महोत्सवमा हस्तकलादेखि जातीय परिकारसम्म

काँकरभिट्टा / नेपालको प्राचीन कला र संस्कार संस्कृति संरक्षण गर्न पछिल्लो समय समुदाय क्रियाशील हुन थालेका छन् । परम्परागत मौलिक संस्कृति लोप हुन थालेपछि सचेत अभियान्ता यस अभियानमा कम्मर कसेर लागेका हुन् ।
कला, संस्कृति र पर्यटन ग्रामीण उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टामा आयोजित छैटौँ ग्रामीण पर्यटन महोत्सवमा भारत, भुटान बंगलादेश र प्रदेश नम्बर १ लगायत देशका विभिन्न स्थानबाट सहभागी बनेका व्यवसायीहरुले लोप हुन लागेका बिभिन्न किसिमका हस्तकलाका सामग्रीदेखि स्वास्थ्यसँग जोडिएका विषयबस्तु तथा विभिन्न जातजातिका मौलिक संस्कृति र खानाका परिकारहरुले स्टल सजिएका छन् ।
आकर्षक विदेशी सामानको प्रभावले बजार लिन थालेपछि मौलिक र परम्परागत हातले बनेका सामग्रीहरु पछिल्लो समय ओझेलमा पर्न थालेको छ । उपभोक्ताहरुले समेत त्यस्ता सामग्रीहरुको प्रयोगलाई महत्व दिन छाड्दै गएको अवस्था छ । पछिल्ला केही वर्ष यता घरेलु उत्पादनको बजार कमजोर बन्दै गएको महोत्सवमा सहभागी रजनी राई चित्रकारले बताइन् । उनले आफैले उत्पादन गरेका विभिन्न हेण्डी क्यापका सामग्रीहरुलाई स्टलमा सजाएकी छन् । उनी भन्छिन्– ‘नेपालको परम्परागत मौलिक सामग्रीहरु आज संकटमा पर्दै गएको छ, हामी त्यसलाई बचाई राख्ने अभियानमा छौँ ।’
२०४२ सालमा धनकुटामा आएर तालिम लिएकी चित्रकारले पछिल्लो समय घरेलु उद्योग सञ्चालन गरेर ब्यवसायीक रुपमा आत्मनिर्भर मात्र बनेकी छैनन्, उनले २० जना महिलाहरुलाई रोजगारी समेत दिएकी छिन् । उनले बाबीयो र गँहुको घाँस छलीको प्रयोग गरेर आकर्षक डिजाइनका हटकेश, खुत्रुके, बास्केट, ढाकी बाँस र प्लाईबाट निर्मित विभिन्न सामग्रीको उत्पादन गरेर बिभिन्न देश पठाउने गरेको बताइन् । नेपालमा भन्दा बिदेशमा माग हुन्छ । नेपालमा त यसको महत्व घट्दै गएको छ । हेर्ने र कति राम्रो भन्नेहरु धेरै आउँछन् तर किनेर प्रयोग गर्नेहरु साह्रै कम्ती छन् ।
आफ्नो मौलिक सामग्रीको प्रचार भएको छ, यस्ता सामग्रीको प्रयोग बढाउन उनले सहभागीहरुलाई अनुरोध गर्दै आएकी छिन । उनको स्टलसँगै सजिएको अर्काे स्टल पाँचथरकी कृष्णकुमारी पौडेलको छ । २० वर्ष अघिदेखि ढाकाको कपडा उत्पादन गर्दै आएकी पौडेलले पछिल्लो समय आफ्नो व्यवसायलाई बिदेशमा समेत चिनाउन भ्याएकी छिन् । तान लागाएर ढाकाको साडी चोलो, दौरा, सुरुवालका कपडा मात्र होइन । बिभिन्न आकर्षक डिजाइनका व्याग समेत उत्पादन गरिरहेकी छिन् । तेह्रथुममा तालिम लिएर सानो व्यवसाय सुरु गरेकी उनले यतिखेर ६० जना महिलाहरुलाई रोजगारी समेत दिएकी छिन् । उनी भन्छिन् – ‘नेपालमा सस्तो र मेसिनबाट उत्पादन भएका बिदेशी सामान भित्रिएको छ तर बिदेशमा यहाको उत्पादनले वजार लिँदै गएको उनले बताइन् ।
महोत्सवमा भद्रपुरस्थित शाक्य हस्तकला केन्द्रका बिभिन्न आकर्षक हस्त शिल्पहरु समेत सजिएका छन् । बाँसको जराबाट बनाइएको उल्लु, कछुवा, मयुर तथा बिभिन्न मुर्तिहरु रहेका छन् । महोत्सवमा हस्तकलाको सामग्री उल्लेख्य रुपमा बिक्री नभएपनि सामग्रीको महत्व बुझाउने काम भएको सञ्चालकको भनाई छ ।
त्यसैगरी, लायन्स क्लवको सहयोगमा लियो क्लव र एमिटि पब्लीक स्कुलका विद्यार्थीहरुले बिषादी निर्मुल गर्न तथा पानी शुद्व पार्न आफैले उत्पादन गरेको क्लोरीनको प्रयोग र महत्वलाई बुझाई रहेका छन् । क्लोरीनको प्रयोगले पानी शुद्व मात्र हुने होइन, विषादीयुक्त तरकारीको विष निर्मुल गर्न सकिने सहभागी बिद्यार्थीले जानकारी दिए । महोत्सवको अर्को आकर्षक काँकरभिट्टाको देही आर्ट र सिलगुढीका अजयकुमार सरकारको नेल आर्ट रहेको छ । सरकारले नङको माध्यमबाट सुन्दर तस्वीर उतार्छन् । आफ्नो जातीय पहिचान झल्काउँदै सुनार समुदायले बिभिन्न सामग्री बिक्रीको लागि राखेको छ । योसँगै भारतको स्टलमा स्टोबेरी फल राखिएको छ । स्वास्थ्यको लागि उपयोगी उक्त फलको उपयोगिताका बारेमा गौराङ राईले जानकारी गराइरहेका छन् ।
जीवनमा अति गुणकारी केशरको स्टलले सहभागीहरुलाई आकर्षित गरेको छ । शरिरको इमिनिटी पावर तथा स्मरण शक्ति बढाउनका साथै स्वास्थ्य जीवनको लागि उपयोगी केशरको स्टल लिएर मेचीनगरकै इम्मा ढंगाना यसको प्रयोग र महत्व सहभागीहरुलाई बुझाउँदै आइरहेकी छिन् ।
महोत्सवामा बिभिन्न नातजातिले जातीय पहिचान झल्किने नृत्य प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन दिलाइरहेका छन् । तामाङ, राई, थामी, लिम्बू, गूरुङ, मेचे, मगर, राजवंशीलगायत बिभिन्न जातजातिले आ–आफ्नो जातीय परिकार राखेका छन् । महोत्सवको चौथो दिनसम्ममा ३५ हजार बढी अवलोकनकर्ताको सहभागिता रहेको आयोजक समितिका संयोजक अर्जुन कार्कीले जानकारी दिए । महोत्सवले त्रिदेशीय सम्वन्ध बढाएको र सरकारले घोषणा गरेको पर्यटन् वर्ष २०२० सफल पार्न सहयोग पुगेको उनको भनाई छ । महोत्सव आज समापन हुने समितिका प्रवक्ता नवराज प्रधानले बताए ।

तपाईको प्रतिक्रिया