महोत्सवमा ३ करोडमाथी व्यापार


झापा । मेची उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा भईरहेको महोत्सवमा उत्साहजनक रुपमा अवलोकनकर्ताको उपस्थिती साथै व्यापार भएको छ । धुलाबारीमा जारी तेस्रो अन्तर्राष्ट्रिय उद्योग, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा हालसम्म करिब ३ करोडमाथिको व्यापार भएको हो ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाको अनुसार कृषि उपज तथा सामाग्री, लत्ता कपडा, अटो मोबाईल्स, इलेक्ट्रोनिकस् आईटम, होटल तथा पर्यटनजन्य सामग्री तथा सेवा, अन्तर्राष्ट्रिय स्टलहरुबाट, घरायसी सजावटका सामग्री साथै फर्निचर आदीबाट राम्रो व्यापार भएको हो । तिम्सिनाको अनुसार व्यापार अन्य दिनमा अझ धेरै हुने र लक्ष्य अनुरुप ५ करोड भन्दा बढीको कारोबार महोत्सवमा हुने अनुमान रहेको छ । त्यस्तै महोत्सवमा आउने अवलोकनकर्ताहरुको पनि संख्यामा बृद्धि हुदैँ गएकाले बिक्री वितरण राम्रो रहेको पाईएको छ।
चिया तथा कफी सम्बन्धि अन्तरक्रिया
महोत्सवमा अर्को महत्वपूर्ण कार्यक्रम अन्तरगत संभाषण तथा अन्तरक्रियाहरु पनि भईरहको छ । सोमबारको कार्यक्रम अन्तरगत नेपाल चिया तथा कफी विबास वोर्डको संयोजनमा चिया तथा कफी उत्पादक तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा नेपाल चिया तथा कफी विकास बोर्डका इन्द्रप्रसाद अधिकारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा चिया क्षेत्र बचाउ अभियानका संयोजक आदित्य पराजुली, नेपाल चिया तथा कफी विकास बोर्डका निमित्त प्रमूख रामइकबाल यादव, नेपाल कृषिबजार विकास कार्यक्रमका कृषि विज्ञ विष्णु काफ्ले, केन्द्रीय चिया सहकारी संघका प्रतिनिधि शंकर खनाल, पूर्णबहादुर कार्की, यामबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
झापा तथा नेपालमै चिया उत्पादन, प्रसोधन तथा निर्यातमा धेरै समस्याहरु भएको कारण चियासँग सम्बन्ध राख्ने सबैसँग यस्तो कार्यक्रमको आयोजना गरिएको मेची उद्योग वाणिज्य संघका सचिव रबिचन्द्र नेपालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया