नेपाल भ्रमण वर्ष २०२० को स्वागत

झापा । नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरिएको छ ।

पूर्वी प्रवेशद्धार काँकरभिट्टामा आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० को संघीय सांसद् राम कार्कीले भ्रमण वर्षको ब्यानर वाचन गरी पर्यटन वर्ष शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् कार्कीले सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष —२०२०’ अभियानको बुधबार विधिवत् शुभारम्भ गरिएको हो ।

मेचीनगर पर्यटन विकास समितिले आयोजना गरेको उद्घाटन समारोहमा राष्ट्रिय गीतसँगै समिति संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले उपस्थितलाई स्वागत गरेकी थिईन् ।

नगर प्रमुख विमल आचार्यले ‘नेपाल भ्रमण वर्ष —२०२०’ लाई सफल बनाउन सबै नगरवासीमा आग्रह गदैं भ्रमण वर्षको उद्देश्यबारे धारणा राखेका थिए । उद्घाटन समारोहमा काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका ५ जना विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।

भारतीय नागरिक प्रियंका मल्लिक, पिंकी मजुम्दार, मामुनी मल्लिक, स्वेता खड्का र गुलाब चन्द्र देवलाई प्रमुख अतिथि कार्की, प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी श्रीप्रसाद मैनालीलगायतले रुद्राक्षको माला र नेपाली ढाकाको टोपी पहिर्याएका थिए ।

सम्मानित पर्यटकहरुले नेपालले आफूहरुप्रति देखाएको स्वागत तथा सम्मानका लागि खुशी व्यक्त गरेका थिए । कार्यक्रममा ं प्रमुख अतिथि कार्कीले समृद्ध नेपाल र सुखी नेपाली भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै भ्रमण वर्ष २०२० सफल पार्न सबै नागरिकले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।
प्रदेशसभा सदस्यद्धय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले सरकारले अघि सारेको २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई साकार पार्न हरेक नागरिकको दायित्व उत्तिकै रहेको बताए ।

कार्यक्रममा नेवार समुदायको लाखे र ठकठके, लिम्बू समुदायको च्याब्रुङ नाच, सन्थाल समुदाय र मेचे समुदायका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । मेचीनगरभित्रका महत्वपूर्ण मानिएका धार्मिक एवं पर्यटकीयस्थललाई समेटेर तयार पारिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रम सञ्चालन नगरका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्ती र सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले गरेका थिए ।
झापाबाट मुक्ति पौडेल ।

तपाईको प्रतिक्रिया