मेचीनगर–फोक्सटनबीच मितेरी सम्वन्ध


मेचीनगर / संघीय सांसद राम कार्कीले दुई शहरको सम्बन्ध उचाईमा पुग्ने आशा गर्दै आपसी सहयोग जारी राख्नु पर्नैमा जोड दिएका थिए । मेचीनगर र बेलायत फोक्सटन सिटीबीच भएको भगिनी सम्बन्ध हस्ताक्षर कार्यक्रमका प्रमुख अतिथि कार्कीले भौगोलिक रुपमा समेत यी दुई नगर पहाडी भूभागसँग जोडिएका छन् ।
उनले हाम्रो शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्वन्धितलाई त्यहाँको व्यवस्थापनसँग एक अर्कामा जोडनु पर्नमा जोड दिएका थिए । दुई अलग राष्ट्रका नगरपालिकाबीचको सहकार्यले भविश्यमा अझ प्रगाढ सम्वन्ध विस्तार गर्ने धारणा राखेका थिए । लामो समयदेखिको प्रयत्न सफल भएको छ । दुई देश बीचको भगिनी सम्वन्धले स्वास्थ्य, शिक्षा संस्कृति, मानव, सम्बन्धमा समेत महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।
बेलायतको फोक्सटन सीटी र नेपालको मेचीनगर नगरपालिका बीच मितेरी सम्वन्ध स्थापित भएको छ । नेपाल र बेलायत बीच भएको २ सय वर्षे लामो इतिहास र सम्वन्धलाई थप मजवुत बनाउन र विकास निर्माणमा सहकार्य गर्ने उद्देश्यले दुई नगरपालिका बीच मितेरी सम्बन्ध स्थापित गरिएको हो ।
सोमवार मेचीनगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दुवै देशका मेयरले मितेरी सम्वन्ध पत्रमा हस्ताक्षर गरेका छन् ।
बेलायतस्थित फोक्सटन सिटीकी मेयर जेकी मेड तथा मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यको सभापतित्व रहेको कार्यक्रममा फोक्सटन सिटीकी मेयर जेकी मेडले बेलायत र नेपाल बीचको सदियौ पुरानो सम्बन्धलाई यस भगिनी सम्वन्धले थप मजबुत बनाउने र यस क्षेत्रको विकासको लागि सहकार्य गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरिन् । उनले यहाँको शिक्षा, स्वास्थ्य, सुरक्षा, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई आफुहरुले प्राथमिकतामा राखेको बताइन् । यस अघि पनि मेचीनगरको बिकासमा सहयोग र सहकार्य गर्दै आएको बताउँदै मेयर मेडले झापा जिल्लामा रहेका प्रहरी मध्ये ५ जनालाई युकेमा लगेर प्रशिक्षण दिने बताइन् । त्यसैगरी, यहाँका विद्यार्थीहरु मध्ये उत्कृष्टलाई थप प्रविधि सम्बन्धी प्रशिक्षण दिने बताइन् ।
सम्झौता पत्रमा हस्ताक्षरपछि मेचीनगर प्रमुख बिमल आचार्यले वर्षैदेखिको सपना पुरा भएको बताउँदै नगरको विकासमा यसले ठुलो सहयोग पुग्ने आशा व्यक्त गरे । सम्वन्ध पत्रको वाचन मेचीनगर नगरपालिकाका प्रशासकिय अघिकृत महेन्द्रकुमार खाम्याङ्ग र फोक्साटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङले वाचन गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य तथा मेचीनगर नगरपालिकाका संस्थापक मेयर रविन कोइरालाले सन २००६ देखि यस किसिमको सम्वन्ध स्थापित गर्न खोजिएको भएपनि विभिन्न कारणले. सम्पन्न हुन सकेको थिएन । तर, त्यसैको निरन्तरता आज आएर त्यो प्रयास सफल भएको बताए । हाम्रो प्राचिन पूर्वीय सभ्यता र संस्कृति युरोपियन देशले अनुकरण गर्न थालेको बताउँदै कोइरालाले भने “हामीले यहाँको संस्कार संस्कृति बेलायतलाई उपहार दिएर त्यस क्षेत्रको नयाँ टेक्नोलोजी भित्र्याउने प्रयास गर्नुपर्छ । कोइरालाले दुई नगरपालिका बीचको नयाँ सम्वन्ध स्थिापित गर्न फोक्सटन सिटीका पूर्व काउन्सीलर धन किरण गुरुङले सेतुको काम गरेको भन्दै उनको प्रशंसा गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेल, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ लगायतले दुई नगरपालिकाबीचको सम्वन्धलाई प्रगाढ बनाउन दोहोरो सम्बन्ध स्थापित गरी संस्कार संस्कृति साथै विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सुझाव दिए । कार्यक्रममा बेलायतको फोक्साटन सहरका अध्यक्ष रे जोनले नेपाको व्यापार तथा औद्योगिक क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । सो अवसरमा पूर्व काउन्सीलर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा मेचीनगर नागरिक समाजको तर्फबाट जेष्ठ सदस्य माया गुरुङले मेयर मेड र उनीसँग सहभागी टोलीलाई खदा, नेपाली टोपी, खुकुरी र बुद्धको मूर्ति मायोको चिनो स्वरुप प्रदान गरेकी थिइन् । मेचीनगर उपप्रमुख मिना उप्रतीले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पाहुनाहरुलाई विशेष धन्यवाद गरेकी थिइन् भने पाहुनाको स्वागतमा विभिन्न विद्यालयका विद्यार्थी किसान , मेचे जातिको जातिय नृत्य, लाखे र पञ्चे बाजा प्रस्तुत गरिएको थियो भने मेचीनगर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सामाजिक संघ–संस्था र नागरिक समाजको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक विकास वरिष्ठ अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।
त्यसैगरी फोक्साटन सिटीका मेयर जेकी मेडलाई काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाले स्वागत तथा सम्मान गरेको छ ।
स्थापनाकालमा बेलायत सरकारले १ करोड ४५ लाख आर्थिक सहयोग गरेको थियो । स्वागत कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हर्क फ्याकले गरेका थिए । सो अवसरमा अध्यक्ष फ्याकले संस्थाको संरचना र व्यवस्थापनका बारेमा जानकारी गराएका थिए भने गोर्खालीले बेलायतमा देखाएको बहादुरी र इमान्दारिताको जानकारी गराएका थिए । सो अवसरमा उनीहरुलाई मायाको चिनो स्वरुप पानी खाने लोटा प्रदान गरिएको थियो । कार्यक्रम कार्यालय प्रमुख दिपक पोखरेलले सञ्चालन गरेका थिए । त्यसैगरी, मेयर जेकी मेड, पूर्व काउन्सिलर धनकिरण गुरुङ समेतको टोलीलाई काँकरभिट्टा माविमा स्वागत गरिएको छ । सो अवसरमा विद्यालयका प्रधानाध्यापक तुलसा निरौलाले स्वागत गरेका थिए । विद्यालयलाई पूर्व काउन्सिलर धनकिरण गुरुङको पहलमा ३२ वटा कम्प्युटर यसअघि नै दिइएको छ ।

तपाईको प्रतिक्रिया