कोरोनाको कहर

कोभिड–१९ को उच्च जोखिममा नेपाल परिसकेको छ । इटाली, अमेरिका, बेलायत, भारत लगायतका ठुला मुलुकले सङ्क्रमणविरुद्ध डटेर सामना गरिरहेका छन् । विकसित मुलुकहरु समेत कोरोनाबाट त्रसित हुनु स्वाभाविक छ । यस्तो बेलामा नेपालले होशियारी अपनाउन कुनै कन्जुसाई गर्न हुँदैन । गत फागुनमा चीनबाट ल्याइएका विद्यार्थीहरुलाई भक्तपुर स्थित क्वारेन्टाइनमा राखिएको छ । उनिहरु कोरोना मुक्त रहेको सरकारले जानकारी गराएको छ । विदेशबाट नेपाल आउने अधिकांश नागरिकलाई क्वारेन्टाइनमा राख्न जरुरी छ । विदेशबाट आएका नेपालीलाई कोरोनाको संक्रमण हुँदैन भन्न सकिन्दैन । त्यसैले यसमा सरकारले होशियारी अपनाउन जरुरी छ । उनिहरुको निगरानी, अनुगमन र स्वास्थ्यप्रति खेलाचीँ गर्न हुँदैन ।

कोरोनाकै कारण अहिले विश्व अक्रान्त बनिरहेको अवस्था छ । विश्वनै सङ्कटकालको अवस्थामा पुगेको छ । महामारीले दिन प्रतिदिन विकराल रुप लिदैछ । विश्वकै अर्थतन्त्र चौपट हुने अवस्थामा पुग्यो । प्रायः सबै देशका सीमा नाका बन्द भएका छन् । नेपाल सरकारले पनि ढिलोचाडो आफ्ना सबै नाका बन्द गर्नुको विकल्प छैन । हवाई उडान, बस, उद्योगधन्दा, बजारहरु सबै बन्द भइसकेका छन् । आर्थिक मन्दीले देश ओरालो तिर लागिसक्यो । महामारीसँग जोगिन अब सरकारले उपयुक्त बाटो रोज्न ढिला नगरोस् । खासगरी विदेशी तथा स्वादेशबाट भित्रिने हवाई तथा स्थल नाकाहरुमा चेकजाँचलाई कडाइ गर्नुपर्छ । अस्पताल वा नाकामा प्रविधियुक्त क्वारेन्टाइनको प्रबन्धतर्फ सरकारको ध्यान जाओस् ।

स्वास्थ्य कार्यालयहरुमा आपतकालीन उपचारको आवश्यकतालाई गहिरो रुपमा विचार पुर्याइयोस् । सरकारले जुनसुकै विधि अपनाएर भएपनि कोरोना सङ्क्रमणको जोखिम रोक्न सकियो भने विश्वमा नेपालले अर्थतन्त्रमा निश्चितरुपमा कायपलट गर्नेछ । नागरिकको स्वास्थ्य उपचारको दायित्व सरकारकै हो । त्यसैले उच्च जोखिममा रहेका नागरिकको ख्याल गर्न कुनै कसर बाँकी राख्न हुन्न । नागरिकले पनि सरकारले अपनाएका हरेक योजनालाई साथ दिनुपर्छ । नागरिकले पनि यस्तो बेलामा आफ्नो स्वास्थ्यप्रति खेलाचीँ गर्न हुँदैन । महामारीको संकटका बेलामा हरेक नागरिकले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निभाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया