कमरेड बेलामै पो सोच्ने हो की ?

अहिले यस्तो लाग्छ, के नेपालका कम्युनिष्टहरुले त्योबेला भनेका कुरा मान्छेलाई भावनात्मक रुपमा बहकाउन मात्र गरिएको नाटक मात्र थियो त ? त्योबेलाका कम्युनिष्टका अगुवाहरुको बोली र व्यवहार जनताकाअघि देखाउने झुठको कलाले परिपूर्ण गरिएको लिला मात्रै पो हो त ? कहिलेकाहिँ मनले भन्छ होइन, उनीहरुको बोलीमा उति धेरै देखावटी र बनावटी चतुरे कला छैन । लाग्छ उनीहरुको जीवनको त्याग पनि त छ, जसले जीवनको सम्पूर्ण समय देश र जनताका लागि नै लगाए फेरि मनले भन्छ के गरे त ? के गरे देशका लागि, के गरे जनताका लागि ?

हिजोदेखि आजसम्मको कम्युनिष्ट नेतृत्वको मार्ग चित्रलाई हेर्दा लाग्छ, गर्छु भनेर लागेका मान्छेहरु तर, गरे जनताका लागि भनेर राजनीति गरेका, त्यो पनि सर्वहाराको नाममा तर, जे गरे आफ्नै लागि, हिजोका संकल्प र अठोट पूरा गरे तर, आफू र आफ्नै अगुवा र पछुवाहरुका लागि मात्रै गरे, आजका दिनमा पनि जनतालाई उही सपनाको महल देखाईरहेका छन्, जो सधैं त्यहि सपनाको पर्खाइमा छन्, जो पूरा कसैले गर्दैनन् ।

गैर कम्युनिष्टहरुसँग मेरो यस लेखमा गुनासो पनि छैन । हुनत कम्युनिष्टका नाममा रहेका पार्टी र त्यसका नेताहरुसँग पनि गुनासो गर्नुको अर्थ छैन । किनपनि भने यो देशमा कम्युनिष्टका नाममा विद्रोह, संघर्ष र आन्दोलन भएभन्दा पनि निर्धा र निमुखाका नाममा उनीहरुमाथि घात गरिएका बेइमान नाटकको मञ्चन भएको रहेछभन्दा कसैले रिसाउनु र यो सत्यतालाई ढाक्न कसैले अर्को कपटले भरिएको तर्क पेश गर्न आवश्यक छैन । जो आज घामभन्दा पनि स्पष्ट देखिएको छ । व्यक्तिगत रुपमाभन्दा मलाई अलिकति आशा थियो, प्रचण्ड र नारायणकाजीबाट अर्थात् उनीहरुको कमाण्डमा एकपटक सरकार बन्न सक्यो भने जसका लागि भनेर यो देशमा विद्रोह, जनयुद्ध, आन्दोलन र संघर्ष भएको थियो, उनीहरुको जीवनमा एक प्रकारले देखिने गरी परिवर्तन आउँछ होला, तस्कर, माफिया, चाकडी, राजनीतिमा पसेको अपराधिकरणले जबरजस्त किनारा लाग्नु पर्छ र यी मान्छे मन र मस्तिष्कबाटै आन्दोलनमा होमिएका हुन् भन्ने । तर, यो पनि आफँैलाई नै अर्को ठूलो भ्रम भन्ने लाग्न थालेको छ ।

अहिले नेपालमा कम्युनिष्ट नाम गरेको सरकार विराजमान छ, अहिले पनि बेला–बेला जनता र देशका लागि केही गर्ने भनेको कम्युनिष्ट हो भन्ने सुनिन्छ, लाग्छ सरकारको काम हे¥यो भने आफ्नो भजन मण्डली बाहेकलाई यो सरकारको महसुस भएको शायदै सरकारकै पार्टीमा पनि होला की नहोला । दोबाटोमा सलाई र साबन राखेर गुजारा गर्ने दुखिया नेपालीले तैँ चुप मैँ चुपका तालमा कर तिर्नुपर्छ । तर, हेमानका महाजनहरुले अरबौँ तिर्न नर्पने सौभाग्य प्राप्त गर्दछ । तस्करी, माफियागिरि र छोटा डनहरुको जगजगी छ । फेरि देशमा सरकार कम्युनिष्टको छ ! लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट सरकारको महसुस केही थान मान्छेहरुलाई पक्कै छ । तर, आम नागरिकमा औडाह बाहेक केही छैन र बाहिर आए अनुसार करिब सात दर्जन जनप्रतिनिधि ज्यूहरु अहिले विभिन्न आरोपमा तानिएका छन् । कतिलाई सुनपानीले चोख्याउने खेलपनि सुरु भएको छ । कतिको कर्तुत आउन बाँकी होला, जो राजनीतिक दलले नै हिजो निर्वाचनमा योग्यको पदक र प्रमाणपत्र भिराएर पठाएका थिए । यसो भनिरहँदा मैले कम्युनिष्ट अर्थात् सम्माननीय खड्गप्रसाद ओली ज्यू नेतृत्वको सरकारको विरोध गरेको होइन । मेरो कम्युनिष्टहरुप्रतिको गलत बुझाईको उद्घाटन मात्र गर्न खोजेको हुँ । किनकी मलाई कम्युनिष्ट भनेको हेपिएका, पिल्सिएका, पछाडि पारिएका, भोका, घरबारविहीन, निर्धा मान्छेहरुको पक्षमा काम गर्ने मान्छे हुन् भन्ने भ्रम र भ्रान्ति थियो । मलाई कम्युनिष्ट पार्टी भनेको शोषित र पीडित जनताको मुक्तिका लागि लड्ने उनीहरुको पक्षमा काम गर्ने संगठन होला भन्ने लाटो बुझाई रहेको थियो । मलाई कम्युनिष्ट भनेका हेलाँहोचा परेका मान्छेका पक्षमा बोल्ने मान्छेहरुको समूह होला भन्ने मूर्ख बुझाई थियो । तर, आज बल्ल म त्यो भ्रमबाट मुक्त हुन पाएको सन्दर्भ मात्र मैले उल्लेख गरेको हुँ ।

सरकारमा रहेको नेकपाकै कुरा गर्ने हो भने त्यो एउटै पार्टीजस्तो देखिए पनि गुट र उपगुटमा रहेको कुरा कसैले भन्न पर्दैन । नेकपा भित्रैकै अधिकाँश नेता र कार्यकर्ता सरकारको काम कारवाहीबाट चित्त बुझाउने पक्षमा छैनन् । त्यही पार्टीभित्र एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने जुहारी पनि सुनिदैछ । स्पष्ट भन्न पर्दा दुईवटा फरक राजनीतिक सिद्धान्तबाट जोडिएको भनिएको नेकपामा अहिले पनि पूर्व एमाले र पूर्व माओवादी केन्द्रको धारनै देखिने गरी चलेको आभाष हुन्छ भने एमालेभित्र पनि खड्गप्रसाद ओलीको धारले एमालेका बाँकी गुटलाई ढिम्कन दिएको छैन । सरकार र नेकपाभित्रको अन्तर राजनीतिक चलायमानलाई मिहिन रुपमा हेर्ने हो भने सम्माननीय प्रधानमन्त्री ज्यूको समूहले नै अहिले पार्टी र सरकारमा आफ्नो दबदबा कायम गरेको छ ।

भलै यो सरकार बहुमतको छ, झण्डै दुईतिहाईको छ । यो सरकार कुनै अनौठो राजनीतिक खेल भएन भने पाँच वर्ष चल्छ । तर, इतिहासमा कसैले नस्वीकारे पनि कम्युनिष्टको बहुमतको सरकारका नामले दर्ज हुन्छ नै । तर, पहिलो वर्षलाई आधार वर्ष मानेको सरकारको आजसम्मको गतिविधिलाई नियाल्दा यसको भाका र पारा कम्युनिष्ट शैलीको मान्न सकिँदैन । हुनसक्छ सरकारमा रहेका मान्छे र यो पार्टीले भोलिका दिन कम्युनिष्टको परिभाषाको ब्याख्या फरक तरिका गर्न सक्लान् । तर, गीत गाउने चरीको चुच्चोबाट थाहा हुन्छ भने झँै पाँच वर्षको अवधिमा यसले के गर्ला र के नगर्ला भन्ने कुरा बिहानले दिन देखाउँछ भने झँै हेरिँदै छ । केही मान्छे बाहेक धेरै ठूलो जनताको तप्का सरकारको जनमुखी सपना र योजनाबाट आजित भएका छन् र भोलिका दिनमा यो सरकार कम्युनिष्टको सरकार भनेर लेखिएला । तर, आजको भारी बहुमतबाट अनुमोदित कम्युनिष्टलाई जनताले नाम नै सुन्न नसक्ने चिजको रुपमा लिए भने के गर्ने ? विगतका कठोर दिनमा जनताले कम्युनिष्टलाई दिएको भावनात्मक वर्गीय प्रेम र अनवरत्को साथ अनि समर्थन भोलि तिरस्कारको पात्र जस्तो बन्यो भने के होला ? राजनीतिमा सम्भावना नहुने भन्ने फेरि पनि होईन । कागजात र मौखिक भाषणका हिसाबले जनपक्षिय भन्नेहरुमा फेरि पनि कम्युनिष्ट हुँ भन्ने पार्टीहरुले नै गर्लान् नि त भन्ने आशा मारिहाल्नु पनि किन र ? तर, जबसम्म सरकारमा ती मान्छेहरु पुग्दैनन्, जसले भोक, प्यास, अन्याय अत्याचार, शोषण, उत्पीडन र बेघरबारको अवस्थालाई आफ्नो मनको ऐनामा हेर्न सक्दैनन्, तबसम्म बहुसंख्यक जनताको आशामा तुषारो र सपनामा सपना मात्रै रहन्छ । यो मेरो नितान्त व्यक्तिगत विचार नै हो भन्नुपर्छ, बहुमतको सरकारको नेतृत्व एकपटक प्रचण्ड र नारायणकाजीहरुले नै गर्नुपर्छ । अहिलेको सरकारको नेतृत्वको पूरै बेठीक भो भन्ने मेरो आशय होइन । तर, विकल्पमा प्रचण्डले नेतृत्व लिँदा केही राहत हुन्थ्यो की भन्ने मात्र हो । हुनत खड्गप्रसाद ओलीको नेतृत्व र प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा के त्यस्तो फरक पर्छ भन्ने तर्क पनि आउला । तर, पछिल्लोसमयमा प्रचण्डमा आएको परिवर्तनको प्रत्यक्ष अनुभूत नेपाली जनताले पाएको सन्दर्भमा प्रचण्डमा केही वर्गीय जिम्मेवारी बोध पो आएको हो की भनेर लख काट्न सकिन्छ । व्यक्तिगत रुपमा भन्ने हो भने प्रचण्डसँग मेरो कुनै सम्बन्ध र लेनादेना छैन । तर, आजको नेपालको समग्र राजनीतिक परिवेशलाई अरुको तुलनामा अघि बढाउने कला प्रचण्डसँग छ भन्न मलाई अप्ठ्यारो लाग्दैन । र, विदेशले देखेको नेपालको एउटा राजनीतिक नेतृत्व र व्यक्तित्व बोकेको नेता भनेको प्रचण्ड नै हुन् । अब प्रचण्ड विगतदेखि वर्तमानसम्मको आफ्नो राजनीतिक यात्रा र हिजोका दिनमा गरेको जनसंकल्पलाई सबैभन्दा अगाडि राखेका आत्मसमीक्षा गरेर अगाडि बढ्नै पर्छ ।

प्रचण्डका बारेमा आजसम्म पनि विभिन्न धारणा र मान्छेहरुका भनाई आउने क्रम जारी नै छ र, भोलिका दिनमा पनि आई नै रहन्छन् होला । तर, नेपालको युगान्तकारी राजनीतिको छलाङ्गमा प्रचण्ड मात्र त्यस्ता नेता हुन्, जसको कलापूर्ण राजनीतिक निरन्तरताको महत्व र भूमिकालाई कम आँक्न मिल्दैन । हिजो जस्तै लाग्छ गुलेली र ग्याटिसले जनयुद्ध हुँदैन भन्नेहरुलाई प्रचण्ड नेतृत्वले गतिलो जवाफ दिएर आज हामी नागरिकमा रुपान्तरण भएका हौँ । तर, यसको अर्थ यो होईन की प्रचण्ड सबै कुराले उत्तम हुन् भन्ने । समय र कालक्रममा उनले हिजो गरेका धेरै कबोल आज उ नै अध्यक्ष भएको पार्टी सरकारमा हँुदा पनि भएन र हामीले कम्युनिष्ट सरकारलाई कम्युनिष्ट भन्नेहरुको भन्नु परेको छ । तर, के यसको दोष एउटा प्रचण्डको मात्र होला र ? हुनत बग्ने खोलो नै सुसाउने गर्छ, पोखरी सुसाउँदैन । चर्चा त्यसको हुन्छ र आशा त्यसमाथि नै गरिन्छ, जसले केही गर्र्छ भन्ने लागेको हुन्छ । यसर्थ, अन्तिम परीक्षणका लागि भएपनि नेकपालाई साँच्चैको कम्युनिष्ट पार्टी बनाउन र सरकारलाई साँच्चैको कम्युनिष्टको बनाउन कमरेड प्रचण्ड अब तपार्इँ आफँै सक्रिय हुनैपर्छ । यदि हिजोको जनयुद्धको बलिदानलाई तपार्इँ आत्मादेखि नै सम्मान गर्नुहुन्छ र त्यो बलिदानको सपनालाई साकार पार्न तपार्इँ राजी हुनुहुन्छ भने । तपाईले नसक्ने भन्ने कुनै प्रश्न नै छैन । म यो लेख मार्फत् पनि आग्रह गर्छु, एकपटक तपाईँ कस्सिनु होस् त कसो हुँदैन !