जन–संसद् दैनिकको अध्यक्षमा केशवराज पाण्डे

 

काँकरभिट्टा / जन–संसद् दैनिकको सञ्चालक समिति अध्यक्षमा केशवराज पाण्डे सर्वसम्मत चयन भएका छन् ।
सोमबार काँकरभिट्टास्थित स्वीस प्यालेसको सभाहलमा सम्पन्न साधारणसभाले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिका संस्थापक शेयर सदस्य समेत रहेका पाण्डे युवा उद्यमी हुन् भने सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छन् । त्यसैगरी, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्षेत्रमा आवद्ध रहेका कमल थापा उपाध्यक्ष र शिक्षा तथा अतिरिक्त क्रियाकलापमा अब्बल इष्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सञ्जिव राई निर्देशकमा चयन भएका छन् । २०६२÷०६३ को जनान्दोलनमा स्थापना भई निरन्तर रुपमा स्वतन्त्रताको पक्षमा सूचना प्रवाह गर्दै आइरहेको जन–संसद् दैनिकका संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेती यस क्षेत्रका सामाजिक व्यक्तित्वको रुपमा परिचित छन् ।
त्यसैगरी, सदस्यमा विनोद बस्नेतलगायत चयन भएका छन् । कार्यक्रममा समितिका उपाध्यक्ष क्या. गोपीलाल लिम्बु, विजय डालमियालगायतको उपस्थिति रहेको थियो । समितिका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । सो अवसरमा संस्थापक अध्यक्ष समेत रहेका उप्रेतीले सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष उप्रेतीले निर्वाचित समितिलाई संस्थालाई रचनात्मक रुपमा अघि बढाएर आवाजविहीनहरुको आवाजको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
त्यसैगरी, नवनिर्वाचित अध्यक्ष पाण्डेले पत्रिकालाई निष्पक्ष र स्वतन्त्रता बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै संस्थालाई व्यवसायिक रुपमा सञ्चालन गर्ने वचनबद्धता जाहेर गरे । पूर्वको सूचना सम्बाहकका रुपमा पत्रिका स्थापित गर्न जुनसुकै कठिनाईको पनि परवाह नगरिने र परिवर्तनका लागि निरन्तर रुपमा सम्पादन पक्षलाई स्वतन्त्र रुपमा सूचना प्रवाह गर्न सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया