पर्यटकीय स्थलको प्रवद्र्धनमा लागेका छौँः मेयर राना

अर्जुनधारा / झापाका प्रमुख पर्यटकीय गन्तब्यमा अर्जुनधारामा मात्र दर्जनवढी पर्यटकीय स्थल रहेका छन् । आफ्नो नगरमा रहेका यस्ता पर्यटकीय स्थलकोे प्रचार प्रसारका लगि नगरले योजनाबद्ध कार्यक्रम अघि सारेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी अर्जुनधारा नगरपालिकाको आयोजनामा विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारले सुचिकृत गरेको सय पर्यटकिय गन्तब्य मध्येमा एउटा गन्तब्य अर्जुनधारा जलेश्वर धाम पनि हो । यो संगै सुखानी सहिद स्मृती पार्क, सहिद सहादत स्थल खुदुनावारी, कैदले पर्यटन क्षेत्र, शंकराचार्य पीठ साधुटार, हलुवागढ कालिखोला सिमसार क्षेत्र, कालिका पीठ कालिस्थान, सहकाले झरना, हात्ती आहाल, बौद्ध गुम्बाका साथै कृषि पर्यटनका लागि सुपारी, रबर र तरकारी खेतीका लागि जिल्लामै अग्रणी स्थानमा अर्जुनधारा रहेको छ ।
स्थानीय सरकार कार्यान्वयनमा आएपछि पर्यटन क्षेत्रमा ठुलो लगानी गर्न थालिएको छ । सुखानी सहिद स्मृति पार्कमा मात्र केन्द्र र प्रदेश सरकारको लगानी डेढ करोड बढी पुगेको छ । नगरले समेत केही लगानी गरेको मेयर हरिकुमार राना बताउँछन् । उनले भने–‘तुरुन्त प्रतिफल आउने क्षेत्र नै पर्यटन भएकाले नगरले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो । अहिले पनि अर्जुनधाराका कतिपय पयटकीय स्थल आन्तरिक एवं बाह्य पर्यटकले भरिभराउ हुने गरेका छन् । जसको प्रत्यक्ष लाभ स्थानीयवासीले लिन थालेका छन् ।
अर्जुनधारा नगरपालिकाभित्रका केही युवाहरुले पर्यटन क्षेत्रबाट रोजगारी समेत प्राप्त गर्न थालेका छन् । यसका अतिरिक्त स्थानीय ब्यवसायीले साना ब्यवसाय मार्फत प्रत्यक्ष आम्दानी गरिरहेको प्रमुख प्रसासकीय अधिकृत पंकज भुर्तेलले बताए । यो सँगै अटो चालक, ट्याक्सी चालकहरुले समेत पर्यटन बृद्धिबाट लाभ हासिल गरिरहेका छन् । अर्जुनधाराका नदी नाला र सामुदायिक बनबाट पनि पर्यटन ब्यवसायमा लाभ लिन सकिने प्रसस्तै सम्भावना रहेको छ । यो सँगै यहाँका बहु जाती र बहु भाषिक समुदायका सांस्कृतिक परम्परालाई समेत देश बिदेशमा चिनाउने मौका मिल्ने हुँदा पर्यटन क्षेत्रमा लगानी बढाएको नगरको भनाई छ ।
यसै सिलशिलामा जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीसँगै विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा अर्जुनधाराका पर्यटकीय स्थलको भ्रमण गरिएको छ  । अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धामदेखि सुरु भएको भ्रमण, अर्जुनधारा–२ स्थित साठीमुरे, सहकाले र अर्जुनधारा–२ सँगै माई नगरपालिका–५ र सूर्योदय नगरपालिका–१४मा रहेको सहकाले झरनामा पुगेर भ्रमण टुङ्गिएको थियो ।
नगरपालिकाको विभिन्न पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पदयात्राको सुरुवातमा अर्जुनधारा जलेश्वरधामका मूलअर्चक अग्निप्रसाद सिग्देलले नगर प्रमुख हरिकुमार रानालाई भ्रमण सफलताको लागि शुभ साइतको रुपमा गणपतिको झण्डा र नगरपालिकाको नामाकरण नै भगवान शिवको मुख्य बास रहेको अर्जुनधारा जलेश्वर धामबाट रहन गएकोले भगवान शिवको प्रतिकको रुपमा शिवको झण्डा दिई कार्यक्रमको समुद्घाटन गरेका थिए ।
धामदेखि अर्जुनधारा–२ स्थित साठीमुरेसम्म बसमार्फत् यात्रा गरेका सहभागीहरुले साठीमुरेदेखि सहकालेहुँदै अर्जुनधारा–२, माई–५ र सूर्योदय–१४मा रहेको सहकाले झरनासम्मको अनुमानित १२ किलोमिटरको दूरी पदयात्रा मार्फत् सम्पन्न गरेका थिए ।भ्रमणका सहभागीहरुका लागि साठीमुरे र सहकालेमा स्थानीयबासीहरुले मगर जातिको नृत्यसँगै मौलिक खानाका परिकारहरुको व्यवस्थापन गरेका थिए ।
नेपाल भ्रमण वर्ष २०२० को सुरु भएको उद्घोषसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमणका लागि सन्देश दिन पनि कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रानाले बताए ।मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलगायतले मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया