आजको देवकोटा पार्कको कथा लामो छ

ठाकुरप्रसाद शिवाकोटी

तत्कालिन काँकरभिट्टा बसपार्क तथा सार्वजनिक स्थल बचाउ समितिको गठन गरेर यहाँका युवा र सचेत नागरिक समूह तातेका थिएनन् भने आज यहाँ धेरै सार्वजनिकस्थल रहन्थे कि रहन्न थे भन्न सकिँदैन । यो क्षेत्रको विकासको पूर्वाधारका हिसाबले मात्र होईन भविष्यमा हुनसक्ने प्राकृतिक विपत्तिको समयमा समेत यहाँ सार्वजनिकस्थलको अपरिहार्य आवश्यकता पर्छ भन्ने बुझेरै हामीले त्यो बेला यसको संरक्षण गर्नुपर्छ भनेर लागेका थियौँ । मानविय हिसाबले समेत हरेक ठाउँमा सार्वजनिकस्थलको आवश्यकता पर्छ अझ शहरीकरण भईरहेका क्षेत्रमा त यसको अपरिहार्यता नै हुन्छ । तर, मलाई त्योबेला अनौठो यसरी पनि लागेका थियो कि, समाजका अगुवा भन्नेहरुले नै सार्वजनिकस्थललाई निजी बनाउने खेलमा लागेको हेर्दा धेरै नमीठो लागेको थियो ।

म त भन्छु सार्वजनिकस्थल क्षेत्रमा कुनैपनि नाम र बहानामा व्यवसायीक प्रयोजन वा अरु कुनै प्रयोजनका नाममा भवन बनाउनु हँुदैन । सार्वजनिकस्थल नाम राखेर त्यहाँ निमार्ण गरियो भने त्यो कसरी सार्वजनिकस्थल हुन्छ ? सार्वजनिकस्थल खुल्ला हुनुपर्छ, त्यहाँ अत्यावश्यक वस्तुभन्दा अरु केही पनि निमार्ण गरिनुहुँदैन । आजको काँकरभिट्टा बसपार्क क्षेत्र, देवकोटा पार्क, बसपार्क अगाडिको वाटर फाउन्टेन र वीपी–पुष्पलाल वाटिका हेरेर आफँैलाई आनन्द लाग्छ, किनभने हिजोका दिनमा यहाँका सचेत समूहको एकताले नै यी सबैको बचाउ भएको छ । मलाई लाग्छ मेचीनगरपालिकाले पनि अब यस क्षेत्रमा रहेका सार्वजनिकस्थलको पहिचान गरी त्यसको उचित संरक्षणमा तदारुकता देखाउनुपर्छ ।

(कुराकानीमा आधारित)