मोफसलमै रमाएका संगीतका ‘कैलाश’

जन–संसद् संवाददाता

झापा / ५ दशकअघि झापाको तोपगाछीस्थित भुत्लुङ्मा जन्मिएका कैलाश थापा मगरको पारिवारीक वातावरण साँगीतिक थियो । आमा पवित्राको संगीतप्रति खुव लगाव । गाउँमा हुने भजन कीर्तनमा उनी आफँै गाउने र बजाउने गर्थिन् । सानै छँदादेखि कैलाशले मादलका ताल र भजनका लय सुन्ने मौका पाए । आमाको संगीतप्रतिको लगावकै कारण उनी पनि हेलिए यसैतर्फ ।

इन्द्रबहादुर र पवित्रा थापा मगरका दुई छोरा–दुई छोरीमध्ये कान्छो छोरा हुन्, कैलाश । उनको प्रारम्भिक अध्ययन् गाउँकै ज्योति प्राविबाट भयो । महेन्द्ररत्न माविबाट २०४७ सालमा एसएलसी पास गरेपछि भने उनले साँगीतिक उडान शुरु गरेका हुन् । सानैदेखि गाउने÷बजाउने काममा रुची देखाएकाले संगीतकै औपचारीक अध्ययन गर्न परिवारले पनि स्वीकृति दियो । त्यसैले, संगीतनै पढ्ने भनेर काठमाडौं पुगेका उनी इन्दिरा कलानिधी संगीत विद्यालयमा भर्ना भए । गुरु गुरुदेव कामतबाट औपचारीक साँगीतिक शिक्षा थालेका उनले संगीतबाटै स्नातक गरे । त्यसपछि संगीतको कैलाशतर्फ लम्किएका उनी अझै यसैमा रमाई रहेका छन् ।

रेडियो नेपालमा अवसर

२०४७ सालमा रेडियो नेपालले पूर्वाञ्चलमा लोक गीत तथा लोक श्रष्टाहरुका बारेमा सर्वेक्षण गरेको थियो । त्यसबेला उनलाई संगीतको औपचारीक ज्ञान थिएन तर, वनको काँडो झैँ आफँै तिख्रिएका थिए । त्यसैले, उनलाई झापाबाट छनौट भएर गीत गाउन पाउने अवसर मिल्यो । यसरी सर्वेक्षणमा छनौट भएकाहरुले परीक्षणका रुपमा एउटा गीत गाउने अवसर पाउँथे । तर, उनलाई दुईवटा अवसर दिइयो । उनले भने–‘सायद ममा सम्भावना देखेर नै होला, अरुले एक÷एक वटा अवसर पाउँदा पनि मैले चाँहि दुईवटा अवसर पाएँ ।’

त्यसवर्ष पहिलो गीत रेकर्ड भयो–‘पहाडको कुनामा, चौबन्दीको चुनामा’ बोलको लोक गीत । लोक गीतमा आफूलाई हौस्याउँदै आएका काका फिलिम थापाको शब्द संकलन थियो भने फुपूकी छोरी बहिनी गंगा थापाले स्वरमा साथ दिइन् । यसरी पारिवारीक साथ र सहयोगले उनले पहिलो गीत रेडियो नेपालमा रेकर्ड गराए । त्योदिन उनलाई संसारकै सबैभन्दा ठूलो उपहार पाएको महसुस भयो । ‘त्यसबेला निजी क्षेत्रका रेकर्डिङ स्टुडीयो पनि खासै थिएनन् । झन् मोफसलमा त हुने कुरै भएन । अहिले जस्तो एफ.एम रेडियोहरु पनि केही थिएनन, गीत संगीतका साधकका लागि रेडियो नेपालभन्दा ठूलो धाम केही थिएन’ पहिलो गीत रेकर्ड हुँदाको अनुभव सुनाए उनले–‘त्यहि गीत रेकर्ड गरेपछि त म साथीभाई र आफन्तहरुबीच गायकको रुपमा चिनिन थालेँ, पखेँटानै पलाएको जस्तो महसुस भयो ।’ त्यसको केही समयपछि उनलाई अर्को अवसर पनि दिइयो । उनले आफ्नै शब्द र लय संकलनमा रेकर्ड गराए–‘दुःख धेरै पाएथेँ, मुङ्लान अनि गएथेँ ।’ बेला–बेला रेडियो नेपालबाट यो गीत बज्दा उनलाई अझै कैलाशतर्फ चढ्ने उर्जा प्राप्त हुन्थ्यो । ठिटौली बेलामा रेडियो नेपालमा पाएको यो अवसरले उनले गीत मात्र गाएनन्, त्यसबेलाको लोकप्रिय कार्यक्रम ‘संगम’ को सहायक भएर काम गर्ने अवसर पनि पाए । कार्यक्रम सञ्चालक माधव दाहालको हौसलाले डेढ वर्ष कार्यक्रम सहायक भएर रेडियो नेपालको ज्यालादारी कर्मचारी पनि बने उनी ।

आधुनिक गीतमा परीक्षण

लोक गीत र संगीत उनको रगतमै थियो । त्यसैले, उनलाई त्यसमा परिक्षित हुन कुनै कठिन भएन । सर्वेक्षणबाट पाएको अवसर मात्र होईन, २०५० सालमा स्वर परीक्षा पास गरेपछि काका राजकुमार थापाको संकलन रहेको ‘मायाँ रोक्ने, मायाँ छेक्ने न भयो भञ्सार’ बोलको गीत पनि रेकर्ड गराई सकेका थिए । उनमा शास्त्रिय संगीतको जग राम्रै थियो । त्यसैले, आधुनिक गीतमा पनि आफूलाई परीक्षण गर्ने हुट्हुटी भयो उनलाई । २०५४ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा भाग लिए । स्वर मात्र होईन, शब्द र संगीत पनि उनकै थियो । गीत थियो–‘मेरी मायालू उपहार थापि देउन ।’ गीत ठीकै थियो । उत्कृष्ट १० को सूचीमा प¥यो । अनि उनलाई लोक र आधुनिक दुवै धारमा आफूलाई खेलाउन सक्ने रहेछु भन्ने महसुस पनि भयो ।

गायनभन्दा संगीतमा सक्रिय

रेडियो नेपालमा भएका बारम्बारका परीक्षामा अब्बल स्थापित गरेपछि उनलाई अरु जाँच दिई रहन खाँचो परेन । त्यसैले, आफँै एल्बम् निकाल्ने योजना बनाए । ‘त्यसबेला एल्बम् निकाल्ने खुब लहर थियो, एफ.एम खुल्ने लहरनै थियो । एल्बम् भएपछि एफ.एमबाट पनि गीत बज्ने र सबैसँग अझै चिनिने अवसर पनि थियो’ २०५६ सालको कुरा सुनाए उनले–‘८ वटा गीत भएको लोक आधुनिक भाका समेटेर कोरस एल्बम् निकालेँ, संगीत सबै आफ्नै थियो । शब्द चाँहि धेरै जनाका थिए तर, खास चल्न सकेन ।’ तर, उनका पाइला रोकिएनन् । २०५२ सालबाटै उनले अरुलाई संगीत सिकाउन पनि थालि सकेका थिए । धनकुटामा कोरस संगीत शिक्षालय पनि चलाए, २ वर्ष । त्यसपछि इलामको रविमा पुगे । २०५६ सालमा आफ्नै घर नजिकैको केर्खा बजारमा पनि स्थापना गरे । संगीत उनको रहर मात्र होईन पेशा पनि बन्यो । त्यसैले, २०६० सालमा फेरि ‘कोपिला’ नामको एल्बम्मा ८ वटा गीत ल्याए । पूर्वी नेपालमा उनलाई चिनाउन यसले बल पु¥यायो । अहिले पनि उनी विभिन्न स्थानमा संगीत सिकाउने पेशामै छन् । डेढ दर्जन जति मात्र आफ्ना स्वरमा गीत रेकर्ड गराएका उनले संगीत भने ५ सय जतिमा दिएका छन् । त्यतिकै संख्यामा आफ्ना चेलाहरु पनि उत्पादन गरेका छन् ।

चर्चादेखि सधैं टाढा

तीन दशकदेखि अनवरत् रुपमा संगीतमा लागेका उनी चर्चादेखि भने सधैं टाढा छन् । ‘चर्चामा आउनु र साधना गर्नु फरक कुरा हो, म चाँहि चर्चाभन्दा साधनामानै रमाई रहेको छु’ उनले भने–‘मेरो संगत पनि सेलिब्रेटी हुने टाइपका साथीहरुसँग खासै भएन । फेरि हिट हुन राम्रो गाएर मात्र हुँदैन, धेरै कुरा गर्न सक्नुपर्छ ।’ गीत रेकर्ड गराउनुभन्दा चर्चा बटुल्न बढी खर्च गर्नुपर्ने भएकाले चर्चा हुने लोभमा कहिल्यै नलागेको उनको भनाई छ । काठमाडौं बस्दैमा सबै राष्ट्रिय कलाकार हुने र मोफसलमा बसेर वर्षौै साधना गरेपनि स्थानीय कलाकार भनिने परिपाटीले चाहीँ उनलाई कहिले काहीँ मन घोच्छ । अहिले गीत सुन्नेभन्दा पनि हेर्ने हुँदै गएको र युट्युव, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भाईरल हुने लहड चलेको देख्दा चित्त बुझाई छैन । उनले तितो पोखे–‘अहिले कसरी राम्रो गाउने भन्दा पनि कसरी छिटो हिट हुने भनेर कतिपय मान्छेहरु आउन थाले, यसतर्फ मेरो रुची त कहिल्यै गएन र अब जाँदैन पनि तर, यस्तो चलनले साधनामा सन्तुष्टि लिने र चर्चाका पछि नकुद्नेहरुलाई चाहीँ ओझेलमा पार्दै लग्यो ।’

लुकि–लुकि माओवादीलाई प्रशिक्षण

उनमा सानैदेखि जनवादी गीति अभियानको प्रभाव थियो । त्यसैले उनलाई चिन्नेहरु वामपन्थी कलाकारनै भनेर चिन्थे । माओवादी जनयुद्धका बेला उसले युद्धको हतियारको रुपमा संगीतलाई पनि प्राथमिकता दिएको थियो । भूमिगत रुपमा साँगीतिक समूहहरु सक्रिय थिए । यस्ता समूहहरुलाई सिकाउन चाहीँ उनी लुकी–लुकी पुग्ने गर्थे । हर्क खड्का, श्रीकान्तलगायतका नेताहरु उनलाई फकाउन घरै पुग्थे अनि जंगलमा लुकेर माओवादी कलाकारलाई प्रशिक्षण दिन जान्थे उनी । ‘धेरैपटक मैले जंगलकाबीचमा माओवादी लडाकूको सुरक्षा घेरामा बसेर संगीत सिकाएको छु’ भूमिगत प्रशिक्षणका अनुभव सुनाए उनले–‘इलामको महमाई, लक्ष्मीपुर, पाँचथरका विभिन्न गाउँमा पनि पुगेर सिकाईयो । माओवादीले गर्ने साँगीतिक कार्यक्रमका लागि कलाकारलाई सिकाई दिनुप¥यो भन्थे, त्यसबापत पारिश्रमिक पनि दिन्थे । तर, प्रशासनसँग लुकेर आउ–जाउ त ज्यानै दाउमा राखे बराबर हुन्थ्यो ।’ त्यसबेला उनलाई सबैभन्दा ठूलो आँट रेडियो नेपालको परिचय पत्रले दिन्थ्यो । कसैले सोधिहालेमा रेडियो नेपालको कलाकार हो, भाका खोज्न हिँडेको भनेर जोगिन्थे ।

श्रीमतीको विदामा माओवादी दवाव

२०५५ सालका उनको विवाह बन्दना थापासँग भयो । अहिले छोरीहरु पञ्जिका र अनुसूची छन् । तर, माओवादी द्वन्द्व चलिरहेका बेला ठूली छोरी साथै थिईन् । श्रीमतीको जागिर स्थानीय विद्यालयमा । राती–राती लुकि–लुकि माओवादीलाई संगीत सिकाउन जानु आफ्नै काललाई निम्तो दिनु सरह थियो । सानैदेखिको वामपन्थी झुकाव र संगीत सिकाए बापत पाईने पारिश्रमिकले उनलाई लोभ्याउँथ्यो पनि । फेरि जान नमाने माओवादीका तर्फबाट आउने घुमाउरो दवाव पनि मिच्न सकिने थिए । त्यसैले, उनको शर्त हुन्थ्यो–‘छोरी सानै छन्, श्रीमतीको विद्यालयमा जागिर छ, म गएँ भने छोरी हेर्ने मान्छे हुँदैनन् । त्यसैले, म जानुपर्छ भने श्रीमतीको विदा मिलाई दिनुप¥यो ।’ उनको शर्त उनलाई लिन आएका माओवादी नेताहरुका लागि मञ्जुर हुन्थ्यो । अनि विद्यालयमा दवाव दिएर उनकी श्रीमतीको विदा मिलाई दिन्थे । माओवादीकापछि लागेर घरबाट हिँडेको मान्छे, फर्किने ठेगान थिएन । सुरक्षितनै भएपनि कम्तिमा एक महिना त लाग्थ्यो । यतिञ्जेल उनकी श्रीमति विद्यालय जान नपर्ने भएकाले अलिक राहत चाहीँ थियो ।

माओवादीको औपचारीक जिम्मेवारी नलिए पनि उनी धेरै माओवादी कलाकारहरुका गुरु थिए, नेतृत्व पङ्तीका लागि सल्लाहकार र सहयोगी । त्यसैले, २०६१ सालमा लडाँई चर्किँदै गएकाबेला माओवादीले केही नयाँ गीत तयार पार्ने भयो । त्यसका लागि उनी पनि काठमाडौं बोलाइए । उनले स्टुडियो तथा अरु धेरै कलाकार पनि चिनेका थिए । बाहिरि काम उनी मार्फत गराउन सजिलो थियो । सुरक्षाकर्मीले भेटि हाले पनि उनलाई कलाकार भएकाले गोली हानि हाल्दैनन् भनेर माओवादी कलाकारका लागि ‘ढाल’ पनि बनेका थिए, कैलाश । त्यसबेला उनले जनयुद्धप्रति आकर्षित गर्ने ८ वटा गीतको एल्बम् तयार पार्न समन्वयकारी जिम्मेवारी सम्हाले । २ वटा गीतमा संगीत गरे अनि एउटा गाए पनि ।

जनवादी अभियानको मूल्य

बाल्यकालमै बिझेको जनवादी गीत अभियानको चस्का उनमा अझैसम्म छुटेको छैन । २०४०–४२ साल तिर झापाका गाउँ–गाउँमा जेवी टुहुरे, शम्भू राईहरु जनवादी साँगीतिक कार्यक्रम लिएर पुग्थे । ती गीतका भाकाले उनलाई छोई रहन्थ्यो । कसरी आफू पनि यस्तै सुमधुर स्वर निकाल्ने र भाका खिप्ने भन्ने हुट्हुटी हुन्थ्यो । यहि हुट्हुटीले २०४५ साल सम्ममा उनलाई ‘गाउँले गायक’ बनाई सकेको थियो । यसरी सानैदेखि जनवादी साँगीतिक अभियानमा लागेको मूल्य पनि उनले नमिठोसँग चुकाउनु परेको छ । २०४५ साल फागुनको एउटा घटना सुनाए उनले–‘गाउँमै एकजना नेवार आफन्तको घरमा बेल विवाह थियो । म पनि गाउने–बजाउने भएकाले त्यस दिनको साँगीतिक कार्यक्रम गर्ने जिम्मेवारी पाएको थिएँ । त्यसबेला गाउँमा हुने पूजा, विवाह, व्रतवन्ध, व्रतहरुमा पनि गाउने÷नाच्ने चलन थियो । त्यसैले, पनि साथीहरुसहित कार्यक्रममा जुटेको थिएँ, ठीक्क कार्यक्रम पनि सकियो, अनि पुलिसले घर घेरा हालेछ । गिटार, हार्मोनियम छोडेर म त कुलेलाम ठोकेँ, तर मेरो नाममा पक्राउ पूर्जी जारी भयो । त्यही सालको चैतमा एस.एल.सी दिनुपर्ने । पक्राउ पूर्जी जारी भएको मान्छे परीक्षा दिन जान सक्ने कुरा भएन । काठमाडौं तिर लुकेर बसियो । अर्को वर्ष २०४६ सालमा बहुदल आएपछि मात्र गाउँ फर्किन सक्ने वातावरण भयो अनि आएर २०४७ सालको एस.एल.सी दिईयो ।’

तपाईको प्रतिक्रिया