खुट्टिडाँगी वनको साधारण सभामा जेष्ठहरुलाई न्यानो कपडा

धुलाबारी / मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा सीमसार क्षेत्रको २२ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

समूहले वन संरक्षण र सम्वद्र्धनलाई मुख्य प्राथमिकतामा राख्दै विगत वर्षको समीक्षा गरेर आगामी वर्षको नीति तथा कार्यक्रमहरु प्रक्षेपण गरेको छ । समूहका अध्यक्ष टंकबहादुर नेपालद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीयदेखि संघीय सरकारसँग रकम माग गर्दै पर्यटन पूर्वाधारका लागि आवश्यक सीमसार व्यवस्थापन, बाल उद्यान तथा खेल सामग्री, भ्यू टावर, सभा कक्षलगायतका योजना अघि बढाइने उल्लेख छ ।

सभाको अवसर पारेर समूहले आफ्ना विपन्न उपभोक्तालाई न्यानो कपडा वितरण गरेको छ । समूहले सञ्जिता राजवंशी, फूलमाया सार्की, सरिफा राजवंशी, पुनमाया चौधरी, अग्नि किसान, बुधमाया गहते, बुट्नी चौधरी, सीता श्रेष्ठ र विष्णुकुमारी राईलाई स्वेटर प्रदान गरेको हो । त्यस्तै, समूहको प्रवेशद्वार निर्माण गर्ने दाता मीना गजमेर र उनका श्रीमान् रोशन गजमेरलाई सम्मान गरिएको समूहका कार्यालय सचिव राजु धिमालले बताए ।

समूहका अध्यक्ष टंकबहादुर नेपालको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा मेचीनगर उपप्रमुख मीना उप्रेती, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, मेचीनगर वडा नं.९ का अध्यक्ष गोपाल खड्का, वन समूहको बजेट निर्माण समिति संयोजक रेणुका डाँगी, सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर सचिव जानुका ओली, वडा सदस्य मीना गजमेर, पत्रकार मुक्ति पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समूहकी कोषाध्यक्ष लीला गौतमले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव इन्दिरा नेपालले गरेकी थिईन् ।