बजार अनुगमन औपचारिकतामै सीमित

पुष्प बराल

झापा / पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ ।

जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार संघका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी ५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म महँगो भएको छ । तर, सरकारका नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सीमित भएको छ ।

संघका अनुसार एक महिनाको बीचमा सबैभन्दा थोरै चामल प्रतिकेजी पाँच रुपैयाँ र सबैभन्दा बढी धुलो खुर्सानी प्रतिकेजी २ सय रुपैयाँसम्म बढेको छ । बजार अनुगमन गर्ने जिम्मा पाएका निकायको अनुगमन केवल औपचारिकतामा मात्रै सीमित भएका कारण आम उपभोक्ता महँगीको मारमा पर्ने गरेका उपभोक्ताको आरोप छ । दैनिक उपभोग्य वस्तुको मूल्य विश्लेषण गर्ने सरकारको संयन्त्र नबन्दा बजारमा उत्पादन उद्योग र व्यापारीको मनोमानी बढेको पनि उपभोक्ताको भनाई छ ।

झापाको प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडमा पनि दैनिक उपभोग्य सामानको मूल्य आकाशिएको छ । दैनिक खरीद गरेर भान्सा चलाउनेको अवस्था महँगीका कारण जटिल बन्दै गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले बताए । उनले भने–‘सामान्य दाल चामलदेखि मसलाजन्य वस्तुहरुको ब्यापारीले मनोमानी ढंगले मूल्य कायम गरेका छन् ।’ आर्थिक वर्ष २०७४÷०७५ देखि धेरै अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ । तर, स्थानीय तह पनि मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ अग्रसर हुन सकेको छैन । बिर्तामोड नगरपालिकाले दशैं अगाडी केही होटलहरुमा अनुगमन ग¥यो । त्यसपछि अहिलेसम्म अनुगमन नगरेको उपभोक्ताको गुनासो छ ।

नगर अनुगमन समिति संयोजक तथा उपप्रमुख पवित्रा महतारा प्रसाईँका अनुसार अनुगमन गर्ने कुरा चलिरहेको छ तर, निर्णय भने भएको छैन । उनले भनिन–‘हालसम्म कसैको उजुरी नपरेका कारण अनुगमनमा ढिलाई भएको हो ।’ प्रसार्इँले भनिन्–‘नगरको बैठकमा कुरा उठाउँछु ।’ अनुगमनको प्रमुख जिम्मेवार निकाय नै त्यसप्रति उत्तरदायी नभएपछि यतिबेला बजारमा ब्यापारीले आफूखुशी मूल्यवृद्धि गरिरहेका हुन् ।

बिर्तामोडका ब्यापारी सन्तोष अग्रवालका अनुसार पछिल्लो एक महिनामा गेडागुडी मसलाजन्य सामाग्री र खानेतेलमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भएको छ । अघिल्लो महिना ७० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको मटर अहिले १ सयमाथि पुगेको छ । खानेतेलमा प्रतिलिटर ३० रुपैयाँ बढेको छ । अघिल्लो महिना १ हजार ४ सय प्रतिकाटुन बिक्री भइरहेको खानेतेल अहिले १ हजार ७ सय रुपैयाँ पुगेको छ । चामलमा २ देखि ५ रुपैयाँ बढेको छ । अहिले नेपालबाट गेडागुडीजन्य सामाग्री भारततर्फ तस्करी हुने गरेकाले मूल्यवृद्धि भएको अग्रवालले बताए ।

ब्यापारीहरुको संगठन उद्योग वाणिज्य संघ बिर्तामोडका महासचिव प्रशान्त भण्डारीका अनुसार जिम्मेवार निकायले अनुगमनका लागि चासो नराखेको अवस्था छ । उनले वाणिज्य संघले अनुगमनमा सहकार्य मात्र गर्ने भएको हुनाले उपभोक्ता मारमा परिरहँदा पनि वाणिज्य संघले केही गर्न सक्ने अवस्था नरहेको बताए ।

बिर्तामोड नगरपालिकाले कार्यपालिका सदस्यको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको थियो । तर, महिनौ बितिसक्दा समेत समितिले कुनैपनि काम गर्न सकेको छैन । कार्यपालिका सदस्य भावना घिमिरे आचार्यले भनिन्–‘नगरले निर्णय नगरुन्जेलसम्म हाम्रो समितिले समेत अनुगमन गर्न मिल्दैन ।’ उनले अनुगमन प्रभावकारी नभएको समेत स्वीकारेकी छन् ।

बिर्तामोडमा मात्र नभई जिल्लाभर महँगी बढेको छ । झापाका १५ वटै स्थानीय तहले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । जसका कारण उपभोक्ता मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया