महोत्सवको तयारी पूरा

डम्बर बराल

धुलाबारी / मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगरको धुलाबारीमा हुन लागेको तेस्रो अंन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ ।

आयोजक समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी बारेमा जानकारी गराएको हो । मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्व तथा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलन आयोजना गरिएको थियो । सो अवसरमा अध्यक्ष तिम्सिनाले आगामी पुस ९ गतेदेखि सुरु हुने महोत्सवको तयारी पूरा भएको बताए । व्यापार तथा मेचीनगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए । अध्यक्ष तिम्सिनाले आयातलाई प्रतिस्थापन गर्न र स्थानीय उत्पादनलाई बढावा दिन महोत्सवले सहयोग गर्ने धारणा राखे ।

महोत्सवमा नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट १ लाख ५० हजार पर्यटकले सहभागी भएर अवलोकन गर्ने उनको दावी छ । महोत्सव सफल पार्न करिब ६० लाख रुपैयाँ खर्च हुने र सो रकम टिकट तथा स्टल बिक्रीबाट, विभिन्न उद्योग तथा औद्योगिक प्रतिष्ठान र मेचीनगर नगरपालिकाबाट प्राप्त हुने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विमल आचार्यले यहाँको उत्पादनलाई बजारीकरण गर्न र सम्भाव्यतालाई कार्यान्वयन गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे । महोत्सवले भारत तथा तेस्रो मुलुकसँग दोहोरो सम्पर्क स्थापित गर्ने भएकाले यहाँको उत्पादनलाई अंन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात बढाउन सकिने बताए । नगर प्रमुख आचार्यले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा नीतिगत समस्या रहेकाले त्यसलाई सरकारले संशोधन गरेर सहज बनाउनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले भारतसँग सीमाना जोडिएको झापा जिल्ला विभिन्न कारणले पछि परेको भन्दै महोत्सवले मेचीनगर मात्र नभई झापा जिल्लाको विकास र प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्ने बताए । सरकारले स्पेशल एकाडेमी जोनको रुपमा झापालाई यसअघि घोषणा गरेको भएपनि पछिल्लोसमय विराटनगरमा सारेको र चाईनासँग व्यापार गर्न यसै क्षेत्रबाट सडक विस्तार गर्ने निर्णयबाट सरकार पछि हटेकोले झापावासीले अवसर गुमाउनु परेको बताए ।

उनले यहाँको १ सय २६ प्रकारका कृषिजन्य उत्पादनलाई बंगलादेश निर्यात गर्ने निर्णय भएको भएपनि नेपाल सरकारले निर्यात प्रक्रियामा भएका नीतिगत समस्यालाई समाधान नगर्दा निर्यात हुन नसकेको बताए । मेचीनगर उपप्रमुख मीना उपे्रतीले नगरले पर्यटन वर्ष २०२० लाई सफल पार्न मेचीनगरको पहिचान झल्कने गरी महोत्सवको तयारी गरिने बताइन् । उनले महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँका पर्यटकीय स्थलहरुका बारेमा जानकारी समेत गराईने बताइन् । संघका पूर्व अध्यक्ष विजय डालमियाले बंगलादेश, भारत, भुटानलगायतका अन्तर्राष्ट्रिय मुलुकमा नेपाली उत्पादनलाई पुर्याउन त्रिदेशीय सम्बन्ध स्थापित गर्न महोत्सव फलदायी हुने बताए । उनले महोत्सवलाई पूर्णरुपमा सफल पार्न सर्वपक्षीय सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

महोत्सवमा २ सयवटा स्टल राखिने र सबै बुक भइसकेको समितिले जनाएको छ । महोत्सवमा कृषिउपज विभिन्न खाद्यान्न तथा कृषि औजार, अटो मोवाईल, बैँक, वित्तिय संस्था तथा अन्तर्राष्ट्रिय उत्पादनका विभिन्न सामाग्री स्टलमा रहने छन् । महोत्सवमा आकर्षणको केन्द्र भने हेलिकोप्टर हुनेछ । आयोजकले ६ हजार रुपैयाँमा हेलिकोप्टरबाट झापा जिल्लाको अवलोकन गराउने भएको छ । योसँगै महोत्सवमा राष्ट्रिय कलाकारहरुले सहभागीहरुको भीँड बढाउने निश्चित छ । भारत, पाकिस्तान र बंगलादेशले महोत्सवमा सहभागिता जनाउने भएका छन् । अन्तर्राष्ट्रिय व्यापारका लागि २५ वटा स्टल बुक भएको समितिले जनाएको छ । झापा जिल्लाका १५ वटै स्थानीय तहमा उत्पादन भएका कृषिउपजलाई प्राथमिकता दिएर प्रचार–प्रसारमा समिति जुटेको छ । महोत्सवमा विभिन्न कृषि प्रदर्शनी, खेल सामाग्री तथा साँगीतिक कार्यक्रम हुनेछ भने आयोजकले विभिन्न विषयमा गोष्ठि समेत आयोजना गर्ने भएको छ । ‘आर्थिक समृद्धि, क्षेत्रीय सम्भावना र चुनौति’ विषयक गोष्ठिमा अच्यूत वाग्लेले सम्भाषण दिनेछन् । त्यस्तै, १४ गते ‘चिया र रबर खेतीको सम्भावना र चुनौति’ विषयक गोष्ठि हुनेछ । महोत्सवमा कलाकारहरुको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाउने भएकाले मानिसहरुको भीँड बढ्ने साँस्कृतिक कार्यक्रम तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक तथा सम्मेलनका सञ्चालक ध्रुव कनालले जानकारी दिए ।

आयोजकले अवलोकनकर्ताका लागि प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरेको छ भने महोत्सवमा समूहगत रुपमा विद्यालय पोशाकमा आउने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट तथा वृद्धभत्ताको परिचयपत्रसहित उपस्थित हुने ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरेको छ । धुलाबारी मोडबाट उत्तर तर्फको ४ बिघा क्षेत्रफलमा घेरावारा सहित महोत्सव स्थल सिँगारिएको छ । पुस १७ गतेसम्म लाग्ने महोत्सवको उद्घाटन एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । यसअघि संघले धुलाबारीमै २०७० सालमा दोस्रो महोत्सव र त्यसअघि बिर्तामोडमा पहिलो महोत्सव आयोजना गरेको थियो । पत्रकार सम्मेलनअघि आयोजक समितिले विभिन्न संघ–संस्था, राजनीतिक दल, प्रहरी प्रशासन, मेचीनगर नगरपालिका तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।