समृद्धिको आधार कस्तो हुने ?

यहाँ मैले उल्लेख गर्न चाहेको समृद्धि भनेको समाजको नजरमा देखिने समृद्धिको कुरा गर्न चाहेको छु । समाजले अर्थात् आफन्त, छिमेकी र चिनजानका मानिसले देख्ने गरेको समृद्धिको कुरा गरेको हुँ । यस्तो समृद्धिको आधार खोज्ने प्रयास गरेको छु । यसको दिगोपना र वैधानिकताको कुरा जोड्न चाहेको छु ।

आफन्त, छिमेकी र चिनजानका मानिसको नजरमा समृद्ध हुने, देखिने चाहना नयाँ होइन । पहिला थियो, अहिले छ र पछि पनि रहने छ । पहिला र पछिको कुरालाई यहाँ नजोडी वर्तमानको व्यक्ति र परिवारको समृद्धिको कुरालाई उठान गर्नु सान्दर्भिक ठानेको छु ।

एउटा परिवारका लागि समृद्धि भनेको के हो भन्दा सायद सबैको मनमा आउने उत्तर हुन सक्छ, आप्mना समकक्षीको नजरमा एउटा राम्रो घर, त्यो पनि शहरमा । एउटा राम्रो गाडी(मोटर), राम्रो स्कुलमा पढ्दै गरेका छोराछोरी, अरुका अगाडि मन खोलेर खर्च गर्न सक्ने खर्चालु हैसियत । यति गर्न सक्ने जो कोही मानिस समाजको नजरमा सम्मानित, हैसियतवाला, धनी, सम्पन्न, समृद्ध कहलिन पुग्छन् । त्यसैले, सबैको सपना बन्ने गर्छ यो अवस्थामा पुग्ने वा यस्तो अवस्थालाई आपैmंले प्राप्ती गर्ने । यो चाहना आपैmंमा नराम्रो होइन । मेहनत गर्दै जाँदा यति कुरा पूरा हुँदैनन् भन्ने पनि छैन । तर, यो अवस्थामा पुग्न धेरैलाई हतारो छ ।

उद्यम, पेशा, व्यवसाय, नाफा, सञ्चय, लगानी, फेरी नाफा, सेवा, पौरख आदिको माध्यमबाट यो चाहना पूरा गर्न नसकिने होइन । यो बाटोबाट पनि समाजमा केही मानिसले आप्mनो समृद्धिको चाहना पूरा गरेका छन् । यो एकदमै स्वाभाविक बाटो हो, दिगो र टिकाउ बाटो हो । तर, यो बाटोे अलि लामो हुन्छ । मानिसलाई हतार छ । चाँडै अरुको अगाडि समृद्ध देखिनु छ । सम्मानित हुनु परेको छ । त्यसैले, धेरै मानिस यो लामो र घुमाउरो बाटो भन्दा छोटो, सजिलो बाटो रोज्ने गर्छन् भन्ने मेरो बुझाई हो । त्यसैले, यस्ता देखिने धेरै समृद्ध व्यक्ति, परिवारको समृद्धिको आधार निकै कमजोर छ भन्ने मेरो ठम्याई हो ।

वर्तमान समाजमा देखिने केही समृद्धिका नमूनाहरु यस्ता छन् ः केही वर्ष पहिलेसम्म साधारण परिवार, तर अहिले गाउँभन्दा अलि परको शहरमा राम्रो पक्कि घर, घर अगाडि चारपांग्रे गाडी, छोराछोरी राम्रै स्कुलमा पढेर विदेश गएका छन्, विदेशबाट पैसा आएको होइन, बरु बेला बखत पैसा विदेशमा भएकालाई पठाउने गरेको सुनिन्छ । खर्चालु दैनिकी र जीवनशैली अरुलाई लोभ्याउने गरी छ ।

यही कुरा जब धेरैको सपना हो भने यो धेरै आश्चर्यको कुरा होइन । तर, चासोको विषय यो भयो कसरी भन्ने हो । यत्तिको सम्पन्नता अर्थात् समृद्धिको जोहो गर्न सक्ने व्यक्ति वा परिवारको देखिने वा नियमित स्रोत, पेशा, सेवा, व्यवसाय आदि के छ भनेर हेर्दा त्यसलाई धान्ने अवस्था देखिँदैन । कतिको देखिने आम्दानी केही हुँदैन । कतिको आम्दानीले धान्ने अवस्था नै देखिँदैन । तर, पनि आजलाई त यो समृद्धि छ ।

मेरा एकजना मित्र केही वर्ष पहिलेसम्म गाउँमा बस्थे दुःखले जीविका चलाउँदै थिए । बाबुले दिएको अंशमा अलिकति जग्गा थियो । गाउँमा बाटो पुग्यो । गाउँ विस्तारै बजार बन्दै गयो । उनले जग्गा बेचे, मनचिन्ते घर बनाए । चारपांग्रे गाडी किने । छोराछोरी पढ्दै थिए । जग्गा बेचेकै पैसाले विकशित देश पुगे । पहिले अलि–अलि भए पनि खेती गर्थे । अहिले न जग्गा न खेती । तर, फेरिएको जीवन पहिलेभन्दा राम्रो देखिन्छ । अभैm पनि बेच्न मिल्ने केही जग्गा बाँकी छ । यसले उनको जीवन सजिलै धानिने पक्का छ । त्यसैले, उनी ढुक्क छन् । समाजमा उनको मानसम्मान राम्रै उचालिएको छ । उनले समृद्धि प्राप्त गरे ।

अर्का एकजना मित्र छन् । बाबुआमाले निकै दुःख सहेर पढाएका थिए । उनी जागिरमा लागे । गाउँबाट शहरमा सरे । उतै घडेरी किने, परिवार जोडे, घर बनाए । कहिलेकाहीँ गाउँ आउँछन् । गाउँमा उनको निकै सम्मान हुने गरेको छ । उनको मात्रै होइन उनको कारण उनका बाआमाको पनि फूर्ति बढेको छ, मान थपिएको छ । गाउँमा चर्चा सुनिन्छ–उनले शहरमा धेरै सम्पत्ति जोडेका छन् रे । उनको तलवले त्यो सबै गर्ने औकात पुग्छ कि पुग्दैन भनेर गाउँले खोज्ने हैसियत बनाएकै छैन । उनी गाउँ आउँदा उनीसँग आश गर्नेहरु उनको नजिक जान्छन् । सबैलाई नदिए पनि केहीलाई केही दिन्छन् । उनले पनि सम्पन्नता अर्थात् समृद्धि हाँसिल गरेको देखिन्छ ।

गाउँमै बस्ने अर्को मेरा एकजना साथी छन् । उनी शहर र गाउँ दुवैतिर व्यापार गर्छन् । गाउँमा व्यापार गरेर कमाएको पैसाले शहरमा घर र व्यापार दुवै जोडेका छन् । गाउँलेलाई अभर पर्दा ब्याजमा पैसा दिएर गर्जो टार्ने उनै हुन् । उनको देखिने व्यवसायभन्दा नदेखिने व्यवसायको आम्दानी धेरै भएको अनुमान लाउन कठिन छैन । यसरी नै उनले समृद्धि हाँसिल गरेका छन् । समाजमा उनको मान सम्मान घटेको छैन ।

अर्का एकजना मित्र छन् । दिनरात जनताको कामका लागि भनेर दौडिन्छन् । उनको पेशा, व्यवसाय, सेवा, व्यापार, कृषि कुनै राम्रो आय योग्य बाटो छैन । देखिँदैन । सदरमुकाम धाइरहन्छन् । उनी राजनीतिमा लागेका मानिस । राजनीतिक पार्टीको नेता । कहिले पदमा हुन्छन् कहिले पदभन्दा टाढा । तर, उनको घरमा मानिसको भीँड खासै घटेको देखिँदैन । आम्दानीको बाटो नभए पनि उनले समेत शहरमा एउटा घर बनाएका छन् । शहरमा धेरै बस्ने गरे पनि गाउँसँगको नाता तोडेका छैनन् । यसरी उनले पनि समृद्धिको बाटो समातेकै देखिन्छ ।

गाउँका धेरै युवा विदेशिएका छन् । उनीहरुका खेतबारी बाँभैm भएर के भयो त । उनले पनि राम्रै घर बनाएका छन् । गाउँ नजिकै शहरमा घडेरी किने । पुरानो घरको छाना र भित्ता फेरिए । घरभित्र ठूलो भित्ते टिभि छ । भान्सामा फ्रिज भित्रिएको छ । उतैबाट पठाएको पैसाले घरको बैठक कोठा सजाइएको छ । आधुनिक भन्न मिल्ने शौचालय बनिएको छ । छोराछोरी राम्रा भनिने गाउँका निजी स्कुलमा पढ्दै छन् । बजारमा चहलपहल बढेको छ । बैंकका शाखा, सहकारी र रेमिट्यान्स भुक्तानी गर्ने अफिस गाउँमा पनि राम्रै चलेका छन् । समृद्धिको झल्को यहाँ पनि देखिन्छ ।

गाउँ–गाउँमा बाटो पुग्दैछ । बाटोसँगै विदेशका सामान गाउँ–गाउँमा पुग्न सजिलो भएको छ । शहरका भरिया गाडी गाउँमा सामान लिएर जान्छन् र रित्तै फर्कन्छन् । गाउँ किन्न सक्ने भएको छ तर, गाउँसँग बेच्नका लागि खासै केही छैन ।

माथि देखिएको समृद्धिको जग निकै कमजोर छ । परिस्थिति फेरिदै जाँदा समृद्धिको आधार फेरिँदै जाने पक्का छ । अहिले गाउँमा समृद्धि ल्याउन सहयोग गरेको बढ्दो जग्गाको मूल्य र वैदेशिक रोजगारी एकदमै अस्थिर र अस्थाई आम्दानी हो । दण्डहिनताको अन्त्य र सुशासनको जग बलियो बन्दै जाँदा अराजकतामा चुलिएको सीमित संख्याका व्यक्ति र परिवारको समृद्धिले निरन्तरता नपाउने पक्का छ । त्यो अवस्थामा अहिले देखिने र देखाउने गरेको समृद्धिको हालत के हुन्छ ?

सबैका लागि समान समृद्धि हुँदैन तर, समान अवसर हुनुपर्छ । उत्पादन, न्यायोचित सेवा, मूल्यमा आधारित पेशा र व्यवसायसँग नजोडिएको समृद्धिले न समाजको हित गर्छ नत दिगो नै हुन्छ । त्यसैले, समृद्धिको मात्रै होइन, दिगो समृद्धिको कुरा गर्दा यसको जग बलियो बनाउन सबैको ध्यान जानै पर्छ । सबै तहका सरकारले नै यसमा सबैभन्दा बढी पहल गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया