कस्तो बनाउने अबको राज्य व्यवस्था ?

गएको एक महिनामा विभिन्न प्रकारका घटनाले निक्कै तहल्का मच्यायो । पहिलो घटना थियो–भारतमा भएको नागरिकता संशोधन विधेयक । उक्त विधेयकको विषयलाई लिएर भारतमा निक्कै हिंसात्मक घटनाहरु पनि भए । कतिले उक्त विधेयकको समर्थन गरे भने कतिले कडा आलोचन पनि गरे । त्यस्तै, दोस्रो घटना अमेरिकाले इरानको दोस्रो दर्जाका नेता कसिम सुलेमानीको हत्या । प्रतिउत्तरमा इरानले आक्रमणको रुपमा इराकमा रहेको अमेरिकी सैनिक क्याम्पहरुमा मिसाइल आक्रमण ग¥यो । क्षतिको विवरणमा भने अमेरिका र इरानले आ–आफ्नै दाबी गरेका छन् । घटना त्यतिमै सेलाएन । इरानले गम्भीर मानवीय भूल पनि ग¥यो । युक्रेनी जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेर उक्त जहाजलाई टुक्रा–टुक्रा पारिदियो । जहाजमा सवार सबै यात्रीहरुको मृत्यु हुन पुग्यो । यसको लेखाजोखा भविष्यले अवश्य गर्ला नै ।

यि घटनापछि धेरै मानिसहरु तेस्रो विश्व युद्ध हुने भनेर आशंका पनि गर्न थाले । विशेष गरेर भारतीय टिभि च्यानलहरुले त अब युद्ध हुने निश्चित नै भयो भनेर विश्लेषण गरे । समाजमा एक प्रकारको आतंक नै मच्चियो । समाजका सबै तह तप्कामा यस घटनाले प्रभाव पा¥यो । त्यस्तै, अर्को घटना नेपालमा पनि लिपुलेक तथा कालापानीको घटनाले राम्रै प्रभाव पा¥यो भने सरकारले अघि सारेको एमसिसि सम्झौतामा पनि विवाद तथा चर्काचर्की परिरहेकै छ ।

आखिरमा किन हुन्छन् यस्ता घटना तथा विवादहरु ? यसमा आम जनताको के हात हुन्छ ? के जनताका कारणले यस्ता समस्याहरु सृजना भएका हुन् त ? उत्तर हुन्छ– होइन । यस्ता समस्याहरु त पूँजीवादी शासकहरुका कारण उत्पन्न भएका हुन् । जब राज्यले सम्पत्ति तथा पूँजीलाई मात्र सबैभन्दा प्राथमिकतामा राख्दछ, तब यस्ता समस्याहरु सृजना हुन्छन् । राज्य आम जनताको भावनाको कदर नगरी राज्य सञ्चालन गर्ने शासकहरु जब मनोमानी गर्न थाल्छ, आफ्नो निजी स्वार्थका लागि जे पनि गर्न तयार हुन्छ, तब विश्वमा झै–झगडा, द्धन्द्ध फैलिन्छ । त्यस्ता साम्राज्यवादी तत्वहरु विभिन्न बहानामा आउने गर्दछन् । कहिले व्यापारको नाममा आउँछन् त कहिले आतंकवादको नाममा । कहिले विभिन्न सन्धी सम्झौता मार्फत आएर पनि विस्तारै हुर्मत जमाउन थाल्दछन् ।

अरु देशहरुमा छरिएर रहेका स्रोतसाधनलाई कब्जा गर्न उनीहरु आउँछन् । थोरै सहयोग गरेर धेरैभन्दा धेरै लिएर जान्छन् । अर्को देशलाई कंगाल बनाएर आफू धनी हुन्छन् । अमेरिकालगायतका देशको मुख्य रणनीतिनै त्यही हो । इराक, इरानको पेट्रोलियम कब्जा गर्न उ विभिन्न बहाना बनाएर घुस्ने गर्दछ । अर्कालाई आतंककारी घोषणा गरेर खुलेआम कानुनसम्मत ढंगले हत्या गर्छ । यस्तै हुन्छ –पूँजीवादी चरित्र भएका देशहरुको रणनीति । अरुलाई दोहन गरेर आफू धनी हुने उनीहरुको मुख्य नीति भनेकै यही हो । किनकी धनी हुनलाई अर्को गरिब हुनै पर्दछ । अर्को एकजना गरिब नभए अर्को धनी हुन सक्दैन । देशको हकमा पनि त्यही हो । अर्को देशलाई गरिब बनाएर आफू धनी हुने । अमेरिकाको परम्परागत रणनीति त्यही हो ।

अमेरिका आफूलाई विश्वको शक्तिशाली राष्ट्र हुँ भन्ने गर्छ । अन्य देशहरुबाट स्रोतसाधन दोहन गर्छ । उसलाई चुनौति दिनका लागि अब पूँजीवादी व्यवस्थामै रहेर सम्भव नै छैन । किनकी अब अरु देश त्यतिनै धनी हुनका लागि कसैलाई दोहन गर्ने ठाउँहरु बाँकी नै छैनन् । सबैलाई अमेरिकालगायतका देशहरुले कब्जा गरिसकेका छन् । विशेष गरेर उसले पहिले मध्यपूर्वका देशहरुबाट अत्यधिक फाइदा लियो । अहिले उसले एशियाको नेपाल लगायतका देशहरुमा आँखा तन्काएको छ । त्यसकारण अब हामीले पूँजीवादी व्यवस्थामै रहेर उसलाई चुनौति दिन असम्भव छ । किनकी अहिले दुनियाँभरका पूँजी उसको हातमा गईसकेको छ । अब त्यसलाई व्यापारको माध्यमद्धारा फर्काउन सम्भव छैन ।

त्यसो भए अब विकल्प छैन त ? विकल्प छ । त्यो विकल्प हो–समाजवादी व्यवस्था । पूँजीवादी व्यवस्थासँग लड्नका लागि अब एक मात्र विकल्प समाजवादी व्यवस्था नै हो र यो कुनै एउटा देशमा मात्र भएर पनि सम्भव छैन । विश्वमै समाजवादी व्यवस्था जरुरी छ । विश्वमा अब त्यसको संकेत क्रमशः देखा पर्न थालिईसकेको छ । हाम्रो दैनिक जीवनयापनकै क्रममा देखापर्न थालेका छन् । खाली हामीले त्यसतर्फ ध्यान दिइरहेका छैनौं । कसरी भने अर्गानिक खानेकुरा खाने भन्छांै हामी । अर्गानिक खानलाइ त पहिले उत्पादन पनि अर्गानिक नै हुन जरुरी छ । अर्गानिक उत्पादन गर्नलाई हिजोकै जस्तै तपार्इँ÷हामी सबैले उत्पादन गर्न जरुरी छ । उत्पादन व्यवस्था कुनै एकजना पूँजीपतिलाई जिम्मा लगाउने हो भने उसले हाम्रो स्वास्थ्यका लागि पक्कै पनि अर्गानिक उत्पादन गर्दैन । उ त बजारमा बिक्री हुने र अत्यधिक नाफा कमाउने वस्तु उत्पादन गर्छ । यस्तै हुन्छ–पूँजीवादी व्यवस्थाको चरित्र । यसमा कसैले आपत्ति मानेर पनि हुँदैन । बरु विकल्प खोज्न जरुरी छ ।

अब कुनै नेता वा सरकारले समाजवादी व्यवस्था भन्दैमा हुँदैन । आम जनताले ठोस पहल कदम चाल्नुपर्दछ । के हाम्रो दिनचर्या नै समाजवादी बनाउन सम्भव छ त ? उत्तर हुन्छ–सम्भव छ । हामीले गर्ने अब त्यही नै हो । पूँजीवादी व्यवस्थाले स्थापना गरेका आवश्यकताहरुलाई त्याग्ने, बजारबाट टाढा बस्ने, भारतमा महात्मा गान्धीले गरेको पनि त्यही त हो नी । उनी कतिसम्म सफल भए, त्यो छुट्टै पाटो हो । समुदायलाई नै केन्द्र बनाउन र उत्पादन तथा त्यसको खपत अबको व्यवस्थामा आवश्यकता छ । बजारले सृजना गरेको आवश्यकता होईन, जनताले सृजना गरेको आवश्यकतालाई मध्यनजर गरेर उत्पादन गरी सोही अनुसारको बिक्री वितरण गर्ने । गाउँमा भएका उत्पादन पहिले गाउँमा खपत गरेर बाँकी रहेको उत्पादन मात्र बिक्री गर्ने, गाउँको उत्पादन बजारलाई बिक्री गरेर पुनः बजारबाटै खरिद गर्ने जुन प्रणाली छ, त्यसको विपरीत जाने । अहिले भइरहेको व्यवस्थाको ठीक विपरीत जाने मुद्राको मूल्यलाई कम गरेर वस्तु सर्वसुलभ बनाउने । प्रत्येक घरमा कम्तीमा आफ्ना लागि मात्र भएपनि केही न केही उत्पादन अनिवार्य गर्नुपर्दछ । समुदायका लागि उत्पादन गर्नुपर्दछ । समुदायले ठूल्ठूला पसलहरु सर्वसुलभ ढंगले सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयहरु त राज्यले लिने नै भयो । निजीस्तरमा अहिले भइरहेका कुराहरुलाई समुदायमा ढाल्ने, त्यसबाट आएका नाफाहरु समुदायमै खर्च गर्ने व्यवस्था गर्ने । जसको परिणामस्वरुप समाज सम्पन्नतातर्फ उन्मुख बन्छ । कोही धनी र कोही गरिब भन्ने हुँदैन । सबै समान हुन्छन् । जसले जुन पेशा जानेको छ, उसलाई त्यसकै भूमिका प्रदान गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, उत्पादन वृद्धि गर्ने र जनतामा खुशियाली ल्याउने अबको विकल्प हामीसँग छ । जसलाई समग्र रुपमा समाजवादी व्यवस्था भन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया