बट्टाई पालक किसान भन्छन्– ‘अनुदान हैन प्राविधिक सीप देऊ’

पुष्प बराल
बिर्तामोड / मेहनत गर्ने हो भने जुनसुकै पेशाबाट पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्–बिर्तामोड ६, का राजन गौतमले ।
चरा पालेकै भरमा मासिक करिब ८० हजार रुपैयाँ आम्दानी गरेर उनले यस्तो उदाहरण प्रस्तुत गरेका हुन् । गौतम व्यवसायीक रुपमा बट्टाई जातका चरा पालेर स्वरोजगार बनेका छन् ।
वैदेशिक रोजगारका क्रममा ७ वर्षभन्दा बढी समयअवधि विभिन्न खाडी मुलुकमा पसिना बगाउँदा समेत सोचेजस्तो कमाई हुन नसकेपछि उनी घर फर्किएका थिए ।
नेपालमै पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ नेपाल फर्किएपछि राजनले दाजुको सहयोगमा नेपालका चर्चित ह्याचरीको भ्रमण गरी बट्टाई पाल्ने सोच बनाएका थिए ।
यस्तो व्यवसाय सञ्चालन गर्नेभन्दा सुरुका दिनमा गाउँले समेत अचम्ममा परेको उनी सम्झिन्छन् । त्योबेला आफूले उत्पादन गरेको बट्टाई बजारमा बिक्री गर्न लैजाँदा समेत कसैले वास्ता नगरेको सुनाउँदै उनले भने–‘यसको महत्व बुझेपछि अहिले बजारमा माग बढ्दै गएको छ ।’
विदेशमा अर्काको गुलामी गर्नुभन्दा परिवारसँगै बसेर मेहनत गर्दा अझ बढी आम्दानी गर्न सकिने उनको अनुभव छ । ‘स्वस्तिक कृषि फर्म’ दर्ता गरेर बिर्तामोड–६ को बुट्टाबारीमा उनले व्यवसायीक रुपमा बट्टाइलगायतका चरा पाल्दै आएका छन् ।
५ वर्षअघि चितवनबाट ३ सयवटा चल्ला ल्याएर उनले फर्म सञ्चालनमा ल्याएका थिए । करिब २ लाख रुपैयाँको लागतमा सुरु गरिएको फर्ममा अहिलेसम्म २५ लाख रुपैयाँभन्दा बढी रकम लगानी भईसकेको छ । ‘डेढ बिगाहमा जग्गामा फर्म निर्माण गरी सञ्चालन गरेको छु’ उनले भने–‘बट्टाई प्रतिगोटा १ सय ५० रुपैयाँमा बेच्दैछु ।’
बट्टाइसँगै ह्याचरी सञ्चालन गर्न उनले २० लाख रुपैयाँको लागतमा टहरा बनाएर कुखुरा पनि पालिरहेका छन् । योसँगै उनले बंगुर र माछा पाल्दै आएका छन् । निकट भविष्यमा मौरी पालन व्यवसाय सुरु गर्ने सोच बनाइएको उनी सुनाउँछन् । त्यसका लागि आवश्यक तालिम लिने उनले बताए । गर्दै आएको व्यवसाय नाफामा गएको उनी बताउँछन् ।
सुरुमा बिक्री गर्न होटलहरुमा सम्पर्क गर्दा उपभोक्ताले ‘बट्टाई पनि खाने हो’ भन्दै अस्वीकार गरेको अनुभव उनले सुनाए । ‘धेरै उपभोक्तालाई त बानी पार्न मैले फ्रिमा पनि ख्वाएँ’ गौतमले भन्छन्–‘एकपटक उपभोग गर्ने उपभोक्ताले फेरी पनि बट्टाइ खोज्ने गरेका छन् ।’
अहिले झापाका होटलहरुमा यसको माग उल्लेख्य मात्रामा बढेको र दिनानुदिन बट्टाईको मासु खाने उपभोक्ता समेत बढ्न थालेका छन् । गौतमले भने–‘ बट्टाइसँगै त्यसको अण्डा पनि बिक्री गर्दै आएका छौं ।’
बट्टाईका लागि कुखुराकै दाना खुवाउँदै आइएको बताउँदै उनले चितवनबाट दाना आयात गर्ने गरिएको बताउँछन् । यो पेशा सम्बन्धि उनीसँग प्राविधिक ज्ञान भने छैन । अरुले गरेको देखेकै भरमा बट्टाई पाल्न थालेको उनी सुनाउँछन् । ‘स्थानीय तहले कृषि क्षेत्रमा धेरै बजेट छुट्याएको सुनेको छु’ गौतमले भने–‘मजस्ता किसानलाई पैसा होईन प्राविधिक सीप दिइयोस्, मेरो अपेक्षा यही छ ।’
जनप्रतिनिधिहरु धेरै पटक आफ्नो घरमा आएको सुनाउँदै उनले थपे–‘तर, अहिलेसम्म कतैबाट पनि सहयोग भने पाएको छैन ।’ ‘वैदेशिक रोजगारीबाट कमाएको पैसाले गाडी किनेको थिएँ, त्यो गाडी पनि बेचेर यसैमा लगानी गरेको छु’ गौतमले भने–‘सानो घडेरी किनेको थिएँ, त्यो पनि बेचेर यसमै लगानी गरेको छु ।’
बट्टाई पालेर सफल भएका उनी कुखुरा, टर्की र कडकनाथ जातका कुखुरा पाल्ने योजनामा छन् । त्यसका लागि खोर तयार भइसकेको बताउँदै केहीसमयपछि अन्य युवालाई समेत रोजगारी दिन सक्ने बताउँछन् । अहिले पनि स्थानीय केही युवाले रोजगार पाएका उनको भनाई छ ।
आफूले बट्टाई पालन व्यवसाय सुरु गर्नुअघि पनि झापाका बजारमा बट्टाईको मासुको खपत भएपनि अधिकाँश होटलमा भारतबाट आयातित बट्टाईको मासु बिक्री हुने गरेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया