आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी: अधिकारी

डम्बर बराल

काँकरभिट्टा / नेफ्सकुनका केन्द्रीय सदस्य तथा बचत संघ झापाका सदस्य घनश्याम अधिकारीले मुलुकको आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी भएको बताएका छन् ।

आधुनिक बचत तथा ऋण सहकारी संस्था(आबस)को आठौं वार्षिक साधारणसभाको उद्घाटन गर्र्दे उनले यस्तो बताएका हुन् ।

‘गाउँ–गाउँमा सहकारी, घर—घरमा रोजगारी’ भन्ने नीति सरकारले अघि सारेसँगै सहकारी संस्था बढेर संस्था धराशायीको अवस्थामा पुगेको प्रमुख अतिथि अधिकारीको भनाई थियो ।

उनले सरकार भरपर्दाे सहकारी नीति तथा कानुन ल्याउने प्रक्रियामा अघि बढेको चर्चा गर्दै सहकारी मजबुत बन्न सके मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

सभाको उद्घाटन सत्रमा उनले सहकारीहरुबीच सहकार्य मात्र नभई एकता हुनुपर्नेमा जोड दिँदै एक सहकारी, एक सदस्य सहकारी नीति अनिवार्य रुपमा कार्यान्वयनमा ल्याईने बताए । ‘आर्थिक रुपमा कमजोर सहकारी अब ‘मर्ज’ हुनुको विकल्प छैन’–अधिकारीले भने ।

सभाको खुल्ला सत्रमा काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल शिवाकोटीले सहकारी संस्थाहरु बीच प्रतिस्पर्धा नभई सहकार्य हुनु आवश्यक रहेको बताए

उनले समाजवादी आन्दोलनको एउटा हिस्सा सहकारी भएको उल्लेख गर्दै सहकारी संस्थाले सदस्यहरुको जीवनस्तर उकास्ने खालका उद्यमशील कार्यक्रम ल्याएर त्यस क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा डिल्लीराम घिमिरे, सल्लाहकार सदस्य माधव अर्याल, सञ्चारकर्मी ज्ञानेन्द्र निरौलालगायतले शुभकामना व्यक्त गरे । संस्थाका अध्यक्ष अंगतबहादुर थापाको अध्यक्षतामा भएको सभाको उद्घाटन सत्रमा अध्यक्ष थापाले सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ३१ लाख ४९ हजार ९ सय ५१ रुपयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन प्रस्तुत गरे ।

२०६८ मंसीर ७ गते ४७ जना शेयर सदस्यहरुको ४७ हजार रुपैयाँ शेयर पूँजीबाट सुरु भएको सहकारीमा हालसम्ममा ६ हजार ४३ शेयर सदस्य छन् भने १ करोड ४२ लाख रुपैयाँ शेयरपुूँजी पुर्याउन सफल भएको विवरण अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले आगामी आर्थिक वर्षमा सदस्य राहत तथा उपचार सेवा, महिला सदस्यहरुलाई प्रसुति सहयोग सेवा, विद्यार्थी छात्रवृत्ति सेवा तथा सदस्यहरुको बिल भुक्तानी सेवालगायतका नयाँ कार्यक्रम समेत प्रस्ताव गरेको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ ओमनाथ भण्डारी, नानीमायाँ मगर, गणेशबहादुर अधिकारी, त्रिलोचन सिग्दी, निलम शर्मा अर्याल तथा उत्कृष्ट ऋणितर्फ सुनिल गौतम, फुलमायाँ शेर्पा, सुमित्रा हेमरम, र सूर्य अधिकारीलाई नगदसहित सम्मान पत्रद्धारा सम्मान गरियो । त्यसैगरी, सहकारी संस्थाले उत्कृष्ट ज्येष्ठ सदस्यका रुपमा नरबहादुर अधिकारी र यामप्रसाद ढुंगेललाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट शैक्षिक पुरस्कार कपिल पोखरेल, कृषा ओली र दिया लिम्बूलाई प्रदान गरियो । त्यस्तै, उत्कृष्ट कर्मचारीतर्फ काँकरभिट्टा कार्यालयकी कार्यालय सहायक मीना तामाङ र बजार प्रतिनिधि कविता खड्का सम्मानित भए । उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव कमल थापा र व्यवस्थापक पारस ओलीले गरेका थिए ।

तपाईको प्रतिक्रिया