‘बेरोजगार समस्या न्यूनिकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण’

काँकरभिट्टा / काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

पूर्व मेची बस व्यवसायी संघ प्रालिको सभा कक्षमा आयोजित सभाको उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । सहकारी संस्थाले देशमा बेरोजगार समस्या न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सांसद मैनालीले सहकारी संस्थाले अब उत्पादनको क्षेत्रमा लाग्नुको विकल्प नभएको बताए । सरकारले २ वर्षभित्रमा एक सदस्य, एक सहकारी नीतिलाई पूर्ण रपमा कार्यान्वयनमा ल्याउने बताउँदै उनले सहकारी संस्थालाई मजबुत बनाउन सदस्यहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखे । सांसद मैनालीले सहकारी संस्थाहरुको निगरानी गर्न सहकारी बोर्ड गठन भईसकेको बताउँदै सहकारी संस्थामा लगाइएको करको विषयमा नीतिगत निर्णय गरेर समाधान गरिने बताए । देशलाई आर्थिक रुपमा समृद्व बनाउन जनताले सम्मानपूर्वक कर तिर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा विशेष अतिथि संविधानसभा सदस्य उषा गुरुङले देश हरेक कुरामा परनिर्भर बनेको र आर्थिक रुपमा समेत खोक्रो भइसकेको बताउँदै सहकारी संस्थाको माध्यमबाट हरेक व्यक्ति आत्मनिर्भर बन्नुपर्ने बताईन् । उनले कुनैपनि काम सानो नहुने भन्दै हरेक व्यक्ति उत्पादन क्षेत्रमा लाग्न सके देशले समृद्वि हाँसिल गर्ने उनको भनाई थियो । सो अवसरमा जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गा सापकोटाले तीनै तहको सरकारले समन्वय गरेर सहकारी संस्थाहरुको सहकार्यमा मेचीनगरमा कुटिल उद्योग खोल्न सुझाव दिए । उनले यहाँका उत्पादन कुचो, अलंैची, अदुवा भारत जाने र त्यहाँ प्रशोधन भएर बढी मूल्यमा हामीले नै किन्नुपरेको भन्दै कुटिल उद्योग सञ्चालनका लागि सरकारले लगानी गरे त्यसमा सहकारी संस्थाहरुले समेत हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले सरकारले बेरोजगार अन्त्यका लागि दीर्घकालिन योजना निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, गृहलक्ष्मी सहकारी संस्थाकी उपाध्यक्ष रेणुका डाँगीलगायतले बोलेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानबाट अमरबहादुर आङदेम्बेलाई सम्मान गरियो । सहकारीले उत्कृष्ट बचतकर्तातर्फ लक्ष्मी आङ्देम्बे र उत्कृष्ट ऋणितर्फ बलराम विष्टलाई नगद एकहजार रुपैयाँ नगदराशीसहित सम्मानपत्रद्वारा सम्मान गरियो ।

त्यसैगरी, सहकारीले व्यवस्थापक मिरा सुवेदी आचार्य, कम्प्युटर प्राविधिक प्रिया विष्ट, लेखा सहायक लक्ष्मी अधिकारी र बजार प्रतिनिधीहरु खिना अधिकारी, पूर्णकुमारी बस्नेत, रिना थापा र कर्मचारी पार्वती राई विकलाई सम्मान गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष भूपाल शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष शिवाकोटीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक युवराज मैनालीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष हस्त आङ्देम्बेले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव रुद्र पोखरेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया