पुँजीवादको प्रकोप ‘प्यारासाइट’

हेमन्त निरौला

प्यारासाइटको अर्थ हुन्छ परजीवि । फिल्म जगतको सबैभन्दा माथिल्लो स्थानमा रहेको पुरस्कार ओस्कारलाई यसअघि अङ्ग्रेजी फिल्मको ‘पेवा’ को रूपमा लिने गरिन्थ्यो । तर कोरियाली चलचित्र प्यारासाइटले ओस्कार अवार्डको ९२ औँ संस्करणमा उत्कृष्ट फिल्मसँगै चारवटा विधामा अवार्ड जितेको छ । ओस्कारमा अङ्ग्रेजी भाषाका फिल्महरुलाई मात खुवाउँदै कोरियाली फिल्म प्यारासाइटले उत्कृष्ट फिल्मको पुरस्कार मात्र हात पारेन ओस्कारमा अङ्ग्रेजी फिल्मको वर्चश्वमा हलचल समेत मच्चायो । सुपर हिरो र महानायकको कथा ओकल्ने हलिवुडका लागि प्यारासाइटले सामाजिक विषमताको तितो यथार्थ पस्कने साहस गरेको छ ।
कथा यस्तो छ ।
एउटा अति विपन्न किम परिवार । हाइवेको मुन्तिर बनेको झुपडीमा किम परिवारले गुजारा चलाएका छन् । खाने, सुत्ने अनि शौच गर्ने सबै एउटै कोठा । वाईफाईको सिग्नल शौचका लागि राखिएको कुनामा मात्र पाइने हुनाले त्यहीँ परिवारको भीड लाग्छ । नगरपालिकाले अवैध बसोबासका कारण विस्थापित गर्ने डरले परिवार लुकेर बस्छ । जड्याहाँ आएर झ्यालबाट पिसाब फेर्छ, परिवार चुप लाग्न बाध्य छ । परिवारका कुनै सदस्यसँग नत रोजगार छ नत कुनै चाहना । उनीहरु बाहिरी संसारको मोहलाई विशाल देख्छन् ।
अर्काे परिवार छ, पार्क परिवार जो सभ्रान्त छ । महल, महल अगाडि खुला चउर अनि अथाह पैसा । बाबु, आमा र एउटा छोरा नोकरचाकरका साथ खुसी छन् ।
किम र पार्क परिवारको परिचयपछि फिल्मले लाइन समात्छ । किम परिवारका एक एक सदस्य पार्क परिवारमा काम गर्न जान्छन् । पहिले कामको खोजीमा घुसेको एकजनाले पार्क परिवारमा यसअघिकाम गर्दै आएका ड्राइभर, नोकरलाई षडयन्त्रपूर्वक निकाल्छन् र आफ्ना परिवारका सदस्यलाई त्यस काममा घुसाउँदै जान्छन् । यहाँ यो कुरा गजब छ कि उनीहरु पार्क परिवारमा आफ्नो परिचय लुकाउँछन् । एउटै परिवारका भएर पनि उनीहरु पार्क परिवारका अगाडि अन्जान बन्छन् । किम परिवार परिचय लुकाएर पार्क परिवारमा काम गर्छ, आँखा छलेर मोज गर्छ ।
फिल्मको पहिलो हाफ ‘डार्क कमेडी’ लाग्छ । दोस्रो हाफले ‘सस्पेन्स’, ‘थ्रिलर’ र ‘हरर’ भित्र्याउँछ । कथामा नयाँ मोड तब आउँछ जब पार्क परिवार घुम्न भनेर केही दिनका लागि बाहिर जान्छ । किम परिवार अब मस्त छ । पार्क परिवारको सोफा, बेडरुम मात्र प्रयोग गर्दैनउनीहरुको वाइन खाएर मस्त गफमा व्यस्त छन् । त्यतिबेला नै घरबाट षड्यन्त्रपूर्वक निकालिएकी बुढी नोकर्नी अचानक घर आउँछिन् र किम परिवारको सत्यता थाहा पाउँछिन् । बुढी नोकर्नीले त्यही घरमा लुकाएका आफ्ना बिरामी श्रीमानलाई थोरै खान दिए किम परिवारको सत्यता पार्क परिवारलाई नभन्ने शर्त राख्छिन् । तर किम परिवारमा दया भन्ने कुनै चिज हुँदैन । आफू पनि त्यस्तै परिवारबाट आएको र हप्तामा दुई चार गाँस खाना त्यो नोकर्नीको श्रीमानलाई दिँदैमा केही बिग्रदैन भन्ने कुरा किम परिवारले भुल्दछ र सत्य लुकाउनका लागि त्यही नोकर्नीको हत्या गर्दछ । त्यसपछि फिल्ममा अनेकौँ आरोह देखा पर्छन् र फिल्मको दुःखद् अन्त्य मात्र हुँदैन धेरै गहिरो सन्देश पनि दिएर जान्छ ।
कोरियाली निर्देशक बोङ जुङ होको लेखन तथा निर्देशनमा तयार गरिएको यो फिल्म हेर्दा दिमागमा धेरै पटक झट्का लाग्छ । दृश्यहरुमा प्रतीकको बारम्बार प्रयोग गरेको पाइन्छ । जडयाहाँले पिसाब गरेको दृश्यले किम परिवारको विपन्नता, पार्क दम्पत्तिले सोफामा सम्भोग गर्दा बाबु किम सोफामुनि लुकेको दृश्यले विवशता, किम परिवारको झ्यालबाट देखिने सानो सडकले किम परिवारको साँघुरो दृष्टिकोण लगायतका कयौँ प्रतिकात्मक दृश्यले फिल्मलाई सुन्दर बनाएका छन् ।
निर्देशक बोङ जुङ होले बारम्बार यो फिल्मलाई पुँजीवादमाथिको कटाक्षको रूपमा लिन आग्रह गरेका थिए । काम गर्नु, परिश्रम गर्नु, सुखी जीवन जिउनुको सट्टा अर्काको सम्पत्ति हत्याउनु, अरुलाई हानी नपु¥याई खुसी हुन सकिँदैन भन्ने पुँजीवादी मानसिकताको प्रतिविम्ब हो–प्यारासाइट । फिल्ममा प्यारासाइटलाई पुँजीवादको प्रतीकको रुपमा प्रयोग गरेको पाइन्छ । विश्वलाई गाँजेको प्यारासाइटले मानवीय मूल्य र मान्यतालाई भत्काउँदै लगेको छ । अरुको सुखलाई अथाह देख्ने र त्यो सुख प्राप्त गर्न परिश्रम गर्ने हैन त्यसलाई जसरी पनि (हत्या नै किन नहोस्) खोस्ने किम परिवारले विश्व पुँजीवादको प्रतिनिधित्व गरेको छ ।
फिल्ममा किम र पार्क दुई परिवारको कथालाई मात्र देख्नु गलत हुनेछ । यी दुई परिवार बाहेक बुढी नोकर्नी र उसको श्रीमानको परिवारले पनि फिल्ममा गहिरो सन्देश दिन सफल भएको छ । किम परिवार अति विपन्न थियो तर पार्क परिवारमा प्रवेश गरेपछि उनीहरुमा आर्थिक सुधार भएको छ र मोजको जिन्दगी बाँचेका छन् । तर, जब बुढी नोकर्नी आफ्नो श्रीमानलाई खाना दिनका लागि किम परिवारलाई दयाको भिख माग्छिन् तब किम परिवारमा कुनै प्रकारको दया देखिदैन । किम परिवार त्यतिबेला यो कुरा बिर्सन्छ कि उनीहरु पनि कुनैबेला यस्तै गरिब थिए । पुँजीवादले संसारलाई आफ्नो धरातल बिर्सन बाध्य बनाएको यो दृश्यबाट सजिलै बुझ्न सकिन्छ । फिल्मको अन्त्यले मानिसको अन्तरआत्मालाई झक्झकाउने कोशिस गरेको छ र भन्न सकिन्छ यसमा फिल्म पूर्णतः सफल पनि बनेको छ । फिल्मको महत्त्वपूर्ण पक्ष भनेकै आदर्श पात्रको अनुपस्थिति हो, यहाँ कोही हिरो छैनन् । सबैमा आफ्ना स्वार्थ अनि त्यसको पूर्तिका लागि जुनसुकै हद पार गर्ने असुर इच्छा समाहित छ । असुर इच्छा शक्ति नै पुँजीवादी समाजको विशेषता रहँदै आएको पाइन्छ ।
सामाजिक विषमता अनि यसले निम्त्याउने पुँजीवाद नै प्यारासाइटको सन्देश हो । जसरी परजीविले आफू बाँच्न अरुलाई हानी पु¥याउँछ त्यसरी नै पुँजीवादले अरुको हानी नपु¥याई आपूm बाँच्न नसकिने तर्क प्रस्तुत गर्दछ । मानवता, सहिष्णुता अनि भाइचारा पुँजीवादी समाजका विपरितार्थक शब्द हुन् भन्दा अत्युक्ति नहोला । जसरी परजीविले आपूmमा रहेको योग्यतालाई देख्दैन र अन्यमा निर्भर रहन्छ त्यसरी नै पुँजीवादमा मानिसले आफ्नो अस्तित्व बिर्सदै अन्यको सम्पत्तिमा आँखा गाड्छ र त्यसलाई हत्याउन अनेकौँ षड्यन्त्र गर्छ ।
यसप्रकारको परजीवि पुँजीवादसँग लड्न अनेकौँ आन्दोलन भएपनि सत्ताको भोक अनि शक्तिको लालचले परजीविको आकार र प्रकार त फेरिएको छ अन्त्य भने हुन सकेको छैन । विश्व इतिहासलाई नियाल्दा आपूmलाई गरिबका मसिहा भन्नेहरु नै सत्ता र शक्तिको स्वाद चाख्न पाएपछि मसिहाबाट शासक बनेका कयौँ उदाहरणहरु छन् । प्यारासाइट एउटा ‘मास्टरपिस’ फिल्म हो जसले पुँजीवादी समाजको ऐना मात्र देखाउँदैन, पुँजीवादसँग अन्तिम युद्ध लड्न विश्वलाई आग्रह गर्छ । समय बितिसकेको छैन, अब पनि यस्ता परजीवि पुँजीवादसँग लड्नका लागि तयार भइएन भने मानव जीवनको नियति फिल्मको अन्त्यमा देखाएभन्दा दर्दनाक हुने पक्का छ ।

तपाईको प्रतिक्रिया