चासोक तङ्नाम पर्व सुरु


झापा / लिम्बू जातिहरुको महान् चाड चासोक तङ्नामको अवसरमा बिहीबारदेखि तीन दिवशीय धार्मिक तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ ।

किराँत याक्थुङ चुम्लुङ सामुदायिक मञ्च मेचीनगर–५ मा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

मेचीनगर– ५ स्थित माङ्हिममा पूजा आराधना गरी औपचारिक रुपमा उद्घाटन गरिएको कार्यक्रमको पहिलो दिन विभिन्न जातिको साँस्कृतिक पहिचान झल्काउने झाँकी र नृत्य प्रस्तुत गरिएको थियो ।

किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार जीतबहादुर लावतीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले नेपाल बहुजातिय, बहुभाषिक र बहु साँस्कृतिक मुलुक भएकाले सबै जातजातिका भाषा र संस्कृतिको संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा विशेष अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेती, मेचीनगर ५ नम्बर वडा अध्यक्ष योगेन्द्र थापा मगर, किराँत याक्थुङ चुम्लुङ मेचीनगरका निवर्तमान अध्यक्ष हर्क फियाक, बालकल्याण माविका व्यवस्थापन समिति अध्यक्ष कनकबहादुर कार्की, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्का सचिव चिरञ्जीवि खवासलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मेला आयोजक समितिका अध्यक्ष अमृत लावतीको सभापतित्व भएको कार्यक्रममा स्वागत किराँत याक्थुङ चुम्लुङ मेचीनगर–५ का अध्यक्ष यामबहादुर सावदेन र सञ्चालन मेला आयोजक सदस्य सीता लावतीले गरेकी थिइन् ।

चासोक तङ्नामको सन्दर्भ पारेर सुरु मेलाको दोस्रो दिन शुक्रबार(आज) राष्ट्रियस्तरका कलाकारले साँगीतिक कार्यक्रम प्रस्तुत गर्ने र शनिबार(भोलि) मेला समापन कार्यक्रम हुने बताइएको छ ।
यसैबीच, उधौली पर्व ­(चासोक तङ्नाम) किराँत समुदायले धुमधामकासाथ मनाएका छन् ।

सो पर्व अन्तर्गत लिम्बू समुदायले चासोक तङनाम, किराँत राईहरुले साकेला, सान्केवा, किराँत यायोक्खाहरुले चसुवा र किराँत सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गरेका छन् । शिवसताक्षीमा पनि यसवर्ष दुई दिनसम्म भव्य रुपमा चासोक तङ्नाम मनाइएको छ । शिवसताक्षीका धरमपुर र दूधेमा किराँत याक्थुम चुम्लुङको आयोजनामा बुधबारबाट सुरु भएको पर्व अन्र्तगत शुक्रबार नुवागी पूजा गरी विभिन्न मौलिक संस्कार र संस्कृति झल्कने गरगहना, भेषभूषामा सजिएका लिम्बू सम्ुदायसहित अन्य समुदायको पनि उल्लेख्य सहभागिता थियो । मौलिक घर, लिम्बू समुदायले प्रयोग गर्ने हातहतियार, बाजा गाजा, हलो, जुवा, कोदालो, कोक्रो र विभिन्न सामाग्रीहरु संग्रहित गरिएको छ । सो अवसरमा उपस्थित अतिथिहरुलाई मौलिक खानाका परिकारहरुले स्वागत गरिएको थियो । चासोक तङ्नाम तथा उधौली पर्व पहिला एकाघरमा मनाउने प्रचलन रहेपनि पछिल्लोसमय सामूहिक रुपमा मनाउन थालिएको हो । आधिनकालमा कुनै पात्रो र समय हेर्ने घडि नभएको अवस्थामा जब प्रकृतिमा पैउ पुल फुन्न शुरु हुन्छ साथै अन्नबालीहरु पाक्न थालेपछि उधौली पर्वको रुपमा मनाउन थालीएको धरमपुरमा सम्पन्न चासोक तङनामका प्रमुख अतिथि समेत रहेका मुन्धुम खोज अनुसन्धानकर्ता डिपी आङबुहाङ लिम्बुले बताए । त्यसैगरी, दुधेमा सम्पन्न चासोक तङ्नामका प्रमुख अतिथि संघीय सांसद् एलपी साँवाले पर्वमा लिम्बुले नेपाल बहुजाति, बहुसाँस्कृतिक भएको राष्ट्र भएकाले आफनो संस्कार संस्कृतिको सबैले संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । यस पर्बको लागी सरकारले समेत राष्ट्रिय बिदा दिएकोले हर्षउल्लासका साथ मनाउनु पर्ने बताए । पर्बको दोस्रो दिन आज लिम्बु जातिहरुको परम्पारगत नुवागी पूजास“गै हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रस्तुति संगै छेलो हन्ने र धनुषकाँड हान्ने प्रतियोगिता समेत सम्पन्न भएको आयोजकले जनाएको छ । साथै शिबसताक्षीको दुधेमा भने राष्ट्रिय कलाकारहरु प्रमोद खरेल ,भ्वाइस अफ नेपालका बिजेता राम लिम्बु र टप ४ बिकास लिम्बुको समेत प्रस्तुति रहेको छ । त्यसैगरि बिहीबार गौरादह १ स्थित सितापुरीमा पनि युमा माङ समाजको आयोजनामा चासोक तङनाम मनाइएको छ ।सो अवसरमा लिम्बु संस्कार संस्कृति झल्कने मौलीक पहिरन गरगहना लगाएर आफ्नो संस्कृति जगेर्ना गर्न चासोक तङनाम मनाउन सुरु गरिएको स्थानीय नरबहादुर लिम्बुले बताए । नगरप्रमुख रोहितकुमार साहको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विविध सांस्कृतिक पहिचान झल्कने कार्यक्रम गर्दै मनाएको हो ।पहिलोपटक यसरी समाुहिक रुपमा मनाउन थालिएको यो पर्ब लाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया