– धन्यबाद, नाइट चेस क्लबको नाममै चेस भनेर जोडिएर आएको र यसको एउटा महत्वपूर्ण पक्ष भनेको चेस प्रतियोगिता पनि भएकाले हामीले यो टुर्नामेण्टलाई यस पटक पनि निरन्तरता दिने क्रममा रहेकाछौँ । यस पटक हुन गैरहेको यो टुर्नामेण्ट अन्तर्राष्टिय स्तरको हो । हामीले बितेको सन् २००४ मा पनि यसप्रकारको आयोजना गरेका थियौँ । राष्ट्रिय स्तरका टुर्नामेण्ट त हामीले प्रत्येक वर्ष आयोजना गर्दै आएको विदितनै छ तर लामो समय पश्चात फेरि सन् २०२० मा भनौँ या अहिले आएर फेरि हामी यो स्तरको टुर्नामेण्टको आयोजना गर्न लागेका छौँ ।यो अन्तर्राष्ट्रिय टुर्नामेण्ट २ सय बढी चेसका खेलाडीहरुको सहभागिता रहने छ ।
यसपटकको टुर्नामेण्टको कुनै छुट्टै महत्व पनि छ त ?
एकदमै राम्रो जिज्ञासा राखि दिनु भयो, हुनत हरेक प्रतियोगिताको आ आफ्नै प्रकारको महत्व त हुन्छ नै त्यसमा पनि यो लामो समयको अन्तरलाम हुन गइरहेको टुर्नामेण्ट भएकाले यसले आफ्नै प्रकारको महत्व त पक्कै पनि बोकेकै छ र फेरि संयोग नै भन्नु पर्छ यसले आफ्नो महत्वलाई अझ धेरै माथि उठाएको छ जस्तो मलाई लाग्छ । र, योे टुर्नामेण्टमा नेपालका अलवा भारत, भुटान, बंगालादेश लगायतका चेसका खेलाडीहरुको जमघट हुने भएकाले यो एकप्रकारको खेल महोत्सवकै रुपमा सम्पन्न हुने हाम्रो अपेक्षा रहेको छ ।
भनेपछि यो एकप्रकारको खेल महोत्सवको रुपमा तपाईहरुले लिनु भएको छ, होइन ?
एकदमै यो खेल महोत्सव हुने छ, हुनत खेल महोत्सवमा धेरैवटा खेलका विधाको सहभागिता रहन्छ होला तर यो स्वयम्मा अन्तर्राष्टिय स्तरको भएकाले पनि यसलाई महोत्सवको रुपमा बुझ्दा पनि अन्यथा होला जस्तो मलाई लाग्दैन । मलाई त लाग्छ यो खेल प्रतियोगिता पर्यटनलाई बढावा दिने कार्यक्रमको रुपमा हामीले बुझेकाछौँ ।
खेल सम्पन्न गर्नका लागि आयोजकको तयारी कस्तो छ ?
हाम्रो यो कार्यक्रम सम्पन्न गर्नका लागि बिभिन्न उपसमितिहरु गठन भएका छन् । खेलको उद्घाटन कार्यक्रम प्रदेश १ का सामाजिक बिकास मन्त्री माननिय जीवन घिमिरे ज्यूले गर्नु हुने कार्यक्रम छ । पाँच दिनसम्म संचालन हुने यो कार्यक्रम काँकरभिट्टा खानेपानीको सभाहलमा हुने छ । हाम्रो सबै ब्यबस्थापन र तयारी पुरा भएको छ र खेलको आरम्भदेखि समापन सम्म चेस खेलप्रेमी र अन्य महानुभावहरुको सहयोगको हामीले हार्दिकता पूर्वक अपेक्षा गरेका पनि छौँ ।
नाइट चेस क्लब अहिलेचै कस्ता गतिविधीमा रहेको छ ?
यो एक सामाजिक संस्था भएकाले यसका कार्यहरु पनि स्वभाविक रुपलेनै त्यसैसँग आधारित हुने भएनै । यहाँहरुलाई जानकारी नै छ नाइट चेस क्लब युवा नेतृत्वका क्षमता र ब्यक्तित्व बिकासको यात्रामा चलायमान एउटा सामाजिक संस्था हो । आफ्नो स्थापनादेखि निरन्तर युवाहरुको नेतृत्वमा रहको र सामाजिक जनचेतना र सभ्य समाज निमार्णका लागि यात्रारत आज पनि रहेको सबैका सामुनै छ । अहिले हामी युवा लक्षित सामाजिक चेतना र सामाजिक जिम्मेवारी बोध जस्ता कार्यक्रममा अलि बढि केन्द्रीत रहेका छौँ । त्यसैगरी, संस्थालाई निरन्तर रुपमा खेल सम्पन्न गर्न स्थानीय पशुपति अंग्रेजी माविका संस्थापक प्रिन्सिपल स्व. पीवी थापाको नाममा छोरी अनिता थापाले सहयोग गर्दै आउनु भएको छ । त्यसैगरी, स्थानीय मेची नेत्रालय काँकरभिट्टाले समेत आर्थिक सहयोग गर्दै आएको छ ।
अन्त्यमा केही कुरा छन् कि ?
फागुन २० गतेदेखि २५ गते सम्म पूर्वी प्रवेशद्वार काँकरभिट्टामा सम्पन्न हुन गइरहेको यो टुर्नामेण्ट लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संचार माध्यमदेखि यहाँ सम्पूर्ण नागरिक समाज र संघ–संस्थाको सहयोग अपेक्षा हामीले गरेका छौँ । बिशेष गरेर यो कार्यक्रम आयोजना गर्न र यहाँसम्म ल्याउनका लागि प्रायोजकको भूमिका निर्बाह गरिदिने प्रदेश नं १ सरकार, मेचीनगर नगरपालिका, पशुपति बोर्डिङ्ग स्कूल काँकरभिट्टा र सम्पूर्ण सहयोगी मित्रहरुमा क्लब परिवार र आयोजककोतर्फबाट धन्यबाद ज्ञापन गर्दछु ।

तपाईको प्रतिक्रिया