सम्पादकीयः सरकारी सक्रियताको अपेक्षा

अहिले कोरोना भाइरसको संक्रमणको जोखिम उच्च रहेको खबरहरु आइरहेका छन् । खासगरी उत्तरी छिमेकी चीनको बुहानमा फैलिएको यो रोगको संक्रमण नेपालमा पनि देखापरेको छ । चीनमा मात्रै यसबाट ५६ जनाले ज्यान गुमाइसकेको र दुई हजारभन्दा बढी मानिसमा संक्रमण भेटिएको पुष्टि भइसकेको छ । जोखिम उच्च रहेको भनिएको नेपालमा अपेक्षित सतर्कता भने अझै अपनाउन सकिएको छैन । यसलाई सामान्य ठान्ने गल्ती सरकारी तहले गर्न हुँदैन ।

नेपालमा पनि चीनबाट बिदामा घर फर्केका एक विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दो छ । नेपालले न चीनमा जस्तो निषेधको उपाय अपनाउन सक्छ न संक्रामक महामारीको उपेक्षा नै गर्न सक्छ । विशेषगरी चीनबाटै आउने पर्यटक, विद्यार्थी, व्यवसायीमात्र हैन तिनीहरूसँगै यात्रा गर्ने वा चीन भएर आउने अरू यात्रु पनि संक्रमित हुनसक्ने जोखिम उत्तिकै हुन्छ ।

यता, देशभित्र काठमाडौंमै कोरोना भाइरस परीक्षण गर्ने सुविधा पर्याप्त स सर्वसुलभ छैन भने काठमाडौंबाहिर पनि संक्रमित व्यक्तिहरू पुग्ने सम्भावना उत्तिकै छ । यसैले सरकारले कोरोनाको संक्रमण नेपालमा महामारी बन्न नदिन आवश्यक परीक्षण र रोकथामको व्यवस्था मिलाउन क्रियाशिलता देखाउनुपर्छ । सबै यात्रुको सामान्य स्वास्थ्य परीक्षण गरेर संक्रमणको शंका भएकाहरूको थप जाँच गर्ने व्यवस्था मिलाइएका कोरोना भाइरस फैलनबाट रोक्न सकिनेछ । सरकारी संयन्त्रबाहिर रहेका विशेषज्ञहरूसँग पनि सल्लाह गरेर राष्ट्रिय संकटमा जस्तै सहकार्यका लागि समेत सरकार अग्रसर हुनुपर्छ ।

कोरोना भाइरसको संक्रमणलाई ‘दुहुनो गाई’ बनाउने वा रोकथामको विषयमा बाहिरी सहयोगको भर परेर पर्खने मूर्खता कसैले नगरून् भनेर राजनीतिक नेतृत्व चनाखो बन्नुपर्छ । साथै, जाँच र उपचार प्रक्रियालाई देशव्यापी बनाउने तर्फ सरकारले ध्यान दिन आवश्यक छ । अन्यथा यसले देशभित्र जुनसुकै बेला भयावह अवस्था निम्त्याउन सक्छ ।