पुरस्कार वितरण तथा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

 

काँकरभिट्टा /  काँकरभिट्टा माध्यमिक विद्यालयले बिहीबार सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण सम्पन्न गरेको छ ।

मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीको प्रमुख आतिथ्य एवँ विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा गत आ.व. २०७५ ÷०७६ को सामाजिक परीक्षण प्रतिवेदन शिक्षक चन्द्र बरालले प्रस्तुत गरे भने विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौलाले विद्यालयको समग्र प्रगति विवरण प्रस्तुत गरे । कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न विधाका पुरस्कार राशीबाट पुरस्कृत गरियो । कार्यक्रममा समाजसेवी रोशन अग्रवालले दिवंगत बुवा र आमाको स्मृतिमा स्थापित ख्यालीराम–पार्वतादेवी अग्रवाल स्मृति पुरकारबाट २०७५ सालको एसइई परीक्षामा प्रथम भएका सौजन अधिकारीलाई १० हजार ५ सय तथा द्धितीय हुने सचिन तिम्सिना, सागर मोते, कुशल राजवंशीलाई जनही १५ सय रुपैयाँका दरले नगदसहित सम्मान पत्र प्रदान गरियो । अग्रवालले १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । समाजसेवी हरि ओलीद्धारा स्थापित स्वर्गीय भगमाया ओली स्मृति अक्षयकोष पुरस्कारबाट कक्षा ९ की छात्रा एस्तर लिम्बू र कक्षा ६ का छात्र पंकज पौडेललाई जनही ५ हजार र सम्मानपत्रसहित सम्मान गरियो । १ लाख रुपैयाँ राशीको उक्त अक्षयकोषबाट प्रत्येक वर्ष कक्षा ६ देखि ९ सम्मका उत्कृष्ट १ छात्र र १ छात्रालाई सम्मान गरिँदै आइएको छ ।

त्यसैगरी, विजय डालमियाद्धारा स्थापित हरपतलाल–गीतादेवी डालमिया स्मृति पुरस्कारबाट ओमप्रकाश भगतलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र र कक्षा ९की युनिशा श्रेष्ठ र कक्षा १० की सुनिता श्रेष्ठलाई जनही २५ सय रुपैयाँका दरले नगदसहित सम्मान पत्रद्धारा सम्मान गरिएयो । उक्त पुरस्कार राशीबाट विद्यालयले कक्षा ११मा भर्ना भएका विद्यार्थीमध्ये १ जना उत्कृष्ट विद्यार्थीलाई ५ हजार र कक्षा ९ र १० का २ जना विद्यार्थीलाई २५ सय रुपैयाँसहित पुरस्कृत गर्दे आएको छ । विद्यालयले धनप्रसाद गुरुङ पुरस्कारबाट २०७५ को कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याएका छात्र अजय निरौलालाई नगद ५ हजार रुपैयाँसहित सम्मान पत्रद्धारा सम्मान गरेको थियो भने कक्षा ११ की एलिसा श्रेष्ठ र दिपीका श्रेष्ठलाई जनही २५ सय रुपैयाँसहित सम्मान गरियो । त्यसैगरी, ऋषि–रोहिणी काफ्ले पुरस्कारबाट कक्षा ८ का छात्र सचिन राउत र छात्रा कृतिका राजवंशीलाई जनही ११ हजार रुपैयाँ नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको छ । उक्त राशीको पुरस्कारबाट विद्यालयले प्रत्येक वर्ष कक्षा ८ मा उत्कृष्ट हुने १ छात्र र १ छात्रालाई जनही ११ हजार राशी पुरस्कारबाट सम्मान गर्दे आएको छ । सोही अवसरमा विद्यालयले अनुशासन र नेतृत्व कौशल पुरस्कार १० जना उत्कृष्ट छात्र र छात्राहरुलाई प्रदान गरेको छ । त्यसैगरी, समाजसेवी हरि ओलीले स्थापना गरेको उत्कृष्ट कविता पुरस्कार कक्षा ९की छात्रा धनमाया लामाले प्राप्त गरिन् । उनलाई नगद ५ सय रुपैयाँसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

सविता ढुंगेल र विनिता दनुवारले स्वागत नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले गरेका थिए ।