प्रदेश सरकारको पहलमा बन्ने भयो सडक

डम्बर बराल

धुलाबारी / एकपटक कालोपत्रे भएर पनि गुणस्तरहीन कामका कारण भत्काइएको धुलाबारी–भद्रपुर डबल लेन सडक अब पक्की बन्ने निश्चित भएको छ । प्रदेश १ सरकारको लगानीमा स्तरीय सडक बन्ने निश्चित भएपछि स्थानीबासीले खुसी प्रकट गरेका छन् ।

मेचीनगरमा बहुप्रतिक्षित रुपमा निर्माणको पर्खाईमा रहेको यो सडकले भद्रपुरदेखि इलामको इरौटारसम्मलाई जोड्नेछ । भद्रपुर , ज्यामिरगढी, गोजाबस्ती, मागुरमाडी ,शान्तिनगर इरौटार नाम दिइएको उक्त सडकको शनिवार प्रदेश नम्वर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले शिलान्यास गरे ।

मन्त्री आङवोले सडक शिलान्यासपछि धुलावारी क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सरकारले भौतिक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । प्रदेश सरकारले ४७ प्रतिशत बजेट पूर्वाधार विकासमा खर्च गरिरहेको भन्दै उनले सडक बिस्तार नभएसम्म पर्यटन तथा कृषि क्षेत्रको विकास सम्भव नहुने पनि उल्लेख गरे । सरकार केवल शिलान्यासमा अल्झेको भन्ने व्यंग्यप्रति कटाक्ष गर्दै मन्त्री आङबोले यो वर्षभरी शिलान्यासको खबर आइरहने पनि बताए ।

‘प्रदेश सरकारको पहिलो वर्ष आधार वर्ष थियो दोस्रो शिलान्यास बर्ष’, उनले भने ‘ तेस्रो उद्व्घाटनको बर्ष हुने र चौथो पर्व विकास निर्माणको चरण पुरा हुनेछ ।’ मन्त्री आङवोले भद्रपुर इरौटार सडक निर्माणले कृषि तथा पर्यटन प्रवद्र्धन हुने भन्दै समयमै गुणस्तरिय सडक निर्माण पुरा गर्न निर्माण ब्यवसायीलाई अनुरोध गरेका थिए ।

प्रदेश सरकारको ७१ करोड ५६ लाख ६७ हजार ८सय ५ रुपैयाको कूल लागतमा ३४दशमलव ५१ किमि सडक निर्माण हुने भएको हो । उक्त सडक निर्माणको लागि पूर्वाधार विकास कार्यालयले झापाका दुई वटा निर्माण व्यवसायी सँग ठेक्का सम्झौता गरेको छ । भद्रपुर देखि धुलावारी तर्फको ९दशमलव १४ किमि सडक २५ करोड ३२ लाख ८४ हजार ८सय २२ रुपँैयामा सम्पन्न गर्ने गरी बिर्तामोड स्थत हिम्डुङ्ग एण्ड थोकर सरोज जेभीले ठेक्का लिएको छ भने धुलावारी देखि इरौटार तर्फको २५दशमलव ३७ किमि सडक निर्माणको काम कन्काई झापाली जेभी बिर्तामोडले ४६करोड, २३ लाख ८२ हजार ९सय ८३ रुपैयाँमा ठेक्का सम्भौता गरेको छ ।

निर्माणको दुवैकाम २०७९ असार ३१ गते सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव राजेश घिमिरेको सभापतित्व रहेको कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला , प्रदेश सांसद गोपाल चन्द्र बुढाथोकी , श्रीप्रसाद मैनाली ,राधा थापा , मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्य , रोङ गाउँपालिका अध्यक्ष समशेर राई लगायतले गौरवको योजनाबाट निर्माण हुन लागेको सडक निर्माणले मेचीनगरलाई मात्र नभएर सडकले जोड्ने चार वटा नगर तथा गाउँपालिकालाई प्रत्यक्ष फाइदा पुग्ने बताउँदै सडक निर्माणमा पूर्ण रुपमा सहयोग गर्ने प्रविद्धता व्यक्त गरेका थिए । कार्यक्रममा योजनाका वारेमा प्रस्ट पार्दै पूर्वाधार विकास मन्त्रालयका प्रमुख रमेश कुमार श्रेष्ठले निर्माणको समयमा पैसाको अभाव सिर्जना नगर्न अर्थमन्त्रीलाई अनुरोध गर्दे समयमा काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निमार्णको काममा गुणस्तरमासम्झौता नहुने भन्दै कुनै समस्या आए तत्काल सुचना गर्न सरोकारवाला निकाय तथा उपभोत्ताहरुलाई अनुरोध गरे ।

निर्माण व्यवसायी समशेर बहादुर थापा र भिम चन्द्र भट्टराईले निर्माको समयमा विभिन्न समस्या आईपर्ने भन्दै त्यसमा स्थानीय सरकार तथा उपभोक्ताले सहयोग गर्नु पर्ने भन्दै नदिजन्य सामाग्रिको अभाव सिर्जना नभए तोकिएको समयमै निर्माणको काम सम्पन्न गर्ने वताए । कार्यक्रमको सञ्चालन पूर्वाधार विकास कार्यालयका ईन्जिनियर लक्ष्मी प्रसाद सापकोटाले गरेका थिए ।

तपाईको प्रतिक्रिया