पर्यटन प्रवद्र्धनमा फड्को मार्दै मेचीनगर

विमर्श उप्रेती/डम्बर बराल

मेचीनगर / समयक्रम र बद्लिँदो परिवेशसँगै पूर्वी नेपालको सीमावर्ती क्षेत्र मेचीनगर क्षेत्रका विभिन्न स्थानले पर्यटकीय गन्तव्यका रुपमा काँचुली फेर्न थालेका छन् ।

नेपाल र भारत छुट्याउने सीमा नाका, साहित्य नगरी, होटलको शहरजस्ता अनेकन परिचयले चिनिदै आएको काँकरभिट्टा शहरको परिचय पछिल्लोसमय पर्यटकीय हबका रुपमा फेरिएको हो ।

नेपाल र भारतका मात्र नभई यस नाकाबाट आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने पर्यटकीय वातावरण निर्माणसँगै काँकरभिट्टा आकर्षक पर्यटन गन्तव्य बन्न पुगेको हो ।

नेपाली साहित्य जगतका शिखर व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा निर्माण गरिएको मेचीनगर–६ स्थित देवकोटा पार्क परिसरको मुहार फेरिएसँगै पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा रुचाउन थालिएको छ ।

करिब एक दशकअघिसम्म लागुऔषध प्रयोगकर्ता र फोहोर फ्याँक्ने अखडा बनेको देवकोटा पार्क संरक्षणको अभावमा सुन्दर काँकरभिट्टा निर्माणका लागि चुनौतिका रुपमा उभिएको थियो ।

पार्क परिसरमा निर्माण गरिएको महाकवि देवकोटाको अर्धकदको शालिक उछृङ्खल युवाको समूहबाट पटक–पटक तोडफोड हुनु, चौपायाको चरन क्षेत्र बन्नु, सरसफाई नहुँदा र आवश्यक मर्मत तथा सम्भार हुननसक्दा कुरुप बन्न पुगेको थियो । सो पार्क परिसरलाई व्यवस्थित गरी नमूना पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित २०७२ सालमा स्थानीय युवा गणेश खरेलको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन भएको थियो ।

समितिको सक्रियतासँगै देवकोटा पार्कको मुहारमा आमुल परिवर्तन भएको छ । पार्कलाई सुन्दर र हराभरा बनाउने अभियानमा स्थानीय सामाजिक व्यक्तित्व बालकृष्ण थापा अध्यक्ष रहेको देवकोटा जयन्ती मूल समारोह समितिको समेत उत्तिकै योगदान रहँदै आएको छ । पार्क क्षेत्रमा निर्मित देवकोटाको पूर्णकदको प्रतिमा, सुन्दर बरबगैंचा, बालबालिकाका लागि विभिन्न खेल सामाग्री र उद्यानले आन्तरिक पर्यटकको घुईंचो दिनानुदिन बढ्न थालेको पार्क व्यवस्थापन समितिका सचिव शेखरकाजी थापाले बताए ।

काँकरभिट्टा मात्र नभई सिँगो मेचीनगरको मुहार फेर्न विभिन्न सामाजिक संघसंस्थाको सक्रिय भूमिका रहँदै आएको पार्क व्यवस्थापन समितिका अध्यक्ष खरेल बताउँछन् । उनी भन्छन्–‘पार्कलाई सुन्दर बनाउने अभियानमा सिँगो समिति तल्लिन छ, काँकरभिट्टा वरिपरीका क्षेत्रलाई सुन्दर बनाउन स्थानीय संघसंस्था र वडा कार्यालय अग्रसर बनेको हामीले पाएका छौं ।’

सो पार्कमा वर्षेनी मनाइँदै आइएको देवकोटा जयन्ती समारोह सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न २ चरणमा गरी हालसम्म मेचीनगर नगरपालिकाले १ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

पार्क व्यवस्थापन समितिका सचिव फडिन्द्र घिमिरेका अनुसार भर्खरै सम्पन्न देवकोटा जयन्ती समारोहका लागि नगरपालिकासँग ६० हजार रुपैयाँको सम्झौता भएको छ ।

स्थानीय तहको निर्वाचनअघि नगरपालिकाले पार्कको विकासका लागि विभिन्न शीर्षकमा गरी पहिलो चरणमा ९ लाख र दोस्रो चरणमा १४ लाख रुपैयाँ बजेट दिएको उनको भनाई छ ।

पार्कको विकासमा सघाउ पुर्याउने उद्देश्यले मेचीनगर ६ नम्बर वडा कार्यालयले गतवर्ष र यसवर्ष गरी दुई चरणमा २ लाख रुपैयाँ बजेट उपलब्ध गराएको वडा अध्यक्ष ललितबहादुर तामाङले बताए । उनले भने–‘चाँडै नगरपालिकासँग समन्वय गरेर वीपी–पुष्पलाल वाटिका तथा शहिद स्मृति प्रतिष्ठानमा सीसी क्यामरा जडान गर्ने योजना अघि सारेका छौं ।’

सहरी डिभिजन कार्यालय इलामले पनि तीन वर्षअघि पार्क परिसरमा हावा घर निर्माण प्रयोजन शीर्षकमा ३ लाख रुपैयाँ दिएको र पर्यटन कार्यालय काँकरभिट्टाबाट शौचालय निर्माणका गर्न लागत सहभागितासहित ५ लाख रुपैयाँ प्राप्त भएको पार्क व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै, पार्क परिसरमा वृक्षारोपण, रंगरोगन, स्टिल फल सिलिङ, जिप्सन, मार्वल, रेलिङ निर्माणलगायत निर्माणका लागि एक नम्बर प्रदेश सरकारबाट ७ लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ ।

त्यस्तै, मेचीनगर–६ काँकरभिट्टास्थित वीपी–पुष्पलाल वाटिका तथा शहिद स्मृति प्रतिष्ठानले समेत पर्यटकहरुलाई आकर्षित गर्न थालेको छ । नगर क्षेत्रका बालबालिका र युवा वर्ग मात्र नभई ज्येष्ठ नागरिकको ध्यान खिचेको छ उक्त पार्क परिसरले ।

रमणीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको वाटिका युवा वर्ग र ज्येष्ठ नागरिकको दिनभरको तनाव र थकान मेटाउने थलो बन्न पुगेको छ । सो क्षेत्रमा निर्माण गरिएको सुन्दर बगैंचा , नागबेली परेका गोरेटा बाटाहरु, विभिन्न प्रजातिका विरुवा र चराचुरुङगी बस्ने घर निर्माण गरिँदा घुमघामका लागि आएकाहरु लोभिने गरेका छन् ।

सो क्षेत्रमा साँझ ५ देखि राती १० बजेसम्म नेपाली लोक संस्कृतिको आभाष गराउने राष्ट्रिय तथा लोक गीत र धुनहरु बजिरहँदा त्यहाँ पुग्नेहरुले आनन्दको अनुभूति गर्ने गरेका समितिका अध्यक्ष तामाङ बताउँछन् ।

त्यस क्षेत्रमा घुम्न आउनेहरुका लागि सो क्षेत्रमा वाईफाईको समेत निःशुल्क व्यवस्था गरिएको समितिले जनाएको छ । केहीवर्ष अघिसम्म उराठ लाग्दो झाडी र लागुऔषध पदार्थ सेवनकर्ताको अखडा रहेको सुख्खा डाँडोलाई रमणीयस्थल बनाउन वीपी–पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठान समितिको योगदान रहँदै आएको छ ।

‘काँकरभिट्टा क्षेत्रको मुहारलाई सुन्दर बनाउने लक्ष्यका साथ हामीले अभियान थालेको हौं, बाह्य पर्यटकहरु नेपाल भित्रिनासाथ काँकरभिट्टाले नेपालको सुन्दरता झल्काउन सकोस् भन्ने हाम्रो चाहना हो’ उनले भने–‘यदी शिर र मस्तिस्क नै राम्रो भएन भने शरीरका अरु अंग राम्रो भएर केही काम हुँदैन, काँकरभिट्टा नेपालकै शिर र मस्तिस्क हो ।’

‘बाह्य पर्यटकहरुले काँकरभिट्टामा पाईला टेक्दैगर्दा नेपालको सुन्दरता महसुस गर्न पाउनुपर्छ’ तामाङले थपे–‘यो अभियानले मेचीनगर क्षेत्रको व्यापार व्यवसाय प्रर्वद्धनमा समेत ठूलो सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

‘काँकरभिट्टा प्रवेश गरेका पर्यटकहरु रातीको समयमा घुमफिर गर्न नपाउँदा उनीहरु विश्रामका लागि अन्यत्र भौतारिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’ उनी भन्छन्–‘आगन्तुक पाहुना÷पर्यटकहरुलाई काँकरभिट्टामै राखेर सन्तुष्ट राख्ने अभियानमा सबैको सहयोग छ ।’

वाटिका निर्माणका लागि पर्यटन कार्यालय काँकरभिट्टाबाट ५ लाख, ६ नम्बर वडा कार्यालयबाट ५० हजार, मेचीनगरपालिकाबाट ७ लाख र प्रदेश सरकारबाट १६ लाख ८० हजार रुपैयाँ बजेट प्राप्त भएको उनले बताए । काँकरभिट्टालाई हरेक क्षेत्रबाट सिँगारेर थप सुन्दर र आकर्षक बनाउन बस पार्क क्षेत्र समेत आकर्षक बनाइएको छ । बस पार्क क्षेत्रमा निर्माण गरिएको सुन्दर बगैंचा, बिजुली बत्तिसहितको वाटर फाउन्टेनले यात्रु र पर्यटकलाई आनन्दित बनाएको छ भने रातीको समयमा उक्त ठाँउको दृष्यले थप आनन्द तुल्याउने गरेको छ ।

सो क्षेत्र निर्माणका लागि राजु कार्कीको अध्यक्षतामा समिति निर्माण गरेर अभियान थालिएको छ । त्यसैगरी, वन क्षेत्रलाई पर्यटन गन्तव्य बनाउन र दीर्घकालिन आम्दानीको श्रोत निर्माणका लागि सामुदायिक वन समिति प्रतिस्पर्धात्मक रुपले आ– आफ्ना वन क्षेत्रको विकासमा जुटेका छन् । मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वन पछिल्लोसमय पिकनिक स्पर्टका रुपमा वन विकास गर्न अग्रसर बनेको छ ।

१ सय ९० हेक्टर क्षेत्रफलमा फैलिएको उत्त सामुदायिक वनमा सखुवा जातका रुख नभएपछि आम्दानीको आन्तरिक श्रोत भने कमजोर छ । समितिले यस क्षेत्रको विकास गर्न प्रदेश सरकारबाट तीनपटक गरी ४५ लाख र मेचीनगर नगरपालिकाबाट १० लाख रुपैयाँ अनुदान पाएको छ । सो रकमबाट समितिले ड्राईगन र हात्तिको डमी खरीद गरेको छ भने वनभोजका लागि आउनेहरुको सुविधाका लागि ३ वटा कटेज र आकर्षक पार्क र काठको त्रिवेणी पुल समेत निर्माण गरेको समितिकी सचिव जानुका ओलीले बताइन । समितिले आगामी दिनमा रुख कटेज, बेलको जुस उत्पादन केन्द्र र मनोरेलसहितको डिपिआर निर्माण गरेर कार्यक्रम अगाडि बढाएको उनी बताउँछिन् ।

सो क्षेत्रमा पछिल्लोसमय पिकनिक खान आउने आन्तरिक पर्यटकहरुको उपस्थित बाक्लिँदै गएको समितिले जनाएको छ । खुट्टेडाँगी सामुदायिक वनले सीमसार र चिल्ड्रेन पार्क निर्माण गरेर पर्यटकहरुलाई आकर्षित गर्न थालेको छ । समितिले सीमसारमा २ वटा डुङ्गा सञ्चालनमा ल्याएको छ ।

डुङगामा रमाईलो गर्न र चिल्ड्रेन पार्कमा बालबालिकाहरुलाई घुमाउन दैनिक रुपमा आन्तरिक पर्यटकहरु आउने गरेका कार्यालय सचिव राजु धिमालले बताए । सो क्षेत्रमा भौतिक संरचना निर्माणका लागि हालसम्म प्रदेश सरकार, मेचीनगरपालिका र वडा गरी ३२ लाख रुपैयाँ रकम प्राप्त भएको र बाँकी काम सम्पन्न गर्न थप ६० लाख रुपैयाँ आवश्यक रहेको समितिका अध्यक्ष टंकबहादुर नेपालले बताए । ११. ३४ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सालका रुखहरु रहेका छन् ।

त्यसैगरी, १ सय ४८.३९ हेक्टर जमिन क्षेत्रफलमा फैलिएको बाँसबारी सामुदायिक वनमा समितिले १४ हेक्टर जमिन क्षेत्रफललाई पर्यटकहरुको रोजाईको केन्द्रका रुपमा विकास गरेको छ । ३ हेक्टर क्षेत्रफलमा निर्माण गरिएको पोखरी, अस्ट्रिज र इमो चरासँगै दुम्सी, अजिंगर, हरिण, मयूर र खरायो नै यस क्षेत्रका पर्यटक आकर्षणका केन्द्र हुन् ।

समितिले यसको विकासका लागि पूर्व धाईजन गाविसबाट २ लाख र मेचीनगर नगरपालिकाबाट ४ लाख ५० हजार र प्रदेश सरकारबाट ५० लाख रुपैयाँ अनुदान प्राप्त गरेको समितिका अध्यक्ष शम्भू राजवंशीले बताए । सो क्षेत्रको विकाससँगै हाल दैनिक २ सयको हाराहारीमा आन्तरिक पर्यटकहरु घुम्न आउने गरेका राजवंशी बताउँछन् ।

बाँसबारी क्षेत्रबाट नजिकै रहेको कालिका सीमसार क्षेत्रले समेत आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको छ । ३ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त क्षेत्रमा राखिएको हरिण, गिद्ध, बँदेल, चरी बाघ, बेलाईती मुुसा र लाट कोसेरो हेर्न विभिन्न क्षेत्रबाट मानिसहरु आउने गरेको समितिका अध्यक्ष योगेश भट्टराईले बताए ।

योसँगै समितिले पोखरी निर्माण गरेर घुम्न आउनेहरुलाई नौका बिहार समेत गराउने गरेको छ । समितिले १३ हेक्टर क्षेत्रफलमा सुन्दर बगंैचासँगै माछापोखरी, रवर प्लाण्ट र ओभर ब्रिज समेत निर्माण गरेको छ । सो क्षेत्रको विकासका लागि समितिले मेचीनगर, प्रदेश सरकार, डिभिजन वन कार्यालय र भू–संरक्षण कार्यालयबाट विभिन्न समयमा अनुदान प्राप्त गरेको समितिले जनाएको छ ।

यस्तै, मेचीनगरको मुटु इटाभट्टाबाट अढाई किलोमिटर उत्तर पूर्वमा अवस्थित पातालगंगा क्षेत्र प्राचिन सभ्यता र संस्कृति बोकेको धार्मिक र पर्यटकीय क्षेत्र हो । तर, आर्थिक अभावका कारण समुचित व्यवस्थापन हुननसक्दा र प्रभावकारी प्रचार–प्रसार नहुँदा त्यस क्षेत्रको विकास भने हुन सकेको छैन । अविरल रुपमा बगिरहने पानीको धारा, अग्ला÷होचा डाँडा, पश्चिम–उत्तरतर्फ फैलिएको हरियाली चिया बगान र पूर्वमा नागबेली रुपमा बगेको घैलाडुब्बा खोलाले यस क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने गरेको घैलाडुब्बा देवी तथा शिवालय मन्दिर संरक्षण समितिका अध्यक्ष चन्द्र कोईरालले बताए ।

मेचीनगरको पूर्वोत्तर क्षेत्रमा रहेको कृष्णथुम्की धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गएको छ । यस क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ । नेपाल तथा भारतीय क्षेत्रका धार्मिक व्यक्तित्व एवं पर्यटकहरु अन्य समयमा पनि घुम्न आउने गरेका समितिका अध्यक्ष महेन्द्र मल्लले बताए ।

‘पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय सरकारले विशेष महत्वका साथ कार्यसम्पादन गर्दैछ’ मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले भने–‘त्यसमा पनि नेपालको पूर्वी सीमावर्ती क्षेत्रमा पर्ने मेचीनगर नेपालको सन्देश संसारभर फैलाउन प्रयत्नशील छ ।’

पर्यटन भ्रमण वर्षलाई लक्षित गरी नगरका पर्यटकीयस्थलको पहिचान गरेर ती स्थानमा भौतिक संरचना निर्माण, ती स्थलको उचित संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन, प्रचार–प्रसारलगायतका लागि नगरपालिकाले बजेट विनियोजनसँगै अन्य आवश्यक तयारीमा जुटेको नगरप्रमुख आचार्यले बताए ।

……………………….