‘रेडियो’ समुदायको साथी

ज्ञानेन्द्र निरौला
मिति २०७६ असोज १८ गते शनिबार मेचीनगर ३ की बिद्यार्थी युनिसा ढकालले रेडियो साथीमा फोन गरिन र भनिन मेरो घरमा बिजुलीको तार आईपुगेको छैन । बत्ती बाल्न नसकेकै कारण म र बैनीले राम्ररी पढ्न पाएका छैनौं ।
२०७६ कार्तिक २ गते भद्रपुर नगरपालिका वडा नं. ९ का उद्धब अधिकारीले रेडियो साथीमा फोन गरेर २०६६ सालमा पुहाँतु जनज्योती माविमा कक्षा ६ मा पढ्ने आफ्नी छोरी लक्ष्मी अधिकारीको बिद्यालयबाट फर्कीने क्रममा दुर्घटनामा परि निधन भए पछि मृतकको नाममा बिद्यालयमा राख्ने भनिएको अक्षय कोष दश बर्ष बितिसक्दा समेत स्थापना हुन सकेन भनेर दुखेसो पोख्नु भयो ।
२०७६ पुष २६ गते मेचीनगर वडा नं. १ का नेत्र बहादुर घतानीले रेडियोमा फोन गरेर हात्ती नियन्त्रणको काम गर्दा आफुले लगाएको मकै बाली नष्ट भएको र एक बर्ष हुँदा पनि क्षतिपुर्ति अहिलेसम्म नपाएको गुनासो पोख्नु भयो ।
यी माथीका घट्ना प्रतिनिधि मुलक मात्र हुन । रेडियो साथीले बिगत १८ हप्तादेखि सञ्चालन गरेको ‘हामी नागरिक’ भन्ने आम नागरिकको गुनासो तथा प्रश्न लिने र तीनको समाधानका लागि सम्बन्धीत पक्षसंग सहजीकरण गरिदिने काम शुरु गरे पछि यस्ता सयौं प्रश्न र गुनासा तथा जिज्ञासाहरु हप्तै पिच्छे रेडियो साथीमा आम नागरिकले सुनाउन थाल्नु भएको छ । यी माथी उल्लेख भएका तीनै वटा बिषय रेडियो साथीको सहजीकरणमा समाधान भईसकेका छन । त्यस बाहेक पनि यी र यस्ता थुप्रै समस्यामा रेडियोले सहजीकरण गरिरहेको छ ।
माथीका प्रसङ्ग मैले रेडियो साथीको प्रचारको लागि मात्रै उल्लेख गरेको होईन । रेडियोले समुदायको समस्यामा कसरी सहजकर्ताको रुपमा काम गर्न सक्छ भन्ने उदाहरण मात्र प्रस्तुत गर्ने प्रयास गरेको छु ।
आज फेब्रुअरी १३ अर्थात नवौं बिश्व रेडियो दिवस । अहिले पनि आम नागरिकको सबैभन्दा सजिलो र सहज पहुँच भएको सञ्चार माध्यम भनेको स्थानीय रेडियो नै हो भन्ने कुरा तथ्याङ्गले पुष्टी गरिसकेको छ ।
पछिल्लो समय आम सञ्चार र सामाजिक सञ्चारका माध्यमहरु बिभिन्न रुपमा आइरहेका छन । तर पनि तीनीहरुको तुलनामा स्थानीय रेडियो आम नागरिकका लागि सुचना र जानकारी पाउने सबैभन्दा सजिलो माध्यम हो । तथ्याङ्गका अनुसार सामान्य परिस्थितीमा पनि ६० प्रतिशत नेपाली नागरिकले सुचना पाउने पहिलो माध्यम रेडियोलाई रोजेका छन भने प्राकृतिक बिपत्ती, निर्वाचन र प्रकोप जस्ता असामान्य बेलामा ९० प्रतिशत नेपाली नागरिकले स्थानीय रेडियोबाट सुचना लिने गरेको तथ्याङ्गले बताउँछ ।
संक्रमणकालिन समयमा केन्द्रीय मुद्धाका बिषयहरु आम नागरिकहरुको प्राथमिकतामा थिए तर २०७२ सालमा नयाँ संविधान बनेर मुलुक तीन तहको सरकारको संरचना सहितको संघिय खाकामा रुपान्तरण भए पछि फेरी आम नागरिकको चासो स्थानीय बिषयबस्तु र स्थानीय मुद्धाहरुमा केन्द्रीत भएका छन । तसर्थ स्थानीयकरणमा सबैभन्दा सजिलो र सहज पहुँच भएको आम सञ्चारमाध्यम भनेको स्थानीय रेडियोहरु नै भएकाले पनि रेडियो स्थानीय समुदायको नजिकको साथीको रुपमा स्थापित हुँदै गएका छन् ।
स्थानीय रुपमा पत्रपत्रिका, टेलिभिजन र अनलाईनका समाचारले पनि शसक्त रुपमा स्थानीय बिषयबस्तु उठान गरिरहेका छन । ती सञ्चार माध्यमको पनि आफ्नै किसिमको प्रभावकारीता छ । पत्रपत्रिकाहरु पनि रेडियोबाट बाचन गराएर तिनले उठाएका सवालका बारेमा समेत दुर दराजका नागरिकहरुलाई सुसुचित गर्ने काममा रेडियोहरुले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका छन ।
सामान्य प्रविधिमा समेत सञ्चालन गर्न सकिने र स्थानीयका दुःख, पिडा, प्रश्न र जिज्ञासा समेटिएका आवजलाई समेट्न समेत सजिलो भएकाले पनि रेडियो स्थानीय समुदायको सहज पहुँचमा छ । रेडियोमा आम नागरिकले सिधै फोन नै गरेर पनि आफ्नो समस्या सुनाउन सक्छ । रेडियोले अलिकती प्रयास मात्रै गर्दा समेत पनि स्थानीय समुदायको समस्या समाधान गर्न सक्छ । देशका सबै जिल्लामा अहिले रेडियोको पहुँच बिस्तार भइसकेको छ । नेपालका अति बिकट क्षेत्रका जनताले स्थानीय, प्रदेश र संघिय सरकारलाई आफ्नो कुरा सुनाउन आफ्नै छेउको रेडियोलाई प्रयोग गर्न सक्ने अवस्था छ ।
तीन तहका सरकार र आम नागरिकका बिचमा पुलको काम गर्न स्थानीय रेडियोहरु सबैभन्दा भरपर्दा माध्यम भएका छन । आवाज बिहिन नागरिकको आवाजलाई बुलन्द गर्न रेडियो शसक्त माध्यमको रुपमा स्थापित भइसकेको छ ।
सामान्य रुपमा हेर्दा रेडियोका स्रोता कम हुँदै गएको होकी भन्ने भान हुन्छ तर रेडियो सुन्ने तरिका फेरिएकाले हामीलाई त्यस्तो लागेको हो । अहिले ठुला ठुला रेडियो सेट राखेर रेडियो सुन्ने स्रोता भने घटेकै हुन तर अहिले हरेक मानिसको हात हातमा रेडियो छ । मानिसहरु मोबाईल मार्फत रेडियो सुनिरहेका छन । इन्टरनेटको पहुँचको बिस्तारसंगै त्यसलाई उपयोग गर्दै मोबाइल एप, अनलाईन मार्फत पनि रेडियो सुन्न सकिने भएकाले पनि मानिसहरुलाई रेडियो सुन्ने तरिकामा परिवर्तन गर्न छुट मिलेको छ । तर सुचना प्राप्त गर्न कुनै न कुनै माध्यम प्रयोग गरेर पनि मानिसले रेडियोमा आफ्नो पहुँच स्थापित गरिरहेकै छन ।
स्थानीय समुदायको कला, संस्कृति, शीप तथा युवा रोजगारीको प्रबद्र्धनका हिसाबले पनि स्थानीय रेडियोहरु शसक्त छन । अहिले पनि नेपालका रेडियोहरुले स्थानीय समुदायको भाषा, संस्कृति र शीपको संरक्षणमा महत्वपूर्ण भुमिका खेलिरहेका छन । गाउँमा जंगली हात्ती आउँदा होस या बाँदरले आतकिंत बनाउँदा स्थानीयहरुले सहयोगका लागि रेडियो गुहार्ने गरेका छन । त्यसो त बेवारिसे सामुदायिक कुकुरहरुले दुःख दिंदा समेत रेडियोमा फोन आउने गरेको उदाहरण प्रशस्तै छन ।
गरीब नागरिकलाई प्राण घातक रोग लागेर उपचार गर्न खर्च अभाव हुँदा सबैभन्दा बढी सम्झिने भनेकै स्थानीय रेडियो नै हो । यस्तो असहज परिस्थितिका बेला उपचार खर्च जुटाउन रेडियोहरुले खुला रुपमा आवहान गरिरहेका हुन्छन । रेडियोमा प्रसारण भएकै कारण उपचार खर्च जुटाएर आफ्नो उपचार गराउन सफल भएका थुप्रै स्थानीयहरु हाम्रै वरिपरि भेटिन्छन ।
वडा सरकारहरु नागरिकका घरदैलोमा पुगिरहे पनि आम नागरिक र जनप्रतिनिधि बिच सुचना मार्फत सम्बन्ध स्थापित गरि घर गाउँका देख्दा सानो लाग्ने तर आम नागरिकका लागि अत्यन्तै महत्वपूर्ण बिषयहरु रेडियो मार्फत समाधान गर्न अहिले पनि स्थानीय रेडियोहरु क्रियाशिल छन ।
रेडियोका सबै राम्रा पक्ष मात्रै छैनन । पछिल्लो समयमा संख्यात्मक रुपमा भएको रेडियोको बृद्धिको तुलनामा रेडियोको प्राविधिक पक्ष र प्रसारण सामाग्रीमा गुणात्मकतामा केही कमी आएकै छ । दक्ष जनशक्ति उत्पादन गर्न निक्कै मेहनत लाग्ने भएका कारण नयाँ पुस्तामा लामो समय आफ्नो शीपमा निखार ल्याउने धर्यता नभएकै कारण पनि एउटै मान्छे लामो समय रेडियोमा टिक्न नसकिरहेको यथार्थ पनि हाम्रा सामु छर्लङ्ग छ । तर पनि रेडियोको प्रसारणलाई शसक्त र जनउपयोगी बनाउन लाग्ने प्रसारकहरुले अहिले पनि रेडियोको प्रसारणलाई आम नागरिकमा केन्द्रीत गरेका छन । त्यसै अझै निक्कै लामो समय स्थानीय रेडियोहरु समुदायको नजिकका साथीको रुपमा आफुलाई क्रियाशिल बनाइरहने छन ।
(लेखक रेडियो साथी काँकरभिट्टाका कार्यकारी निर्देशक हुन )

तपाईको प्रतिक्रिया