गुरुङ भन्छन्– ‘व्यायामकै कारण फिटनेश छु’

मुक्ति पौडेल

झापा  / उनको जीउडाल हेरेर उमेर ठम्याउन मुस्किल पर्छ । उनी अर्थात् उमेरले तीन कोरीमा हिँड्दै गरेका गंगालाल गुरुङ ।
उनका योगेश्वर र आशिष गुरुङ गरी दुई छोरा र श्रीमती मेनुका मैनाली छन् । मैनाली नेपाल प्रहरीको सेवानिवृत्त प्रहरी नायव निरीक्षक हुन् । इलाममा जन्मिएका गंगालाल बुवा पदमलाल र आमा सुमित्रा गुरुङका ६ सन्तानमध्येका एक्ला छोरा हुन् । उनी राम्रो फुटबलर पनि हुन् । नियमित बिहान ४ बजेदेखि डेढ घण्टासम्म धार्मिक पूजापाठमा व्यस्त रहने उनी जीम तथा वर्क आउटका कारण स्वस्थ मात्रै छैनन् उनी यस विधाका प्रशिक्षक पनि हुन् । गुरुङ आफ्नो फिटनेश तालिकासँगै सन्तुलित र शाकाहारी खानपानमा अत्यन्त सजग छन् । शाकाहारी खानपानका कारण स्वस्थ र तन्दूरुस्त उनी फिटनेश बाहेक योगा समेत गर्छन् । प्रत्येक दिन योगा गर्ने उनी भन्छन्–‘योगाकै कारण मेरो जीवनमा परिवर्तन आएको छ, यसमा म खुशी छु ।’
नियमित व्यायामले आफू स्वस्थ मात्र नभई दैनिक कार्य सम्पादन समेत सहज बनेको अनुभव सुनाउँछन् उनी । उनले भने–‘ अब मानिसले स्वस्थ जीवन ज्यूनका लागि व्यायाम अनिवार्य छ, पहिले वातावरण राम्रो थियो, तर, अहिलेको वातावरण प्रदूषित बन्दै गएको छ, स्वस्थकर खानपानमा ध्यान दिनैपर्छ, अब प्रत्येक नागरिकले आफ्नो दैनिकीलाई चुस्तदूरुस्त र क्रियाशिल रहन खानपान, उठाई, बसाई, हिँडाईलगायतमा सजग रहनुपर्छ ।’
उनका फिटनेश भिडियो र वर्कआउटका तस्वीरहरु सार्वजनिक भएका छैनन् । अनावश्यक चर्चा र प्रचार नरुचाउने गुरुङ फिटनेशको चर्चामा भने अग्रपंक्तिमा छन् । गुरुङको चुस्तदुरुस्त र फूर्तिलो व्यायामसँगै फुटबलमा समेत स्ट्राइकरको अग्रपंक्तिमा देख्दा धेरैका लागि उनी थप प्रेरणाको स्रोत बनेका छन् । उमेरले ६० को छेउछाउका गुरुङ कसरी फिट ? धेरैले प्रश्न गर्ने गर्छन् ।
पछिल्लो समय काँकरभिट्टालाई कर्मथलो बनाएर सामाजिक कार्यमा सक्रिय गुरुङ स्वस्थ जीवन र क्रियाशिल दैनिकीका लागि व्यायाम भन्ने मुख्य उद्देश्यका साथ उनले अत्याधुनिक प्रविधियुक्त करिब १ करोड रुपैयाँको लगानीमा काँकरभिट्टामा क्लासिक फिटनेश पार्क सञ्चालनमा ल्याएका छन् । युवा र ज्येष्ठ सदस्यलाई समेत शारीरिक रुपमा तन्दूरुस्त रहनका लागि अनिवार्य व्यायाम गर्न प्रोत्साहित गर्ने उद्देश्यले गुरुङले काँकरभिट्टा भेट्रान फुटबल क्लवको नेतृत्व तीन वर्षयता सम्हाल्दै आएका छन् । उनले नेतृत्व गरेको क्लव झापा र अन्य जिल्लासँगै भारतमा भएका विभिन्न फुटबल प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि हात पार्दै आएको छ ।

तपाईको प्रतिक्रिया