मखमली साकोसको नाफा ४ लाख बढी

काँकरभिट्टा / मखमली महिला बचत तथा ऋण सहकारी सँस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ४ लाख ३६ हजार ५ सय ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

काँकरभिट्टा खानेपानी संस्थाको सभा कक्षमा आइतबार सम्पन्न सँस्थाको ११ आंै वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सँस्थाले विभिन्न शीर्षकमा परिचालन गरेको लगानीबाट उक्त मुनाफा आर्जन गरेको उल्लेख छ ।

संस्थामा हाल ४ सय ६ जना महिला र १ सय ३ जना पुरुष गरी ५ सय ९ जना शेयर सदस्य छन् भने ४ लाख १९ हजार ५ सय शेयर पूँजी रहेको अध्यक्ष राधा प्रधान (कार्की) द्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि आचार्यले सहकारीले सञ्चालन गरेको फिजियोथेरापी क्लीनिक सञ्चालनका लागि ५० हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गर्ने घोषणा गरे । त्यसक्रममा उनले फिजियोथेरापी क्लीनिकको व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सहकारी संस्थाकी अध्यक्ष राधा प्रधान(कार्की) को सभापतित्वमा भएको सभाको उद्घाटन सत्रमा विशेष अतिथि जिल्ला सहकारी संघका सदस्य दुर्गाप्रसाद सापकोटा, गृहलक्ष्मी साकोसकी उपाध्यक्ष रेणुका डाँगी, काँकरभिट्टा साकोसका अध्यक्ष भूपाल शिवाकोटी, मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष बिना तामाङ, समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक दिलकुमार प्रधान, उत्कृष्ट ऋणि रिना राजवंशी र उत्कृष्ट बचतकर्ता सुशीला सापकोटा(खरेल) लाई जनही १ हजार रुपैयाँ नगद राशीसहित सम्मान पत्रद्धारा सम्मान गरियो । पछिल्लोसमय सदस्य हितका कार्यक्रमलाई प्राथमिकता दिँदै युवा तथा साना व्यवसायी स्वरोजगार कोष निर्माण गरी सुलभ ब्याज दरमा ऋण प्रवाह गर्दे आएको संस्थाका लेखा समिति सदस्य मणिकुमार लिम्बूले जानकारी दिए ।

उनका अनुसार संस्थाले विगत १ वर्षदेखि फिजियोथेरापी क्लीनिक सञ्चालन गरेर स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । कार्यक्रममा लेखा प्रतिवेदन लेखा समिति संयोजक तुलसीप्रसाद निरौला, शिक्षा तथा तालिम प्रतिवेदन संयोजक भुवन सुब्बाले र महिला विभागको प्रतिवेदन सीता गुरुङले प्रस्तुत गरेकी थिईन ।

उपाध्यक्ष भुवन सुब्बाले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सदस्य सीता गुरुङले गरेकी थिईन ।

तपाईको प्रतिक्रिया