फैलिँदै मानसिक रोग

चिकित्सकहरु भन्छन्–‘मानसिक रोग पनि मानिसलाई लाग्ने अरु रोगहरु जस्तै हो ।’ सुन्दा कता–कता मानसिक भनिएकाले पनि होला यसलाई बुझ्नेले अलिक फरक र अनौठो तरिकाले बुझ्ने गरेका छन् । यो मानिसमा देखिने एउटा सामान्य समस्या हो तर, यसको पहिचान र उपचार बेलैमा हुन सकेमा । तर, अन्य रोगहरु जस्तै यसलाई बेवास्ता र सामान्य ठान्दै गएमा यसले असजिलो अवस्था ल्याउँछ । किनपनि भने मानसिक रोग हाम्रो जीवनमा प्रत्येक पल जस्तै प्रकट भएर देखिन्छ ।

मानसिक रोगभन्दा पनि मानिसमा देखिने समस्याका रुपमा बुझ्दा सहज हुने चिकित्सकहरु सुझाउँछन् । जीवन भोगाईको क्रममा मानिसका दैनिक व्यवहारिक जीवनसँगका उसका रहन सहन र आम परिवेशले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । जसको परिणाम मानिसको स्वभाव वा आनिबानीमा केही फरक परिवर्तन र स्वयं व्यक्तिमा समेत यसको प्रभाव देखिन्छ । तनाव, चिन्ता र जीवन भोगाईको क्रममा उत्पन्न हुने आवेग, संवेग र पारिवारिक र सामाजिक कारणबाट पनि मानिसमा यो समस्या देखिन्छ । तर, समयमै यसको पहिचान हुन सकेमा यो खासै ठूलो समस्या नभएको मानसिक रोगका चिकित्सकहरुको भनाई छ । तर, सामाजिक रुपमा समेत मानसिक समस्या भयो वा भएको जस्तो लाग्यो भनेर अरु रोगका बारेमा जस्तो सहज र खुल्ला रुपमा यसलाई लिन र भन्न नसक्नुका कारणले आज नेपाली समाजमा यो समस्या बढेर गएको पाइन्छ ।

नेपाली समाजको आजको परिवेशमा पनि मानसिक रोग वा समस्या भन्नासाथ अर्को अर्थमा भनौं या अलिक फरक ढङ्गले बुझ्ने तरिकाले पनि आम मानिसमा मानसिक समस्या भनेको हाउँगुजी जस्तो बनेको छ । एक्कासी वा सुस्तरी मानिसमा आएको फरक व्यवहार र दैनिकीका गतिविधीले र स्वयं समस्या देखिएको व्यक्तिले यसलाई आफ्नो अनुभवका आधारमा कसैलाई भन्ने वा उपचारका बारेमा सोधखोज नगर्नुका कारणले पनि आज मानसिक समस्या अन्य सामान्य रोग भन्दा अरुनै ठूलो के हो भनेर हेर्ने र बुझ्ने गरिन्छ । जब मानिसमा यो प्रकारको समस्या देखिन्छ, उसका परिवार र नजिकका साथीहरुको परामर्शमा उसलाई समयमै सम्बन्धित चिकित्सकसम्म पु¥याउने हो भने यसको उपचार समान्य रोगको जस्तै भएको चिकित्सकहरु बताउँछन् । तर, झारफुक र यो लाग्यो त्यो लाग्यो भनेर अन्य प्रकारको शंका र उपचारका कारणले रोगीमा यो समस्या चरम रुपले गाँजिएपछि यसको उपचारको समय बढेर जाने र समस्यामा परेको व्यक्तिले समेत लामोसमयसम्म औषधि सेवन गर्नुपर्ने राय चिकित्सकहरुको रहेको छ । मानसिक समस्या भन्नासाथ हाम्रो समाजमा यसलाई ठेट भाषामा भन्ने हो भने मानिसलाई मनस्थितिमा गड्बड् भएको वा पागल जस्तो परिभाषा लगाउने गरिन्छ तर, यो समस्या भनेको सबै मानिसमा देखापर्ने समस्या हो र यसको उपचार सहजै हुन्छ भन्ने सरल बुझाईको कमीले पनि अहिले कतिपय मानिसले आफूलाई यो समस्या भएको अनुभव हँुदा समेत कसले के भन्ला की भनेर गुपचुपमा राख्ने वा त्यस्तो समस्या कसैमा देखा परेको छ भनेर कसैले सकारात्मक सुझाव दिँदा समेत यसलाई अन्यथा गरी बुझ्नाले पनि आज यस्तो समस्या भएका बिरामीहरुमा अरु धेरै समस्या बढेर गएको मनोचिकित्सकहरु बताउँछन् । मलाई मानसिक समस्या पो छ कि भनेर वा कसैले आफ्नो दैनिकी व्यवहारमा आएको परिवर्तनलाई औँल्याईदियो भने त्यसलाई सहज र सकारात्मक रुपले लिने अनि बेलैमा मनोचिकित्सकको परामर्श लिने हो भने यो सामान्य भएको विज्ञहरुको सुझाव छ तर, मलाई केही भएको छैन भनेर मात्र एकोहोरो जीकिर गर्नाले पछि यसले दुःखद अवस्था लिने पनि उनीहरु सुझाउँछन् । खास गरेर चिन्ता, तनाव, चरम महत्वाकाँक्षा, कुनै घटनाको प्रभाव वा असर र अन्य स्वास्थ्य समस्याका कारणले पनि मानिसमा यो प्रकारको समस्या देखापर्ने गरेको पाइन्छ । तर, प्रथमत आफू र आफूलाई नजिकबाट चिन्ने परिवार वा साथीभाईसँग सल्लाह गरेर बिना हिच्किचहाट चिकित्सकको परामर्शमा जाने हो भने यो खासै समस्या नभएको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् । प्रारभ्ममा सामान्य समस्या भएपनि हेल्चेक्र्रयाँई र बेवास्ताका कारण यो समस्या लामोसमयसम्म रहन गयो भने यसले थप जटिलता निम्त्याउने हुनाले यसलाई समयमै उपचारको विधि र प्रक्रियाका बारेमा जानकारी राखेर चिकित्सकहरुको परामर्शमा जानु सबैभन्दा उत्तम रहेको स्वयं यो समस्या देखापरेपछि उपचार गरेर स्वस्थ बनेकाहरु बताउँछन् ।

एक भुक्तभोगीका अनुसार उनले आफूमा क्रमशः केही परिवर्तनको महसुस गरेपछि स्थानीय स्वास्थ्य संस्थामा गएर सम्पर्क गरेका थिए । आफूलाई आफ्नै गतिविधिबाट शंका बढेपछि परामर्श गर्न पुगेका उनले आफूमा भएको अनुभव सुनाएपछि उनले तत्कालै सम्बन्धित चिकित्सकलाई भेटेर उपचार पद्धतिमा लागेको र औषधिको सेवन पछि ठीक भएको उनले सुनाए । आज पनि हाम्रो समाजमा मानसिक समस्यालाई फरक हिसाबले बुझ्ने र यसको सही उपचारभन्दा पनि अन्धविश्वासको भरमा झारफुक र तन्त्रमन्त्रका पछि कुद्ने पुरातन सोचका कारण धेरै मानसिक समस्यामा परेका बिरामीहरु सडक र चौकमा भांैतारिँदै गन्तव्यविहिन यात्री जस्तो भएको देख्न सकिन्छ । मानिस चेतनशील प्राणी भएकालेनै उसले हरेक घटना र अनुभवलाई नजिकबाट महसुस गर्दछ र त्यसको सकारात्मक र नकारात्मक असर उसमा रहेको हुन्छ । जसबाट विभिन्न क्रिया र प्रतिक्रिया आउने क्रममा कहिलेकाँही मानिसमा उसको व्यवहारिक परिवर्तन देखिन्छ र यसलाई सामान्य ठानेर यसको उपचारमा लाग्नुलाई सामान्य रोगको उपचार सरह मान्नुपर्ने धारणा मनोपरामर्शदाताहरु बताउँछन् ।

युवा पुस्तामा यसको असर

अहिले विशेष गरी युवा पुस्तामा यो समस्या निक्कै बढेको पाईन्छ । आफ्नो सोच अनुसारको काम र परिवेश भएन भने युुवामा एक प्रकारको वितृष्णा जन्मन पुग्छ र अन्ततः यो मानसिक समस्याको रुपमा देखा पर्दछ । चिन्ता, तनाव, एकोहोरो सोच, घटनाको असर र अन्य रोगका कारण पनि मानिसमा मानसिक समस्या देखापर्ने भएकाले सन्तुष्टि पनि यो समस्याबाट बच्न सकिने मुख्य आधारको रुपमा रहेको जानकारहरु बताउँछन् । नेपाली समाजका बारेमा भन्ने हो भने बेरोजगारी, असन्तुष्टि र प्रविधिको जथाभावी प्रयोगका कारण पनि यो समस्या जन्मनुको मुख्य भूमिका रहेको उनीहरुको तर्क रहेको छ ।

सामान्य लक्षण

डर लाग्नु, आफैँमा त्रासको जन्म हुनु, धेरै शंका लाग्नु वा शंका गर्नु, धेरै बिर्सनु, शरीरमा नजानिँदो पाराले पसिना आउनु, रिँगटा चले जस्तो हुनु, निन्द्रामा गड्बड् हुनु, मनमा एउटै कुरा बारम्बार खेल्नु, अनावश्यक कुनै विषयका बारेमा खुल्दुली हुनु, कुनै दुःखद समाचार सुन्दा आत्तिनु, सामान्य कुरामा समेत अनावश्यक आत्तिनु जस्ता लक्षण देखा परेमा समयमै विज्ञको सल्लाह बमोजिम उपचारमा गएमा यो समस्याबाट छोटो समयमानै छुटकारा पाईने चिकित्सकको राय छ ।

मैले झण्डै आत्महत्या गरेँथे

करिब एक वर्ष अगाडि मलाई अचानक मरुँमरुँ लाग्यो । सम्झँे के गरी मरौँ, पासो लागेर मरौँ कि विष सेवन गरौँ कि, नदीमा गएर डुबौँ भन्ने लाग्यो । त्योबेला वर्षायामको थियो, नदीमा गएर हाम्फाल्नु नै राम्रो लाग्यो । यस्तो हँुदोरहेछ , मर्न भित्रैबाट मज्जा लाग्दो रहेछ, दिमागले अरु केही सोच्ननै नसक्दो रहेछ , मर्नलाई भित्रैबाट उर्जा प्रदान भए जस्तो भयो । त्यहीबेला मेरो दिमागमा एउटा झड्का लागे जस्तो भयो । म तुरुन्तै एउटा साथीकोमा गएँ र उसलाई आफ्नो सबै घटना सुनाएँ, उसले एक छिन बस्न भनेँ । र, उनकोमा बस्दा बस्दै त्यो अघिको विचार हरायो, म झसङ्ग भएँ ती साथीको सल्लाह अनुसारनै म भोलिपल्ट बिहानै अस्पताल गएँ र डाक्टरलाई सबै कुरा भनेँ । अहिले मैले औषधि सेवन गरेको झण्डै एक वर्ष भयो । अहिले ममा त्यस्तै कुनै नकारात्मक विचार आएको छैन । करिब–करिब औषधिको सेवनको समय पनि सकिएको छ । मलाई लाग्छ, मानसिक समस्या आम मान्छेमा हुन्छ तर, फरक यति हो कसैमा धेरै र कसैमा कम । यसर्थ, आफूले यसलाई सामान्य सम्झेर बेलैमा सम्बन्धित डाक्टरकोमा गएर सबै समस्या भन्नुपर्छ । डाक्टरलाई मात्र होइन, आफ्नो अनुभव अरुलाई पनि सुनाउनु राम्रो हो । किनभने यो समस्यामा कस्ता–कस्ता लक्षण हुन्छन् भन्ने कुरा अरुले पनि थाहा पाए भने राम्रो होला । ( कुराकानीमा आधारित)

अहिले पनि नियमित औषधि सेवन गर्दै आएको छु

मलाई स्नातक पढी सकेपछि यो समस्या भएको रहेछ । डर लाग्ने, शंका लाग्ने र निन्द्रा नलाग्ने समस्या थियो । पछि शरीर पनि कापे जस्तो हुन थाल्यो, केही त भएको छ भन्ने लाग्यो, डाक्टरकोमा गएर परामर्श गरेँ, डाक्टरको सल्लाह अनुसार म नियमित दुई वर्षदेखि औषधि खाई रहेको छु । अहिले धेरै औषधि घटेको छ । अहिले एउटा मात्रै थोरै पावरको औषधि सेवन गरिरहेको छु । मेरो अनुभवमा भन्नु पर्दा मानसिक समस्या सबैलाई नै हुने रहेछ तर, कस्तो प्रकारको भन्ने हो । तर, आफूले नै आफ्नो बारेमा अध्ययन गरेर समयमै डाक्टरकोमा गएर सल्लाह बमोजिम नियमित औषधि सेवन गरे यो खासै समस्या हो जस्तो लाग्दैन तर, वास्ता नगरी यस्तै हो भनेर ढुक्क बस्दा भने यसले पछि निक्कै समस्या ल्याएको हामी सबैले देखेका छौँ । (कुराकानीमा आधारित)

आज पनि हामीले सडक बजारमा यसप्रकारका रोगले गाँजेका धेरै मानिसहरुलाई देख्ने गरेका छौँ । समयमा नै उपचारको अभाव र उपचारको पद्धति पनि झारफुक र धामी झाँक्रीको भरमा पर्ने हुनाले यसको जटिल शिकारमा पर्नेहरुको संख्या सडकमा देख्न सकिन्छ । मुख्य गरी आर्थिक र चेतनाको अभावका कारण आज धेरै मानिसहरु यसका बारेमा अनभिज्ञ जस्तोनै बन्नु परेकोछ । कतिको पारिवारिक र आर्थिक वातावरण अनुकूल नहुनाले पनि थाहा भएर पनि बाध्यताका कारण समेत र कति त सामाजिक लाजका कारणले समेत यो समस्या पालेर बसेका छन् । समाज, परिवेश, परिवार, सोच र अन्य यस्तै कारणबाट हामीमा देखापर्ने मानसिक समस्या जस्तो रोगको उपचारका लागि राज्यको तर्फबाट समेत विशेष पहल र तदारुकताको जरुरी देखिन्छ । किनकी नागरिक स्वस्थ भए भने मात्रै राष्ट्र पनि स्वस्थ हुन्छ अनि स्वस्थ नागरिकलेनै समृद्ध देशको निमार्र्ण गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया