महोत्सवमा सहभागी हुन छिमेकीलाई निम्तो

सिलिगुडी / छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवको प्रचार–प्रसारका लागि शुक्रबार भारतको सिलिगुडीमा पत्रकार सम्मेलन गरिएको छ ।

ग्रिन जेनेरेशन झापाको आयोजनामा यहि माघ २६ देखि फागुन १ गतेसम्म काँकरभिट्टामा हुन लागेको महोत्सवको प्रचार–प्रसार र महोत्सवको अवलोकनका लागि पर्यटकलाई निम्तो दिन सम्मेलन गरिएको आयोजक समितिका प्रवक्ता नवराज प्रधानले बताए ।

पर्यटन भ्रमण वर्ष २०२० को अवसर पारेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव सिलिगुडीस्थित प्रेस क्लबको सभाहलमा भएको थियो ।

आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा त्यहाँका सञ्चारकर्मीहरुले महोत्सवका विषयमा जिज्ञासा राखेका थिए । सो अवसरमा ग्रामीण पर्यटन अभियन्ता सुप्रितम राजवशुले ग्रामीण पर्यटन, होमस्टेलगायत महोत्सवका विविध विषयमा सहजीकरण गरेका थिए ।

वशुले पर्यटन प्रवद्र्धनलाई कुनै भूगोलले नछेक्ने भन्दै आ–आफ्ना जातिय संस्कृति र ग्रामीण उत्पादनलाई प्रवद्र्धन गर्न यो महोत्सवले थप उर्जा प्रदान गरेको बताए ।

सो अवसरमा छिमेकी मुलुक भारतबाट मन खोलेर महोत्सवमा सहभागी हुन समेत आयोजकले त्यहाँका उद्यमी, व्यवसायी, पर्यटन व्यवसायी, ग्रामीण उद्यमी, सञ्चारकर्मी सबैलाई आग्रह गरेको थियो ।

प्रदेश नम्बर १ का पर्यटकीय क्षेत्रको अवलोकन गरेर भ्रमण वर्ष २०२० लाई सफल पार्न आग्रह गर्र्दै आयोजकले यसले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाईमा पुर्याउने वशुको धारणा थियो ।

पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष सुरेन्द्र बुढाथोकीले महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक सहयोगका लागि सबैपक्षलाई आग्रह गरे ।

अभियन्ता राजवशुले महोत्सवमा विभिन्न जातिय संस्कृति, नृत्य र खाद्य परिकारका १० वटाभन्दा स्टल नर्थ इष्टबाट रहने बताए । महोत्सवमा नेपाल, भारत र भूटानबाट व्यवसायिक स्टलसहित सहभागिता रहनेछ भने बंगलादेशबाट पर्यटन अभियन्ताको सहभागिता रहनेछ ।

अध्यक्ष कार्कीका अनुसार होमस्टे व्यवसायिक तथा व्यवस्थापन गर्ने उद्देश्यले यहि माघ २७ गते नेपाल, भारत र भूटानका होमस्टे अभियन्ताको सहभागितामा प्रदेश नम्बर १ का पर्यटन मन्त्री जगदीशप्रसाद कुसियत, पर्यटन विकास समिति प्रदेश नं. अध्यक्ष सीता थेवे, सदस्य श्रीप्रसाद मैनाली, काजिमान कागते, योजना आयोगकी सदस्य मीना भण्डारी, दिल्ली युनिभर्सिटि नर्थ इष्टका पर्यटन अभियन्ताहरुको सहभागितामा बृहत छलफल हुनेछ ।

त्यसैगरी, यहि माघ २८ गते प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, २९ गते प्रदेश १ का अर्थ मन्त्री इन्द्र आङ्वोको उपस्थितिमा बृहत छलफल हुने बताइएको छ ।

प्रकृति र संस्कृति पर्यटनको सम्पत्ती भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सवमा नेपालका होम स्टेका बारेमा समेत प्रचार—प्रसार गरी होम स्टेमा आर्कषण गराउने योजना रहेको आयोजकले जनाएको छ ।

महेत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् भने छिमेकी मुलुक भारत सिक्किम राज्यका मुख्यमन्त्री पी.एस गोले विशेष अतिथि रहने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा समितिका सदस्य सुशील आचार्य, राजु कार्की, निरोज कट्टेल, सन्तोष आचार्य, दीपक पोखरेललगायतको उपस्थिति थियो भने आयोजकका तर्फबाट त्यहाँका सञ्चारकर्मीहरुलाई महोत्सवका प्रचार सामग्री प्रदान गर्दै कार्यक्रममा सहभागी हुन चुले निम्तो दिइएको थियो ।