हामी मजदुर दुई नम्बरी ?

निकासी व्यापारमा अवैध मानिएका सुपारी, छोगडा, मटरलगायत वस्तुहरु बोकेर सीमा पार गर्दा नेपाल–भारतका सीमामा बस्ने सुरक्षाकर्मीहरुबाट भएको धरपकड पश्चात दिक्दारी र पीडा मिसिएको स्वरमा बोलिएको वाक्य ‘अरु सबै एक नम्बरी, हामी मजदुर दुई नम्बरी ?’ ले राज्य सत्ता सम्हालेर बसेकाहरु, नेता, सामाजिक अनुसन्धाता, पत्रकार, बुद्धिजीवीलगायत सबैलाई ब्यंग्य कसेको छ । कान्तिपुर दैनिकमा कार्यरत् पर्वत पोर्तेलद्धारा लिखित र रङ्गकर्मी घिमिरे युवराजद्धारा निर्देशित नाटक दशगजाका पात्रहरुले यो सीमामा भारी बोक्ने मजदुरले भोगेको पीडा छर्लङ्ग पारेका छन् ।

परिणामभन्दा कारणमा ध्यान दिने सनातनी प्रणाली माथिको यो ब्यंग्य राजनीति गर्नेहरुले बुझ्न आवश्यक छ । परिणाममा तस्करी अर्थात् दुई नम्बरी गर्ने मजदुर भएपनि त्यसको कारण के हो भन्ने बारेमा समेत पात्रहरुले दह्रो प्रस्तुति दिएका छन् । भ्रष्ट भन्सार कर्मचारी, प्रहरी, नेता, जग्गा दलाल आदि सबै वैधानिक हुने समाजमा तिनै मानिसहरु शिर ठाडो पार्ने तर, तिनीहरुको कालो कर्मलाई बाध्यता वश साकार पार्न विवश भई उनीहरुका भारी बोक्न बाध्य भएका मजदुरहरु दुई नम्बरीको दर्जामा आँशु पिएर बाँच्नुपर्ने अवस्थाको अब्बल चित्रण यो नाटकमा देख्न सकिन्छ ।

सामाजिक विज्ञानले कुनैपनि घटनामा परिणामभन्दा कारण महत्वपूर्ण मान्दछ । तस्करीका सहयोगी बन्न पुगेका मानिसहरु कसरी यसको हिस्सा बन्न पुगे भन्ने प्रमुख कारणको खोजी आवश्यक छ । कृषि उत्पादन हुने हजारौं बिघा खेतहरु बाँझै छन् । एकातिर खेत बाँझा छन्, खेतमा काम गर्नुपर्ने युवाहरु खाडीमा छन् तर, यहाँ उत्पादन नहुने कुनै उपज छैन । गहुँ, मसुरो, केराउ आदि भारत गएकै छ । नेपालमा उत्पादन हुने भन्दा बढी सुपारी भारत गएको छ । यस्तै, छोगडा ल्वाङलगायतं अन्य मसलाहरु नेपालमा उत्पादन नभएपनि अवैध तरिकाबाट आउने र जाने दृश्य सबैका सामु छर्लङ्ग छ । यस्तो अवस्थामा किन सीमामा मानिसहरुको आकर्षण हुन्छ भन्ने कुरा सामाजिक अनुसन्धानको विषय बन्न नसक्नु दुःखद विषय बन्न पुगेको छ । कतै कृषि पेशाबाट जीविकोपार्जन कठिन भएका कारण यि मानिसहरु दुई नम्बरका मजदुर भएका त होईनन् ? यो अनुसन्धानको विषय भएपनि अर्काको शोधपत्र नक्कल गर्ने र डिग्री प्राप्त गर्ने हाम्रो परिपाटीले यस्ता अनुसन्धानको गहन विषय देख्न सकेन ।

‘सुटुक्क पारी सुपारी’ यो वाक्य सुपारी धन्धामा लागेकाहरुका लागि कडा ब्यंग्यको रुपमा आएको छ । महिलाका शरिरमा लुकाई छिपाई भारतमा लाने विषयदेखि राती बोरा बोकेर धन्दा गर्नेसम्मको कथा यसमा समेटिएको छ । त्यस्तै, सीमामा बस्ने प्रहरीका अघिल्तिरैबाट म्याराथनको प्रतियोगी धावक झैं गरी दौडिएर लगिने सुपारी कसरी सुटुक्क पारी पुग्छ ? भन्ने ब्यंग्य हुनसक्छ । वारिपारी २४ घण्टा पहरा छ । तर, सुपारी धन्दा चलेकै छ । अर्कातिर वास्तवमै सुपार खेती गरिहेका कृषकहरुको सुपारी हालका मितिसम्म पनि बिक्री हुन नसकेको अवस्था छ । आयात गरिएका सुपारीका कारण नेपालको सुपारी बिक्री नभएको अवस्थामा अब फेरी यिनै सुपारी कृषक र यसको उत्पादन र प्रशोधनसँग सम्बन्धित मानिसहरु दशगजाका मजदुर भए भने अचम्म मान्नु पर्दैन, बरु नियति नै मान्न सकिन्छ ।

‘हामी पैसाले पैसा नै खरिद गर्छाैं, आखिर यसले कसैको स्वास्थ्यमा असर त पार्दैन’ भन्ने वाक्यांश उच्चारण गरिएको नाटकमा देखिएको दृश्यले बंैककै वरिपरी हातमा पैसा लिएर मुद्रा सटही गर्दै आएकाहरुको दिनचर्यालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । सीमा क्षेत्रमा मुद्रा सटही गर्ने कार्यलाई आम मानिसहरु थैली बैंकको उपमा दिने गरेका छन् । यि थैली बैंकको सटही दर भने फरक–फरक हुने कुरा समेत नाटकका पात्रहरुले उजागर गरिदिएका छन् । यसरी थैली बैंकमा भारु जम्मा हुनुमा नेपाल–भारतको अवैध व्यापार कति जिम्मेवार छ भन्ने बारेमा कसले र कहिले सोच्ने हो, हेर्न बाँकी छ ।

‘आउनुस् न त्यो पनि मिल्छ’ भन्ने वाक्यांशले काँकरभिट्टाका होटलमा हुने यौन धन्दालाई इङ्गित गरेको छ । नाटकका पात्रले होटलका लागि ग्राहक खोज्ने क्रममा ग्राहकलाई होटलमा भएको सुविधा, एटेच वाथरुमा, तातोपानी, वाइफाईका बारेमा बताउँदै गर्दा होटलमा आउने ग्राहक पाहुनाले वाइफ पनी पाउने हो भन्ने आशयलाई प्रति उत्तर दिँदै नाटकका पात्रले ‘आउनुस् न त्यो पनि मिल्छ’ भन्ने वाक्यले कतै हाम्रा होटल ब्यवसायहरु सेवाका नाममा र अतिथि सत्कारमा नाममा यौन ब्यवसाय त चलाएका छैनन् ? भन्ने प्रश्न मुखरित भएको छ । हुनत भारतले समेत एडल्टरीलाई अपराधबाट हटाइसकेको अवस्थामा हामी न यसलाई हटाउन सक्छौं नत बन्द नै गर्न सक्छौं । यसलाई नियमन गर्ने नाममा समेत ठूलो धन्दा फस्टाउने हुँदा यसलाई यतिकैमा छोड्नु नै उत्तम सम्झेका हुनसक्छन् ।

सीमावर्ती शहर काँकरभिट्टामा दैनन्दिन देखिने दृश्यहरुको जीवन्त प्रस्तुतिको रुपमा रहेको नाटक दशगजाले अन्तिम दृश्यमा अझ दर्शकलाई भाव विभोर मात्र बनाएन, बरु सबैको आँखा रसाउने अवस्था तयार गर्यो । देश तथा परदेशमा भएका द्धन्द्धका कारण भोको पेटका लागि दशगजामा आश्रय लिई बसेको परिवारको जब परिवारका सदस्यको उपचारको रकम तिर्ने पैसा हुँदैन, छोरा–छोरीको पठनपाठन छिन्न भिन्न हुन्छ, सहकारीबाट लिएको ऋणको किस्ता तिर्न नसक्दा सहकारीका कर्मचारीबाट किस्ता नतिरे घरबास नै लिलाममा जाने सूचना प्राप्त हुन्छ । त्यस्तो अवस्थामा परिवारको विलौनाले कठोर मन भएकाहरुको समेत मन पगाल्न सफल भएको छ । यो कटु वास्तविकता कतिले भोगेका छन् भने हामीले यो तहको पीडा नभोगे पनि यसको रामै्र अनुभूति गरिएको छ । वित्तिय संस्थाहरुको कार्य आफ्ना ग्राहकहरुको आर्थिक वृद्धिमा ध्यान दिनुपर्नेमा त्यो भन्दा पनि आफ्नो लगानीको सुरक्षणमा मात्र ध्यान दिने कार्य सबैले देखेको विषय नै हो । जसका कारण बैंक तथा वित्तिय संस्थाबाट ऋण लिनेहरु सडकमा पुगेका धेरै उदाहरणहरु छन् ।

कला साहित्य देश र समाजको ऐना हो । यस नाटकका कलाकारहरुले काँकरभिट्टाको यथार्थ चित्रण गर्न सफल भएका छन् । हामीले नेपाल भ्रमण वर्ष २०२० लाई कार्यान्वयनमा ल्याई रहँदा यो ऐनाले हामीलाई आफ्नो अनुहारको अवस्था देखाउन र आफ्ना कार्यहरुमा परिमार्जन गर्न मद्दत पुग्ने छ । कलाकारले समाजको चित्रण सफल रुपमा गरी आफ्नो जिम्मेवारी निभाएका देखिन्छन् भने यो नाटक त होनी भनेर मुख मोड्ने वा यसबाट शिक्षा लिने भन्ने बारेमा जो कोही स्वतन्त्र हुनेछन् ।

तपाईको प्रतिक्रिया